कैलाली–४ प्रदेशसभा (क) मा देउवा र सोडारीबीच कसले मार्ला बाजी ?

धनगढी । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सरगर्मी बढ्न थालेको छ । कैलालीमा पनि विशेष गरी प्रमुख राजनीतिक दलका उम्मेदवारहरुले आफ्ना चुनावी गतिविधिहरुलाई तीब्रताका साथ अगाडि बढाइरहेका छन् ।

कैलालीको क्षेत्र नं. ४ (क) मा पनि यतिखेर चुनावी माहोल तातिदै गइरहेको छ । कैलाली ४ (क) मा प्रदेशसभा सदस्यका लागि दुई पूर्व सहकर्मी आमनेसमाने भएका छन् । सो क्षेत्रबाट प्रदेशसभा सदस्यका लागि सत्तारुढ गठबन्धनका साझा उम्मेदवारको रुपमा नेकपा (एकीकृत समाजवादी) का नेता दीर्घबहादुर सोडारी चुनावी मैदानमा छन् ।

उनका प्रमुख प्रतिस्पर्धी नेकपा एमालेका नेता भीमबहादुर देउवा रहेका छन् । सोडारी सुदूरपश्चिम प्रदेशका हालका भौतिक पूर्वाधार विकास मन्त्री हुन् भने देउवा गौरीगंगा नगरपालिकाका निवर्तमान नगरप्रमुख हुन् । सोडारीले एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादी रोजेका थिए ।

२०७४ निर्वाचनमा सो क्षेत्रबाट वाम गठबन्धनबाट सोडारी प्रदेशसभा सदस्यमा विजयी भएका थिए । यी दुवै प्रतिस्पर्धीबीच प्रतिष्पर्धा हुने अनुमान गरिएको छ । सोडारीलाई सत्ता गठबन्धनको साथ रहेको छ । २०७९ को स्थानीय तहको निर्वाचनमा यस क्षेत्रमा पर्ने अधिकांश वडाहरु सत्ता गठबन्धनले जितेको छ ।

गौरीगंगा नगरपालिकाका ११, गोदावरी नगरपालिकाका २, चुरे गाउँपालिकाका २ र माहोन्याल गाउँपालिकाको १ वडा गरी १६ वडा रहेको सो क्षेत्रमा नेपाली कांग्रेसले ७, माओवादी केन्द्रले ४, एमालेले ४ र १ वडा समाजवादीले जितेको छ ।

स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरुले पाएको मतलाई हेर्ने हो भने सत्ता गठबन्धन निकै अगाडि छ । सत्ता गठबन्धन दलहरु नेपाली कांग्रेसले ११ हजार २६०, माओवादी केन्द्रले ७ हजार १३१ र एकीकृत समाजवादीले २ हजार ५९७ मत प्राप्त गरेको छ भने एमालले ८ हजार ५२२ मत प्राप्त गरेको छ ।

यो आँकडालाई हेर्ने हो भने सत्तारुढ गठबन्धन एमालेभन्दा दोब्बर बढी मतले अगाडि देखिन्छ । स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनलाई प्राप्त मतलाई सुरक्षित गर्ने चुनौती सोडारीलाई छ भने एमालेका उम्मेदवार देउवालाई त्यो मतान्तर घटाउने चुनौती छ ।

सत्ता गठबन्धनका उम्मेदवार सोडारीको भने स्थानीय तहको मत सुरक्षित गरेर जित्ने दाबी छ । सोडारीले भने, ‘सबै गठबन्धन दलका नेताहरु सँगसँगै चुनावी मोर्चामा हिँडिरहेका छौँ, गठबन्धनको सम्बन्ध सुदृढ हुँदै गएको छ, कुनै समस्या होला जस्तो लाग्दैन ।’

उनले थपे, ‘हामीले यहाँ धेरै विकासका योजना पनि सुरु गरेका छौँ, सडक, शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पर्यटनलगायतका कुराहरुलाई प्राथमिकता दिएर काम गरिरहेको भएर पनि हामीलाई जनताले मत दिन्छन् ।’ संविधानलाई लत्याउने, संविधान मिच्ने शक्तिका विरुद्ध जनता भएको बताउँदै सोडारीले संविधान, लोकतन्त्र, गणतन्त्रको रक्षा तथा विकास र समृद्धिका लागि गठबन्धन भएकाले जनताले गठबन्धनको पक्षमा मतदान गर्ने बताए ।
एमालेका उम्मेदवार देउवाले एमाले पार्टीको नीति, सिद्धान्त राम्रो भएको तथा संगठन बलियो भएकाले आफ्नो जित हुने दाबी गरे । एमालेले नेपाल र नेपाली जनताको पक्षमा जनपक्षीय काम गर्दै आएकोले जनताले एमालेलाई मत दिने उनले जिकिर गरे ।

उनले भने, ‘देशको राष्ट्रियतादेखि लिएर समग्र देशको विकासमा एमाले पार्टीले खेल्दै आएका भूमिका हामीले जनतालाई जानकारी गराउँदै आएका छौँ, जनता एमालेको पक्षमा छन् ।’ ‘जनताले गठबन्धन केका लागि र किन भन्ने सबै कुरा बुझिसकेका छन्,’ देउवाले भने, ‘जनता गठबन्धनको पक्षमा छैनन्, हामीलाई नै मत दिन्छन् ।’

जित्नेमा उम्मेदवारहरुका आ–आफ्नै दाबी रहेपनि कसले जनताको मन जित्न सक्छन् र चुनाव जित्न सक्छन् त्यो भने चुनावपछिको नतिजाले देखाउला ।

प्रतिक्रिया