काभ्रेपलाञ्चोक । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन आउन आठ दिन बाँकी छ । चुनाव नकिजिँदै गर्दा काभ्रेपलाञ्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा चुनावी प्रचारप्रसार बढ्दै गएको छ ।
यस निर्वाचन क्षेत्रमा ५ जना स्वतन्त्रसहित १६ जना प्रतिस्पर्धामा रहे पनि मुख्य प्रतिस्पर्धा भने सत्तारुढ गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईँ र नेकपा (एमाले) का गोकुलप्रसाद बास्कोटाबीच हुने अनुमान गरिएको छ ।
दुवै प्रतिस्पर्धी आ–आफ्नै शैलीमा प्रचारप्रसारमा होमिएका छन् । दुवै पक्षले मतदाता आकर्षित गर्नको लागि मतदाताका घरदैलोमै पुगेर भेटघाट गर्न थालेका छन् ।
बास्कोटा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निकट मानिन्छन् । केपी शर्मा ओली नेतृत्वको सरकारमा सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेका बास्कोटाको उम्मेदवारीले चुनावी माहोल रोचक बनेको छ ।
उनका प्रतिस्पर्धी कांग्रेसका शिवप्रसाद हुमागाँई २०५६ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए भने संविधानसभा निर्वाचन २०६४ र २०७० मा पराजित भएका थिए । साथै, अघिल्लो निर्वाचनमा विश्राम उनले लिएका थिए ।
हुमागाईँ र बास्कोटा दुवैलाई जिल्लामा ‘हेभिवेट’ उम्मेदवारका रूपमा लिइएको छ । हुमागाईँ र बास्कोटाले जिल्लामा पार्टीको नेतृत्व गरेको र केन्द्र र जिल्लामा राम्रो जनसम्पर्क रहेकाले यस क्षेत्रमा कडा प्रतिस्पर्धा हुने अनुमान मतदाताबीच छ ।
२०३६ मा भएको विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेका गठबन्धनका उम्मेदवार हुमागाईँ पार्टीका विभिन्न भातृ सङ्गठन हुँदै चार पटक पार्टीको जिल्ला नेतृत्व एवं एक पटक केन्द्रीय सदस्यको नेतृत्व गरेका थिए ।
विसं २०३८ मा विद्यार्थी अवस्थादेखि नै राजनीतिमा यात्रारम्भ गरेका बास्कोटा पार्टीका विभिन्न भातृ सङ्गठन तथा पार्टीको विभिन्न तह हुँदै पार्टीको जिल्ला नेतृत्व गर्दै हाल पार्टीको पोलिटब्यूरो सदस्य छन् ।
२०७० को संविधानसभा सदस्यमा कांग्रेसका उम्मेदवार कञ्चनचन्द्र बादे श्रेष्ठसँग पराजित बास्कोटा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४ मा कांग्रेसका मधुप्रसाद आचार्यलाई पराजित गरी मन्त्रीसमेत भएका थिए ।
अघिल्लो निर्वाचनमा २२ हजार मतान्तरले विजयी भएका बास्कोटाको बिरासत तोड्न गठबन्धन दल चुनावी रणनीति बनाएर अघि बढेको छ । हुमागाँईलाई बास्कोटाकै गृहनगर मण्डनदेउपरका गठबन्धन दलअन्तर्गत नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य कृष्णप्रसाद सापकोटा, पूर्वसांसद विदुरप्रसाद सापकोटा समेतको साथ छ ।
प्रतिनिधिसभाका लागि क्षेत्र नम्बर १ मा नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य तथा पूर्वराज्यमन्त्री सूर्यमान दोङ र एमाले पोलिटब्यूरो सदस्य तथा पूर्वराज्यमन्त्री रेशम लामाबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान मतदाताबीच छ ।
२०४४ मा नेकपा (मसाल) बाट राजनीतिक यात्रा सुरु गरेका दोङ तत्कालीन नेकपा माओवादीको दशवर्षे सशस्त्र युद्धमा सहभागी हुँदै पार्टीका विभिन्न तहको नेतृत्व गरेका थिए ।
यस्तै विसं २०६४ को संविधानसभा सदस्य निर्वाचनमा दोङले कांग्रेसका मधुप्रसाद आचार्य र एमालेका सङ्ग्रामजीत लामालाई पराजित गर्दै निर्वाचित भएका थिए । दोङ २०७० को संविधानसभा सदस्य निर्वाचनमा भने नेपाली कांग्रेसका तीर्थ लामासँग पराजित हुनुपर्यो ।
यसैगरी विसं २०४७ देखि विद्यार्थी सङ्गठनबाट राजनीति प्रारम्भ गरेका लामालाई एमालेले गठबन्धनका उम्मेदवार दोङसँग प्रतिस्पर्धामा उतारेको हो ।
राप्रपा, राप्रपा नेपालको विभिन्न तहको नेतृत्व गर्दै २०७० को संविधानसभा सदस्य निर्वाचनमा राप्रपा नेपालबाट समानुपातिक सांसद बनेका लामा केही वर्षअघि मात्रै एमालेमा प्रवेश गरेका हुन् । उक्त प्रतिनिधिसभा क्षेत्रमा पाँच स्वतन्त्रसहित १७ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
जिल्लामा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र छ । प्रतिनिधिसभा क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा क्षेत्र (१) र (२) मा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका रत्न ढकाल र कांग्रेसका तीर्थ लामा छन् । उनीहरूसँग मुख्य प्रतिस्पर्धी एमालेका दिलीप लामा र चन्द्र लामा छन् ।
यसैगरी प्रतिनिधिसभा क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा क्षेत्र (१) र (२) मा गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का लक्ष्मण लम्साल र कांग्रेसका कञ्चनचन्द्र बादे श्रेष्ठ छन् । उनीहरूसँग मुख्य प्रतिस्पर्धी एमालेका कुमार खकुरेल र कुमार थापा रहेका छन् ।
काभ्रेपलाञ्चोकमा ६ पदको लागि ६४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यसमध्ये दुई महिला र एक दलित उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार हाल काभ्रेपलाञ्चोकमा ३१ दल क्रियाशील छन् ।
जिल्लाका एक लाख ५७ हजार ९ सय ४७ पुरुष, एक लाख ५२ हजार एक सय १४ महिला र अन्य दुई मतदाता गरी कुल तीन लाख १० हजार ६३ मतदाताले मतदान गर्ने छन् । एक सय ९० वटा मतदानस्थलका तीन सय ८९ मतदान केन्द्र तोकिएको छ ।– रासस
प्रतिक्रिया