एकमात्रै दलित उम्मेदवार विक बन्न सकेनन् गठबन्धनका साझा

धनगढी । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सुदूरपश्चिम प्रमुख राजनीतिक दलहरुले प्रत्यक्षतर्फ दलित समुदायका उम्मेदवार बनाउन निकै कन्जुस्याइ गरे । प्रतिनिधिसभा सदस्यका लागि प्रमुख राजनीतिक दलहरुले सुदूरपश्चिम प्रदेशबाट प्रत्यक्षतर्फ दलित समुदायका उम्मेदवार बनाउन सकेनन् ।

प्रदेश सभा सदस्य तर्फ भने माओवादी केन्द्र र एमालेले प्रत्यक्षतर्फ १÷१ जना दलित समुदायका उम्मेदवार बनाएको छ । सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द)ले प्रत्यक्ष तर्फ दलित समुदायबाट जेनतेन एक जना प्रदेश सभा सदस्यका उम्मेदवार बनाएको छ । सत्ता गठबन्धनको भागबण्डामा बाजुरा जिल्लाको प्रदेश सभा (क) माओवादी केन्द्रको भाग परेसँगै माओवादी केन्द्रले पार्टीका केन्दीय सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज कर्णबहादुर विक (केशव)लाई उम्मेदवार बनाएको छ ।

अधिकांश निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेर चुनावी प्रतिष्पर्धामा छ गठबन्धन । तर, सत्ता गठबन्धन दलहरुबाट एकमात्रै दलित समुदायका उम्मेदवार रहेका विक भने गठबन्धनको साझा उम्मेदवार बन्न सकेका छैनन् । सोही निर्वाचन क्षेत्रबाट सत्ता गठबन्धन दलबाटै नेकपा (एकीकृत समाजवादी)बाट नरेश शाहीले उम्मेदवारी दिएका छन् । गठबन्धनको केन्द्रले भने अझै न त कसैलाई आधिकारिक उम्मेदवार भनेर भनेको छ न त मित्रवत प्रतिष्पर्धा ।

विकको साझा उम्मेदवार बनेर चुनावी मैदानमा जाने झिनो आशा भने अझै बाँकी नै छ । विकले भने अझै गठबन्धनको साझा उम्मेदवार बन्नेमा म विश्वस्त छु । पहिलो कुरा त यो क्षेत्र हाम्रै भागमा परेको हो उनले भने मैले साझा उम्मेदवारकै रुपमा उम्मेदवारी दिएको हो,त्यसकारण गठबन्धनको साझा उम्मेदवार बन्नेमा म ढुक्क छु । यदी त्यसो नभएको खण्डमा मित्रवत प्रतिष्पर्धामा जाने उनले बताए । त्रिपक्षीय प्रतिष्पर्धामा गएपनि आफ्नो जित हुने उनले दावी गरे ।

विक २०७० को संविधान सभा सदस्यमा समानुपातिक संसद भइ उद्योग,वाणिज्य तथा आपुर्ति राज्यमन्त्रीसमेत भइसकेका व्यक्ति हुन । सो क्षेत्रमा नेकपा (एमाले)बाट बलदेव रेग्मी चुनावी मैदानमा छन् । रेग्मी पूर्व प्रदेशसभा सदस्य हुन् । उता सत्ता गठबन्धनबाटै एकीकृत समाजवादीबाट उम्मेदवारी दिएका शाहीले भने प्रतिष्पर्धामै जाने बताए । उनले भने, ‘उम्मेदवारी फिर्ताको समयमा उम्मेदवारी फिर्ता नलिनु भनेको चुनावी प्रतिष्पर्धामा जानु नै हो त्यसैले म प्रतिष्पर्धामा जान्छु ।’

कसलाई सत्ता गठबन्धनको आधिकारिक उम्मेदवार मान्ने भन्ने बिषयमा अझैँ टुंगो लागेको छैन् । समावेशी,समानुपातिकका चर्का भाषण गर्ने देशका प्रमुख राजनीतिक दलहरुले सत्ता गठबन्धनबाट प्रदेशभरीमा एकमात्रै उम्मेदवार रहेका विक साझा उम्मेदवारको रुपमा चुनावी प्रतिष्पर्धामा जान नपाउनु दुःखद भएको नेकपा(माओवादी केन्द्र)को भातृ संगठन नेपाल दलित मुक्ति मोर्चाका सुदूरपश्चिम सह–संयोजक ईश्वर सुनारको भनाइ छ ।

उनले भने, ‘पार्टीका नेताहरुले दलित समुदायका नेताहरुलाई कसरी हेर्छन भन्ने कुरापनि हो । प्रतिष्पर्धा त अन्य दलका उम्मेदवारसँग पनि हुने नै थियो सुनारले थपे तर गठबन्धन दलबाटै नहुनु पर्ने थियो उहाँ (विक)लाई साझा उम्मेदवार बनाउन सक्नुपथ्र्यो त्यो हुन सकिरहेको छैन् ।’ सुनारले भने, ‘यसमा केन्द,प्रदेश पार्टीले पहलकदमी लिनुपथ्र्यो गठबन्धन दलबाटै उम्मेदवारी दिएका एकीकृत समाजवादीका उम्मेदवारको उम्मेदवारी फिर्ता गर्न लगाउनु पर्ने थियो त्यो पहल भएको देखिएन ।’

सत्ता गठबन्धनबाटै दुईजनाको उम्मेदवारी परेपछि कसलाई सघाउने भन्नेमा कांग्रेस जिल्ला पार्टीले भने निर्णय लिएको छैन । नेपाली कांग्रेसका बाजुरा जिल्ला सभापति रामसिंह रावलले उम्मेदवाको विवाद टुंग्याउन केन्द्रमा अनुरोध गरेको र केन्द्रले अहिलसम्म नटुंग्याएको बताए । उनले भने, ‘केन्द्रले आधिकारिक उम्मेदवार भनेर टुंग्यायो भने कांग्रेसले यसमा निर्णय गरिरहनु परेन, मित्रवत प्रतिष्पर्धा गर भन्यो भने कसलाई समर्थन गर्ने भन्नेमा कांग्रेसले बाजुराको विशिष्ट ढंगले बैठक बसेर उचित निर्णय गर्छ । अहिले यो या त्यो भन्ने कुरा छैन् ।’

तर कांग्रेसले आफ्नो पार्टीका उम्मेदवार (विक)लाई सहयोग गर्नेमा सुनार विश्वस्त छन् । सुनारले भने संघमा कांग्रेसको उम्मेदवार छन् कांग्रेसले प्रदेशमा साथ नदिए माओवादीले संघमा साथ दिने कि नदिने भन्ने प्रश्न उठ्छ । त्यसकारण कांग्रेसले साथ दिन्छ उनले भने ।

प्रतिक्रिया