बाँके । बाँकेमा वर्षाका कारण प्रभावित बस्तीहरूमा विभिन्न खालका स्वास्थ्य समस्या देखिन थालेका छन् । देशभरसहित बाँकेमा समेत लगातार परेको वर्षाका कारण प्रभावित भएका क्षेत्रहरूमा भाइरल ज्वरो, रुघाखोकी र निमोनियाका बिरामी देखिन थालेका हुन् । बेमौषमी वर्षाका कारण बाँकेका आठ वटै पालिका प्रभावित भएका थिए । नरैनापुर, डुडुवा र राप्ती सोनारी गाउँपालिका सहित नेपालगन्ज र कोहलपुर लगायतका पालिकाका नागरिक डुवानमा परेका बस्तीहरूमा यस्तो समस्या देखिन थालेको हो । जिल्ला स्वास्थ्य कार्यालय बाँकेले असोज महिनामा तुलनात्मक रूपमा गर्मी हुने भए पनि लगातारको वर्षाका कारण चिसो भएको र फेरि गर्मी बढेका कारण बस्तीहरूमा यस्तो समस्या देखिन थालेको छ । त्यस्ता समस्या भएका सम्बन्धित पालिकाका स्वास्थ्य चौकीहरूमा सबैभन्दा धेरै ज्वरोको समस्या लिएर आउने गरेको रिर्पोट प्राप्त भएको कार्यालयले जनाएको हो । यस्तै नेपालगञ्ज र कोहलपुरमा रहेका अस्पतालहरूमा ज्वरो, रुघाखोकी र निमोनियाका बिरामी आउने क्रम अत्यधिक बढेको पाइएको छ ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत डा. श्याम विकका अनुसार यस्तो समस्या दीर्घरोग भएका महिला र पुरुष, बालबालिका तथा वृद्धवृद्धाहरूमा देखिएको छ । उनले मेडिकलसहित कोहलपुरका निजी मेडिकल हलहरूमा समेत बिरामीको चाप बढेको बताए । यति मात्रै होइन पछिल्लो समय अस्पतालहरूमा डेंगुको प्रकोप बढेपछि भाइरल ज्वरो आएकाहरू डेंगुप्रति झन् त्रसित बन्न थालेका छन् । अस्पतालमा उपचार गराइरहेका बिरामीका आफन्तहरू समेत बिरामी बढ्न थालेको बताउँछन् ।
कञ्चनपुरबाट कोहलपुरमा उपचारको लागि आएका दलबहादुर बुढा भन्छन्, ‘हामी आएको एक साता हुन लाग्यो । केहीदिन यता बिरामीहरूको चाप बढिरहेको छ । सबै हामीजस्तै पीडित रहेछन् ।’ ज्वरो आउनसाथ डेंगु परीक्षण गराउनेहरू बढेको पाइएको छ । भाइरलबाट बालबालिका र वृद्धवृद्धा सबैभन्दा बढी प्रभावित भएको विभिन्न अस्पतालले जनाएका छन् । चिकित्सहरूका अनुसार बिरामीहरूमा उच्च ज्वरो, रुघाखोकी, घाँटी दुख्ने, खसखस हुने, टाउको दुख्ने, नाक पोल्ने, सिँगान निस्कने र पखालासमेत लाग्ने लक्षण देखिएको छ । भेरी अस्पतालका सूचना अधिकारी डा. संकेत रिसालले दैनिक दुई सयदेखि तीन सय जनासम्म भाइरल ज्वरोका बिरामी उपचारका लागि पुग्ने गरेको बताए ।
