निर्वाचनमा सञ्चार माध्यमको अनुगमन : काउन्सिलको सक्रियता

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरी प्रेस काउन्सिल नेपालले अनुगमनलाई तिव्रता दिएको छ । काउन्सिलले गर्दै आएको नियमित अनुगमनबाहेक आसन्न निर्वाचन लक्षित सञ्चार माध्यममा आचारसंहिताको अनुगमनसमेत गरिरहेको छ ।

अनुगमनका लागि पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइनको छुट्टाछुट्टै समूह बनाएर काम सुरु गरेको काउन्सिलका उपप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराले जानकारी दिए ।

मङ्गलबार काउन्सिलले अनुगमनमा खटिएका कर्मचारीसहित तथ्यांकविज्ञसँग छलफल गरेको थियो । यसअघिका आम निर्वाचनहरूमा समेत तथ्यांक प्रशोधनसहित अनुमगनको अनुभव सङ्गालेका तथ्यांकविज्ञद्वारा तथ्यांक प्रशोधन–अनुगमन विधिबारे सङ्क्षिप्त अभिमुखीकरण भएको सूचना अधिकारी बोहराले बताए ।

उनले काउन्सिलले आफ्नो नियमित अनुगमनसँगै निर्वाचन अनुगमनलाई समेत निरन्तरता दिएको र पत्रकार तथा सञ्चार माध्यम सम्बद्ध सामाजिक सञ्जालको प्रवृत्तिगत अध्ययन समेत भइरहेको जानकारी दिए ।

यसअघि काउन्सिलले २०६४ सालको संविधानसभा निर्वाचन, २०६५ सालको उपनिर्वाचन, २०७४ सालको स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचन र २०७९ सालको वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा सञ्चार माध्यम विशेष अनुगमन गरी प्रतिवेदन सार्वजनिक गरिसकेको छ ।

प्रतिक्रिया