३५ उम्मेदवारलाई कारबाहीको तयारी

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ३५ जना उम्मेदवारहरुलाई कारबाही गर्ने तयारी थालेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी दिएका ३५ जना उम्मेदवारहरुले निर्वाचन आचारसंहीता उल्लंघन गरेको पाइएकाले कारबाहीको प्रक्रिया अघि बढ्ने पक्का भएको जनाएको हो ।

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बुधबार धेरै ठाउँमा आचारसंहिता उल्लंघनका उजुरी परेको तर ३५ जना उम्मेदवारहरुले आचारसंहिता बढी नै उल्लंघन गरेको पाइएको भन्दै कारबाहीको तयारी गरेको बताए । उनले आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारहरुको कसुर प्रवृत्तिको गहन मूल्यांकन र विश्लेषण गर्दा कारबाहीको भागिदार बन्ने देखिएको बताए ।

आयुक्त भण्डारीले आचारसंहिता धेरै उल्लंघन हुने समय कात्तिक १८ देखि मंसिर २ भएकाले आफूले बनाएका नीति नियमको पूर्ण पालना र कार्यान्वयन गर्न उम्मेदवारीहरुलाई आग्रह गरे । आयुक्त भण्डारीले निर्वाचन आचारसंहिता अहिले पनि विभिन्न तरिकाबाट उल्लंघन भइरहेको भन्दै निर्वाचन आचारसंहिता उल्लंघन गर्ने जो कोही उम्मेदवारहरुलाई पनि आयोगले कारबाही गर्ने चेतावनी दिए ।

उनले ऐन, कानुन बनाउनेहरुले नै आचारसंहिताको उल्लंघन गर्न नपाइने उल्लेख गर्दै अहिले पनि विभिन्न दलहरुले अगुवा कार्यकर्ता भेला, प्रशिक्षण लगायतका आचारसंहिताको उल्लंघन गरिरहेको बताए । उनले हरेक उम्मेदवार र दलहरुले निर्वाचन आचारसंहिता उल्लंघन गरेको विषयलाई आयोगले प्रमाण संकलन गरी गहन अध्ययन गरिरहेको पनि उल्लेख गरे ।

उनले भने, ‘राजनीतिक दलका र स्वतन्त्र उम्मेदवार जो उम्मेदवारी दिएर अगाडि जानुभएको छ । उहाँहरुको घरदैलो मात्रै गर्ने कार्यक्रम हो । कात्तिकको १७ गते सम्मको कार्यक्रम घरदैलो मात्रै हो । १८ गतेपछि गोष्ठी सेमिनार, ¥याली, कोणसभा हो । त्यसको लागि हामीले १७ दिनको समय राखेका छौँ । अहिलेको अवस्था घरदैलो मात्रै गर्ने कार्यक्रम हो । त्यसमा २५ जनामा नबढाइ, बाजागाजा नबजाइ जानुस् भनेका छौँ । दलका नेताहरुले पनि मञ्जुर गर्नुभएको हो ।’

धेरै ठाउँमा आचारसंहिता उल्लंघन भयो भनेर उजुरी परेको छ । बुधबारसम्म ३५ जनालाई स्पष्टिकरण सोधिसकेका छौँ । ८०–९० वटा स्पष्टीकरण सोध्ने र कसुरको प्रकृतिलाई मूल्यांकन गरेर के गर्न सकिन्छ भनेर हाम्रो टोलीले अनुसन्धान गरिरहेको छ । ३५ जनाको अलिकति बढी नै कसुरजन्य क्रियामा आचारसंहिता उल्लंघन गरेको सन्दर्भलाई लिएर अलि गहन तरिकाले अध्ययन गरेर उहाँहरु छानबिनको पनि गहिरो छानबिनको, मसिनो छानबिनको विषय हुने र सजायको भागिदार हुनुहुने भन्ने हामीले देखेका छौँ ।

निर्वाचन आयुक्त भण्डारीले नेकपा एकीकृत समाजवादीका नेता कृष्णकुमार श्रेष्ठले बारा क्षेत्र नम्बर ४ मा वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन दिएर अन्तर्वाता शुरु गरेको विषयमा पनि उजुरी परेकाले नेता श्रेष्ठलाई आयोगले स्पष्टीकरण सोधेको बताए । उनले आयोगले यस सन्दर्भमा प्रमाण जुटाउने काम गरिरहेको बताए ।

उनले आयोगले उम्मेदवारहरुले दिएको जवाफका बारेमा मात्रै सही, गलत नछुट्याउने भन्दै पर्याप्त प्रमाण संकलन गरी आचारसंहिता उल्लंघन गरेको पाइए कारबाहीको भागिदार बनाउने बताए । आयुक्त भण्डारीले भने, ‘किसान श्रेष्ठले बाराको आफ्नो निर्वाचन क्षेत्रमा जो गरिब किसानहरु हुनुहुन्छ, ज्याला मजदुरी गरेर आउनुभएको छ, तपाईहरुलाई विदेशमा म पठाइदिन्छु, भनेर अहिले निर्वाचनको माहोलमा चुनाव प्रचार गर्ने सन्दर्भमा उहाँले भिसा बाँड्नुभयो, भन्ने हामीकहाँ उजुरी आएको छ । त्यो उजुरीपछि हामीले उहाँले गर्नुभएको हो की होइन ? उहाँलाई स्पष्टीकरण सोधेका छौँ । साथै हामीले पनि प्रमाण संकलन गरेका छौँ । उहाँले दिएको जवाफमा मात्रै आधार मानेर त्यसैलाई सही र गलत भनेर हामी छुट्याउँदैनौँ । आयोगसँग मजबुत रुपमा प्रमाण संकलन छ । त्यो संकलन प्रमाणहरु वस्तुनिष्ठ तहले उहाँले त्यसरी निर्वाचन आचारसंहीतालाई उल्लंघन गरेर कसुरजन्य क्रिया गर्दै अघि हिँड्नुभएको छ भने निश्चित रुपमा सजायको भागिदार हुनुहुनेछ ।’

निर्वाचन आयुक्त भण्डारीले देशको नीति निर्माण र शासन सम्हाल्न जाने मानिसले सुरुदेखि नै ऐन, नियम र आचारसंहीता उल्लंघन गर्नुले देशका लागि नयाँ नीति निर्माण गर्न नसक्ने भन्दै निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरे ।

प्रतिक्रिया