काभ्रेपलाञ्चोक । प्रतिनिधिसभा क्षेत्र नं २ का उम्मेदवार शिवप्रसाद हुमागाँई आफ्नो ‘घरदैलो’ अभियान आज भुम्लु गाउँपालिकाको दोलालघाट बजारबाट सुरु गरेका छन् । आफ्नो निर्वाचन क्षेत्रका केही अगुवा नेता कार्यकर्तासहित दोलालघाट पुगेका हुमागार्इंले स्थानीयवासीसँग भेटघाटसँगै भएगरेका विकासका काम तथा अवको आवश्यकताकाबारे चासो दिइरहेका छन् ।
नेपाली कांग्रेसका पूर्व सांसदसमेत रहेका हुमागाँईले घरदैलो कार्यक्रममा अधुरा काम आफूले पूरा गर्ने बताउँदै आएका छन् । निर्वाचन आयोगका अनुसार यही कात्तिक १७ गतेसम्म २५ जनाको संख्यामा उम्मेदवारले घरदैलो गर्न पाउनेछन् । आयोगको आचासंहिताअनुसार आफू घरदैलोमा केन्द्रित रहेको हुमागाँईले बताए ।
‘अहिले केही साथीसहित घरदैलोमा व्यस्त भएको छु, तिहारअघि आफ्नो क्षेत्रमा घरदैलो सक्ने योजना छ, त्यसपछि आयोगका अनुसार कात्तिक १८ गतेदेखि चुनावीसभामा केन्द्रित हुनेछौँ’, हुमागाईंले भने ।
यस्तै यस क्षेत्रअन्तर्गतका दुई प्रदेशमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका प्रदेशसभा क्षेत्र ‘क’ मा नेकपा ९एकीकृत समाजवादी०का लक्ष्मण लम्साल र प्रदेशसभा क्षेत्र ‘ख’ मा कांगे्रसका कञ्चनचन्द्र वादे पनि घरदैलोमै ब्यस्त छन् ।
‘मेरो क्षेत्रका स्थानीय गठबन्धनका उम्मेदवारप्रति निकै उत्साही देखिएकाले गाउँमै बसेर टोलटोलमा भेटघाट भइरहेको छ’, लम्सालले भने । हुमागाँईसँग भने नेकपा (एमाले) का पोलिटब्युरो सदस्य गोकुलप्रसाद बाँस्कोटाको प्रतिस्पर्धा हुनेछ । बाँस्कोटा पनि आफ्नो निर्वाचन क्षेत्र केन्द्रित छन् । यस प्रतिनिधिसभा क्षेत्रअन्तर्गत प्रदेशसभा ‘क’ र ‘ख’ मा गठबन्धनसँग मुख्य प्रतिस्पर्धी एमालेका कुमार खकुरेल र कुमार थापा छन् । खकुरेल र थापा पनि हाल घरदैलोमै ब्यस्त देखिन्छन् ।
यस्तै प्रतिनिधिसभा क्षेत्र नं १ मा गठबन्धनका उम्मेदवार सूर्यमान दोङ हालै मात्रै निर्वाचन क्षेत्र केन्द्रित भएका छन् । नेकपा ९माओवादी केन्द्र०का दोङ केही समय स्वास्थ्योपचारपछि केही दिनदेखि स्थानीयवासीसँग भेटघाटमा व्यस्त भएका हुन् । ‘दुई दिन भयो गाउँ आएको, अब स्थानीयवासीसँगको भेटघाटलाई तीव्रता दिन्छु’, दोङले भने ।
यस क्षेत्रअन्तर्गतको प्रदेशसभा ‘क’ र ‘ख’ मा गठबन्धनका उम्मेद्वार माओवादी केन्द्रका रत्न ढकाल र कांग्रेसका तीर्थ लामा छन् । उनीहरूसँग मुख्य प्रतिस्पर्धी एमालेका दिलीप लामा र चन्द्र लामा छन् ।
यहाँका गठबन्धन दल, प्रमुख प्रतिपक्षी तथा अन्य साना दल र स्वतन्त्र सबै उम्मेदवार घरदैलोमै व्यस्त भएको देखिन्छ । काभ्रेपलाञ्चोकमा ६ पदका लागि ६४ ले उम्मेदवारी दर्ता गराएका छन् । यसमध्ये दुई महिला र एक दलित उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रेका छन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा ५६ वर्षीया रुक्मणी श्रेष्ठले स्वतन्त्ररूपमा उम्मेदवारी दर्ता गराएकी छिन् भने प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा ‘ख’ निर्वाचन क्षेत्रमा मुना तामाङले नेपाल मजदुर किसान पार्टीको तर्फबाट उम्मेदवारी दर्ता गराएकी छन् ।
यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा ३२ वर्षीय पूर्णबहादुर विश्वकर्माले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दर्ता गराएका छन् । काभ्रेपलाञ्चोकमा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्र छन् । आउँदो मंसिर ४ गते हुने निर्वाचनमा उम्मेदवारी दर्ता भएकामध्ये चार प्रदेशसभा सदस्यभन्दा दुई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनेको संख्या बढी छ ।
जिल्लामा हालै दर्ता नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधिसभा क्षेत्र नं १ मा बसुनारायण श्रेष्ठ र २ मा दिनेश हुमागार्इंले उम्मेदवारी दिएका छन् । केही साना दलका नेताले भने स्वतन्त्ररूपमा उम्मेदवारी दर्ता गरेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार हाल काभ्रेपलाञ्चोकमा ३१ दल क्रियाशील छन् । जिल्लाका १ लाख ५७ हजार ९ सय ४७ पुरुष, १ लाख ५२ हजार १ सय १४ महिला र अन्य दुई मतदाता गरी कुल ३ लाख १० हजार ६३ मतदाताले मतदान गर्नेछन् । १ सय ९० वटा मतदानस्थलका ३ सय ८९ मतदान केन्द्र तोकिएको छ ।
प्रतिक्रिया