धनगढी । आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा सत्तारुढ गठबन्धनका साझा उम्मेदवारहरुले सँयुक्त प्रतिवद्धता–पत्र सार्वजनिक गरेका छन् ।
सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेसका डिल्लीराज पन्त, प्रदेश सभा (क) का उम्मेदवार नेकपा (माओवादी केन्द्र)का रमेशसिंह धामी र प्रदेशसभा (ख) का उम्मेदवार नेपाली कांग्रेसका प्रकाशबहादुर देउवाले सँयुक्त रुपमा प्रतिवद्धता–पत्र सार्वजनिक गरेका हुन् ।
शुक्रवार सार्वजनिक गरिएको सँयुक्त प्रतिवद्धता–पत्रमा प्रतिनिधि र प्रदेशसभाबाट आम जनताको जीविका तथा समृद्धिको अधिकारसँग जोडिएका नीति,ऐन कानुन निर्माण जोड दिइने उल्लेख गरिएको छ । तीनै जना उम्मेदवारहरुले कैलाली क्षेत्र नम्बर ५ लाई आर्थिक, शैक्षिक, स्वास्थ्य, पर्यटन र खेलकुदको केन्द्रको रुपमा विकास गर्ने प्रतिवद्धता गरेका छन् । यस निर्वाचन क्षेत्रको प्रमुख समस्याका रुपमा रहेको अव्यवस्थित सहरीकरण, डुवान,अतिक्रमण र नदी कटानको समस्या समाधान गर्नुका साथै दीर्घकालीन योजनामार्फत् विकासलाई अगाडि बढाउने प्रतिवद्धता–पत्रमा उल्लेख गरिएको छ ।
कैलाली ५ मा जग्गाबिहीन दलित,सुकुम्वासी,मुक्त कमैया तथा अव्यवस्थित बसोबासीलाई एक वर्ष भित्र जग्गा धनी पूर्जा उपलब्ध गराउने प्रतिबद्धता पत्रमा भनिएको छ । यस क्षेत्रलाई हरित सहरको रुपमा विकास गर्ने प्रतिवद्धता पनि उम्मेदवारहरुले गरेका छन् । यहाँ रहेको वनजंगलको दीर्घकालिन व्यवस्थापन गर्दै वनलाई यस क्षेत्रका जनताको आर्थिक समृद्धिको आधार बनाउने गरी नीति र कार्यक्रम लागु गरिने जनाइएको छ ।
यस्तै उर्मा, फूलबारी तथा कैलारी गाउँपालिका–६ र ९ को केन्द्रमा आगामी तीन वर्षभित्र २५ शय्याको सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने, धनगढी उपमहानगरपालिका– १५ र १६ मा औद्योगिक क्षेत्र स्थापनाका लागि ठोस पहल गर्ने,रिङ रोड तथा हुलाकी सडक र सहरी सघन सडकको निर्माण पूरा गर्ने प्रतिवद्धता–पत्रमा उल्लेख छ ।
यूवालाई रोजगारीमा जोड्न संघीय तथा प्रदेश सरकारका साथै स्थानीय सरकारसँग समन्वय गरी यूवा स्वरोजगार कोषको अधिकतम उपयोग गरी युवा स्वरोजगार सिर्जनामा तीनै जना उम्मेदवारहरु अर्जुन दृष्टिसहित प्रतिवद्ध रहेको, यस निर्वाचन क्षेत्रभित्र पर्ने २१ वटै वडामा पाँच वर्ष भित्र खानेपानीको सुविधा,विद्युतीकरण, हरेक वडामा नमुना सामुदायिक विद्यालय,प्रदेश सभा (क) र (ख) मा प्राविधिक शिक्षालय बनाउनका लागि आवश्यक कार्यक्रम र वजेट व्यवस्थापन गर्ने प्रतिवद्धता–पत्रमा भनिएको छ ।
गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार डिल्लीराज पन्तले आफूहरुले चुनाव जितेपछि घोषणापत्र कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने ‘यो चुनावका लागि मात्रै ल्याइएको प्रतिवद्धता–पत्र होइन, निर्वाचित भएर गएपछि हामी यसलाई कार्यान्वयनमा लैजाने छौँ । कतिपय योजनाहरुका लागि संघमा पहल गरिनेछ ।’
कैलाली
प्रतिक्रिया