गठबन्धनको बलमा चुनाव जित्ने दाउमा आले

धनगढी । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको यतिखेर माहोल तातिदै गइरहेको छ । खासगरी प्रमुख राजनीतिक दलहरुले मतदातासँगको भेटघाट, चुनावी सभालाई तिब्रता दिएका छन् । आफ्ना चुनावी एजेण्डासहित मतदातालाई रिझाउनका लागि उम्मेदवारहरु ब्यस्त देखिन्छन् । एकमात्र प्रतिनिधि सभाको निर्वाचन क्षेत्र रहेको डोटीमा पनि उम्मेदवारहरुले मतदातासँगको भेटघाटलाई तीब्र बनाएका छन् ।

डोटीमा प्रतिनिधिसभा सदस्यका लागि दुई पूर्वसहकर्मी प्रतिष्पर्धामा उत्रिएका छन् । सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का नेता पूर्वमन्त्री प्रेमबहादुर आले चुनावी मैदानमा छन् । उनका प्रमुख प्रतिष्पर्धी नेकपा एमालेकी नेतृ गौरी ओली रहेकी छिन् । आलेले एमाले विभाजनपछि एकीकृत समाजवादी रोजेका थिए । यी दुबै उम्मेदवारका बीच तिब्र प्रतिष्पर्धा हुने अनुमान गर्न थालिएको छ । आलेलाई सत्ता गठबन्धनको साथ रहेको छ भने ओली एकल प्रतिष्पर्धामा छिन् ।

यसअघि डोटीबाट ३ वटा निर्वाचन लडेका आले २०६४ को संविधानसभा निर्वाचनमा पराजित भएका थिए भने दुई पटक लगातार निर्वाचन जितिसकेका छन् । तत्कालिन डोटी क्षेत्र नं. २ बाट आलेले २०७० को संविधान सभा निर्वाचन जितेका थिए । भने २०७४ को प्रतिनिधि सभाको निर्वाचनमा आलेले बाम गठबन्धनका साझा उम्मेदवार बनेर चुनाव जितेका थिए । २०७४ को निर्वाचनमा उनले ३२ हजार ५१० मत ल्याउँदा उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका बीरबहादुर बलायरले ३० हजार ८७८ मत पाएका थिए ।

सत्तारुढ गठबन्धनको भागबण्डामा डोटी एकीकृत समाजवादीको भाग परेपछि नेपाली कांग्रेसका बलायर यसपटक कैलाली ४ बाट निर्वाचन लड्दै छन् । अघिल्लो निर्वाचनमा बलायर र आले प्रमुख प्रतिष्पर्धी रहेका थिए । गत निर्वाचनमा बाम गठबन्धनका उम्मेदवार बनेर जितेका आले यसपटकको निर्वाचनमा बामलोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बनेर जित्ने दाउमा छन् । २०७९ को स्थानीय तहको निर्वाचनमा पार्टीहरुले पाएको मतलाई हेर्ने हो भने सत्तारुढ गठबन्धन एमालेभन्दा निकै अगाडि देखिन्छ ।

स्थानीय तहको निर्वाचनमा वडाअध्यक्षका उम्मेदवारहरुले प्राप्त गरेको मत अनुसार नेपाली कांग्रेसले ३३ हजार ९४४, एमालेले २५ हजार ३६, माओवादी केन्द्रले ७ हजार ६१२ र एकीकृत समाजवादीले ३ हजार २०५ मत प्राप्त गरेको छ । आलेलाई जित निकाल्न गठबन्धन दलले प्राप्त गरेको मत सुरक्षित गर्ने चुनौति छ ।

नेकपा एकीकृत समाजवादीका डोटी जिल्ला अध्यक्ष दीर्घराज बोगटीले आलेले २ वटा निर्वाचन जितिसकेको र राष्ट्रिय स्तरमा धेरै काम गरिसकेकाले निर्वाचन जित्ने दावी गरे । उनले भने उहाँ (आले) मन्त्री भएकै समयमा सटल बस सेवा सञ्चालनमा ल्याउने काम भयो, बतास समूहले हडपेको जमीन,धर्मशाला फिर्ता गर्नु भयो,क्यासिनोलाई कारबाही गर्ने देखि लिएर थुपै जनमुखि काम गर्नु भएको छ, त्यसैले जनताले उहाँलाई नै जिताउनु हुन्छ ।
आले दिन दुःखि जनताको सेवा गर्ने नेता भएको बताउँदै उनले भने उहाँले भ्रष्टाचार गर्नु भएको छैन्,सुशासन कायम गर्ने कुरामा प्रतिबद्ध भएर लाग्नु भएको छ, जनता, लोकतन्त्र, प्रजातन्त्र प्रति इमान्दार बफादार पनि हुनुहून्छ त्यसकारण जनताले आलेलाई रुचाउछन् ।

बोगटीले थपे उहाँ (आले)का सवैकाम जनपक्षिय,जनमुखी र सर्वपक्षीय छन्,सबैलाई मिलाएर लैजान सक्ने ,समन्वय गर्नसक्ने क्षमता छ,जनतामा स्थापित नेता हुनुहुन्छ । यो सँगै आलेले डोटीमा थुपै विकासका काम गरेको बोगटीले बताए । उनले भने डोटी थुपै सडकमा अरबौँ बजेट हाल्ने देखि लिएर धेरै काम गर्नु भएको छ,उहाँ (आले)ले गरेको कामको आधारमा जनताले निर्वाचित गरानुहुन्छ । गठबन्धन दलबाट पनि सहयोग पाउनेमा बोगटी विश्वस्त छन् ।

सो क्षेत्रमा नेपाली कांग्रेसका सकृय सदस्य नरेन्द्र खड्काले स्वतन्त्र उम्मेदवारी दिएका छन् । खड्काको उम्मेदवारीले आलेलाई केही चुनौति थपिए पनि प्रमुख प्रतिष्पर्धी भने एमालेकी ओली नै हुने आँकलन गरिएको छ । खड्काको उम्मेदवारीले असर नपर्ने बोगटीको भनाई छ । तर कसले मतदाताको मन जित्न सक्छन र चुनाव जित्न सक्छन् त्यो भने निर्वाचनपछिको नतिजाले बताउँला ।

प्रतिक्रिया