‘फ्रि भिषा, फ्रि टिकट’ ले बबण्डर

काठमाडौं । आफ्ना चुनावी घोषणा पत्र होस् वा भाषण गर्दा स्वदेशमै रोजगारी सिर्जना गरेर युवाहरूको विदेश पलाएन रोक्नु पर्ने भन्न कुनै पनि राजनीतिक दल छुटाउदैनन् । तर, व्यवहारमा भने निर्वाचन प्रचारका क्रममा रोजगारीका लागि विदेश पलाएनलाई रोक्ने होइन, आफूतर्फ युवाहरूको मत तान्न यसलाई बढावा दिने होडवाजी गरिरहेका छन् ।

अहिले निर्वाचनका क्रममा केही राजनीतिक दल र उम्मेदवारले ‘फ्रि भिषा, फ्रि टिकट’ को कुरामा युवाहरूलाई लोभ्याउनको थालेपछि बबण्डर मच्चिएको छ । निर्वाचनका समय ‘फ्रि भिषा, फ्रि टिकटले लोभ्याउनेमा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति डा. आरजु राणा देउवा अग्रपंक्तिमा देखिएकी छन् । सत्ता गठबन्धनकै अर्को घटक नेकपा(एस) का अध्यक्ष माधव नेपालले पनि चुनावी सभामा ‘फ्रि भिषा, फ्रि टिकट’ को कुरा निकालेपछि उनको यो भिडियो समाजिक सञ्जालमा भाइरल भएको छ । नेपाललाई जवाफ दिंदै नेकपा(एमाले) अध्यक्ष केपी शर्मा ओलीले चुनावको मुखमा ‘फ्रि भिषा, फ्रि टिकट’ को कुरा गर्नेहरू ठग भएको बताएका छन् ।

यसै विषयलाई निर्वाचन आयोगले पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । बारा क्षेत्र नं. ४ बाट उम्मेदवार बनेका श्रेष्ठले फ्री भिसा फ्री टिकटमा विदेश पठाइदिने आश्वासन दिएपछि आयोगले स्पष्टीकरण सोधेको हो । उनले जनतालाई आश्वासन दिएको भिडिओ आयोगमा पुगेपछि स्पष्टीकरणको सामना गर्नुपरेको हो । आयोगले निर्वाचन आयोगमा वा उम्मेदवारी रहेको निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो प्रतिनिधिमार्फत लिखित स्पष्टीकरण पेश गर्न भनेको छ । आयोगले बारा लगायतका जिल्लाबाट युवाहरूलाई जम्मा गरी प्रलोभन देखाउनुभएको सम्बन्धमा के कसो भएको हो ? भनी सोधेको छ ।

अब यस्तो आश्वासन बाँड्नेको सूचीमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पनि थपिएका छन् । आइतबार रौटतहटमा भएको एक चुनावी कार्यक्रममा बजिका भाषामा पूर्वप्रधानमन्त्री नेपालले आफूले चुनाव जिते देश भित्र र बाहिर युवालाई रोजगारीको अवसर दिने आश्वासन मात्र बाँडेनन् उनले भने, ‘फ्रि का मतलब बिना ढेउवा के । बिना ढेउवाको भिसा मिल्ते हे, टिकट मिल्ते हे, काठमाडौंमे तालिम मिल्ते हे ।’ अहिले उनको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

यसो त चुनावमा ‘फ्रि भिषा, फ्रि टिकट’ आश्वासन दिएको यो प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा मात्र पहिलो पटक होइन । यसको सुरुवात गरेकी हुन् प्रधानमन्त्री पत्नी आरजु राणाले । उनले गत स्थानीय निर्वाचन प्रचारका बेला कैलालीमा भोट माग्ने क्रममा निःशुल्क विदेश पठाउने आश्वासन दिएकी उनलाई निर्वाचन आयोगले स्पष्टीकरण नै सोधेको थियो । तर, त्यसबाट नचेतेकी राणाले संसदीय चुनावको मुखमा पनि ‘फ्रि–भिसा, फ्रि–टिकट’ को प्रलोभन दिन छाडेकी छैनन् ।

आफ्ना पतिको उम्मेदवारी दर्ता गराउन २३ असोजमा डडेलधुरा पुगेकी पत्नी राणाले आफूले युवाहरुलाई रोजगारीका लागि निःशुल्क मलेसिया पठाएको गर्व साथ बताइन् । ‘युवाको रोजगारीमा अस्ति पनि ४ सयभन्दा बढी फ्रि–भिसा, टिकटमा पठायौं, यस्तो स्किम यहाँ फेरि पनि कसरी ल्याउने भन्ने पहल गर्छौं,’ देउवाको उम्मेदवारी दर्ता गरेपछि उनले थप योजना पनि सुनाइन् ।

यसको प्रतिउत्तरमा एमाले अध्यक्ष ओलीले यस्तो आश्वासन बाँडनेहरू ‘ठग’ भएको बताएका छन् । बुधबार झापा –१ म आयोजित राप्रपासँगको संयुक्त चुनावी सभामा बोल्दै ओलीले भने, ‘बारा, रौतहट, डडेल्धुरालगायतका जिल्लामा फ्रि–भिसा र फ्रि–टिकटको कुरा गरेर जनतालाई भ्रम छरिरहेका छन् । त्यस्ता उम्मेदवारलाई निर्वाचन आयोगले तत्काल कारवाही गर्नुपर्छ ।’

निर्वाचन आयोगले भने बाराबाट मात्र उजुरी परेको जनाउँदै कृष्णकुमार श्रेष्ठले फ्रि भिसामा विदेश पठाइदिने भन्दै युवाहरुलाई अन्तरवार्ता लिएको उजुरी आएको बताएको छ । आयोगका आयुक्त रामप्रसाद भण्डारीका अनुसार गरिब किसानलाई निर्वाचनको माहोलमा भिसा बाँडेको उजुरी परेको बताए । त्यसअनुसार श्रेष्ठसँग स्पष्टीकरण मागिएको जानकारी दिए ।

‘आयोगमा मजबुत प्रमाण छ, उहाँले निर्वाचन आचारसिंहता उल्लंघन गर्नु भएको छ भने निश्चित रुपमा कारवाहीको भागिदार हुनुहोला ।’

प्रतिक्रिया