डेंगु संक्रमणबाट लमजुङकी पत्रकार चाँदनी अधिकारीको निधन

लमजुङ । लमजुङमा डेंगु संक्रमणबाट एक पत्रकारको निधन भएको छ । लमजुङको रेडियो भोटेओडारमा कार्यरत पत्रकार चाँदनी अधिकारको निधन भएको हो ।

समाचार शाखामा कार्यरत अधिकारीको २३ वर्षको उमेरमा बुधबार बिहान साढे ६ बजे निधन भएको हो । सामान्य ज्वरो र बान्ताको समस्या देखिएपछि मंगलबार लमजुङको सदरमुकाम बेसीसहरस्थित मोडल हस्पिटलमा भर्ना गरिएको थियो ।

समस्या बढ्दै गएपछि मंगलबार राति उपचारको लागि नयाँ चितवन मेडिकल कलेज भरतपुर रिफर गरिएको थियो । मेडिकल कलेजमा बिहानपख पुगेर भर्ना गराई उपचार थालिएको र उपचारको क्रममा बुधबार बिहान साढे ६ बजे डाक्टरहरुले निधन भएको घोषणा गरेका थिए ।

उनको डेंगु संक्रमण रहेको र निरन्तर बान्ताका कारण निधन भएको उपचारमा संलग्न चिकित्सकले बताएको पारिवारिक स्रोतले जनाएको छ ।

बिगत डेढ वर्षदेखि रेडियो भोटेओडारमा कार्यरत अधिकारी प्रेस सेन्टर नेपाल लमजुङको सचिव, सञ्चारिका समूह लमजुङको सहसचिव थिइन् ।यस दुःखद घडीमा नेपाल पत्रकार महासंघ लमजुङ शाखाले एक शोक विज्ञप्ति जारी गरी दुःख व्यक्त गरेको छ ।

प्रतिक्रिया