मौसम परिवर्तन, दूषित पानी, सरसफाइ र खानपानमा उचित ध्यान नपु¥याउँदा भाइरल ज्वरोका बिरामी बढेको दाबी चिकित्सकहरूको छ । भाइरल ज्वरो तीनदेखि पाँच दिनसम्म आफैँ निको हुने भए पनि डेंगुप्रति सचेत रहनुपर्ने सुझाव चिकित्सकहरूको छ । उनका अनुसार बालबालिका र वृद्धवृद्धामा बढी भाइरल ज्वरोको प्रकोप बढेको छ । मौषम परिवर्तन हुन समय भएकोले खानपिनमा ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीहरूको सुझाव छ ।
यसैगरी कोहलपुर नगरपालिकाले अघिल्लो साता एक हप्तासम्म भएको वर्षाका कारण पुगेको क्षतिको विवरण संकलन गरेको छ । नगरपालिकाका १५ वटै वडामा क्षतिको विवरण संकलन गरेर राहत वितरण सुरु गरेको छ । वर्षा पीडितहरूको तथ्यांक संकलन गरेर विभिन्न वडामा राहत वितरण सुरु गरेको वातावरण तथा विपद् व्यस्थापन शाखाले जनाएको छ ।
शाखाका प्रमुख सुभाष पौडेलका अनुसार कोहलपुर नगरपालिकामा ५३ जनालाई राहत वितरण तयारी गरिरहेको छ । अहिलेसम्म विभिन्न १९ जनालाई राहत वितरण गरिएको उनले बताए । प्रमुख पौडेलले अहिलेसम्म वडा–२, ३, ४, ५ र ६ मा राहत वितरण गरिएको बताए । बाँकी वडामा निरन्तर राहत वितरण हुने उनको भनाइ छ ।
कोहलपुर नगरपालिकाकी उप्र–प्रमुख संगीता सुवेदीका अनुसार वर्षाले पु¥याएको क्षतिको विवरण संकलन गरेर राहत वितरण सुरु गरिएको हो । ‘वर्षाले धेरै क्षति भएको छ । जनताको समाधान गर्नका लागि हामी लागि परेका छौँ । विभिन्न वडामा राहत वितरण सुरु भएको छ । केही दिनमा सम्पूर्ण वडामा राहत वितरण गर्छौं,’ उनले भनिन् । कोहलपुर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक ईश्वरीप्रसाद विश्वकर्माले कोहलपुर नगरपालिका जनताको पक्षमा रहेको रहेको बताए ।
वर्षाका कारण प्रभावित भएकाहरूलाई हामीले घरमै पुगेर राहत वितरण गरिरहेको विश्वकर्माले बताए । उनले भने, ‘पहिलो चरणमा पूर्ण क्षति भएकाहरूलाई राहत वितरण गरिरहेका छौँ । दोस्रो चरणमा आंशिक क्षति पुगेकालाई वितरण गर्नेछौँ । पीडितहरू नछुटुन् भन्ने हाम्रो लक्ष्य हो ।’ कोहलपुर नगरपालिका–८ का अध्यक्ष लालबहादुर रानाका अनुसार विपद्को बेला जनतालाई मल्हम लगाउन नगरपालिका सक्रिय रूपमा लागि परेको छ ।
उनले वडा–८ का जनताको सेवाको लागि आफू सदैव तत्पर रहेको बताए । विपद् व्यवस्थापन समितिको बैठक बसेर सम्पूर्ण नागरिकको सुरक्षाका लागि कुनै पनि कसर बाँकी नराख्न भएको निर्देशनअनुसार आफूहरूलाई जनताको घरदैलोमा गएर राहत वितरण गरिरहेको उनले बताए ।
वर्षाका कारण बाँकेका आठ पालिका मध्ये कोहलपुर नगरपालिकामा समेत क्षति पुगेको थियो । पहिलो चरणमा प्रति परिवार चामल र पाँच केजी दाल तथा त्रिपाल राहत वितरण गरिएको कोहलपुर नगरपालिकाअन्तर्गत विपद् व्यवस्थापन तथा वातावरण शाखाले जनाएको छ ।
नेपालगन्ज
प्रतिक्रिया