माधव नेपाललाई कारबाही गर्न प्रहरीलाई आयोगको पत्र

काठमाडौं । निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई स्पष्टीकरण सोधेको छ । स्पष्टीकरणसँगै आयोगले जिल्ला प्रहरी कार्यालय रौतहटलाई कारबाही प्रक्रिया अगाडि बढाउनसमेत पत्र लेखिसकेको छ । हालै रौतहटमा आयोजित एक कार्यक्रममा मतदातालाई प्रलोभन पार्ने गरी वक्तव्य दिएको भन्दै बिहीबार आयोगले अध्यक्ष नेपाललाई स्पष्टीकरण सोधेको हो ।

नेपालले फ्री भिसा र फ्री टिकटमा मतदातालाई विदेश पठाउने भनी वक्तव्य दिएको आयोगको पत्रमा उल्लेख छ । आयोगले लेखेको पत्रमा भनिएको छ, ‘उपर्युक्त सम्बन्धमा रौतहट जिल्लामा आयोजित कार्यक्रममा तपाईंले आफूले चुनाव जिते देशबाहिर युवालाई रोजगारीको अवसर दिने आश्वासन बाँडेको भन्ने विषयको समाचार प्रकाशन भएको, तपाईंले ‘बिना ढेउवा के भिसा मिलते हैं, टिकट मिलते हैं, काठमाडौं तालिम मिलते है’ भनि सार्वजनिक वक्तव्य दिएको श्रव्यदृश्य सामग्री सामाजिक सञ्जालमा सार्वजनिक भएको र सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको सो श्रव्यदृश्य सामग्रीका विषयमा आयोगबाट गठित सामाजिक सञ्जाल अनुगमन टोलीबाट अध्ययन तथा परीक्षण गर्दा तपाईंको होइन भनी भन्न सकिने कुनै आधार कारण नदेखिएकोले उक्त विषयप्रति आयोगको गम्भीर ध्यानाकर्षण भई यो पत्र लेख्ने कार्य भएको छ।’

आयोगले पत्रमा निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (न) मा “कसैले पनि कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने” उल्लेख भएको र उक्त व्यवस्थाको उलंघन हुने गरी कुनै कार्य भएमा उम्मेदवारको हकमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ उपदफा (३) बमोजिम रु. एक लाखसम्म जरिवाना र ऐनको उपदफा (४) बमोजिम उम्मेदवारी उद्द गर्न सक्ने व्यवस्था रहेको स्मरण गराएको छ ।

सोही विषयमा आयोगले जिल्ला प्रहरी कार्यालय, रौतहटलाई आवश्यक प्रक्रिया अगाडि बढाउन पत्रसमेत पठाएको छ । सो पत्रमा अध्यक्ष नेपालबाट व्यक्त उक्त आश्वासन निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २० को उपदाफ १ बमोजिम निर्वाचनको शिलशिलामा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले निर्वाचनमा कुनै उम्मेदवार वा मतदाता वा निजहरुमध्ये कसैको सरोकार वा स्वार्थ भएको कुनै व्यक्ति वा निर्वाचन अधिकृत वा निर्वाचनमा सम्लग्न कर्मचारीलाई कुनै किसिमले प्रभाव पार्न नहुने भएकाले सो ऐनको उपदफा (१) को खण्ड (च) मा कुनै किसिमले लोभ लालच देखाउने वा आर्थिक प्रलोभन देखाउन नहुने व्यवस्था भएकाले ऐनको दफा २० को उपदफा (४) मा उपदफा (१) को खण्ड (च) विपरीतको कार्य गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको अवगत गराइएको छ । पत्रमा माधवकुमार नेपालबाट निर्वाचनको सम्मुखमा युवाहरुलाई विदेश पठाउने भनी सार्वजनिक रुपमा प्रलोभन देखाउने कार्य गरेकाले सो सम्बन्धमा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ दफा ३९ बमोजिम आवश्यक कारवाही प्रक्रिया अघि बढाउन प्रहरी कार्यालयलाई अनुरोध गरिएको छ ।

प्रतिक्रिया