मतदाताको अन्तिम नामावली सार्वजनिक

महिला मतदाता बढी भए पनि उम्मेदवार कम

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सोमबार मतदाताको अन्तिम नामावली सार्वजनिक गरेको छ । आयोगका अनुसार, आगामी निर्वाचनमा देशभर कुल १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता रहेका छन् । कुल मतदातामध्ये ८८ लाख ४७ हजार ५ सय ७९ जना पुरुष, ९१ लाख ४० हजार ८ सय ६ महिला र १ सय ८५ जना अन्य रहेका छन् । देशभर प्रतिनिधिसभाका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ कुल १ सय ६५ निर्वाचन क्षेत्र रहेका छन् ।

यसैगरी पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत प्रदेशसभातर्फ प्रदेश–१ मा ५६, मधेस प्रदेशमा ६४, वागमती प्रदेशमा ६६, गण्डकी प्रदेशमा ३६, लुम्बिनी प्रदेशमा ५२, कर्णाली प्रदेशमा २४ र सुदूरपश्चिम प्रदेशमा ३२ वटा निर्वाचन क्षेत्र रहेका छन् । आयोगका अनुसार, प्रदेश–१ मा ३३ लाख ९६ हजार ८ सय ६५ मतदाता छन् । प्रदेश–१ मा प्रतिनिधिसभा सदस्यको संख्या २८ र प्रदेशसभा सदस्यको संख्या ५६ रहेको छ । पुरुष मतदाताको संख्या १७ लाख २९ हजार ७ सय ७२ र महिला मतदाताको संख्या १६ लाख ६७ हजार ७१ रहेको छ । उक्त प्रदेशमा अन्य मतदाताको संख्या २२ रहेको छ । प्रदेश–१ मा मतदान स्थलको संख्या १ हजार ८ सय ९७ र मतदान केन्द्रको संख्या ४ हजार ९९ रहेको आयोगले जनाएको छ ।

यसैगरी मधेस प्रदेशमा ३३ लाख ८६ हजार ६ सय २८ जना मतदाता छन् । मधेस प्रदेशमा प्रतिनिधिसभा सदस्यको संख्या ३२ र प्रदेशसभा सदस्यको संख्या ६४ रहेको छ । उक्त प्रदेशमा पुरुष मतदाताको संख्या १८ लाख २७ हजार ८ सय ५४ र महिला मतदाताको संख्या १५ लाख ५८ हजार ७ सय ४ रहेको छ । मधेस प्रदेशमा मतदानस्थल संख्या २ हजार १ सय ५६ र मतदान केन्द्र संख्या ४ हजार २ सय ३५ रहेको छ ।

यसैगरी वागमती प्रदेशमा कुल मतदाता संख्या ३४ लाख ७१ हजार ४ सय ९२ रहेको छ । बागमती प्रदेशमा प्रतिनिधिसभा सदस्यको संख्या ३३ र प्रदेशसभा सदस्यको संख्या ६६ रहेको छ । उक्त प्रदेशमा पुरुष मतदाताको संख्या १७ लाख ३८ हजार ८७ र महिला मतदाताको संख्या १७ लाख ३३ हजार ३ सय ७८ रहेको छ । बागमती प्रदेशमा मतदानस्थल संख्या १ हजार ८ सय १२ र मतदान केन्द्र संख्या ४ हजार १ सय ४३ रहेको छ ।

यसैगरी गण्डकी प्रदेशमा कुल मतदाता संख्या १८ लाख १७ हजार ५ सय ४१ रहेको छ । गण्डकी प्रदेशमा प्रतिनिधिसभा सदस्यको संख्या १८ र प्रदेशसभा सदस्यको संख्या ३६ रहेको छ । उक्त प्रदेशमा पुरुष मतदाताको संख्या ८ लाख ८२ हजार ३ सय २९ र महिला मतदाताको संख्या ९ लाख ३५ हजार ३ सय १ रहेको छ । बागमती प्रदेशमा मतदानस्थल संख्या १ हजार २ सय ८३ र मतदान केन्द्र संख्या २ हजार ३ सय ३९ रहेको छ ।

लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या ३२ लाख ४९ हजार ६ सय ३७ रहेको छ । लुम्बिनी प्रदेशमा प्रतिनिधिसभा सदस्यको संख्या २६ र प्रदेशसभा सदस्यको संख्या ५२ रहेको छ । उक्त प्रदेशमा पुरुष मतदाताको संख्या १६ लाख ३७ हजार १ सय ३२ र महिला मतदाताको संख्या १६ लाख १२ हजार ४ सय ७१ रहेको छ । लुम्बिनी प्रदेशमा मतदान स्थल संख्या १ हजार ६ सय ५० र मतदान केन्द्र संख्या ३ हजार ८ सय ६२ रहेको छ ।

यसैगरी कर्णाली प्रदेशमा कुल मतदाता संख्या १० लाख ८ हजार ४ सय ३ रहेको छ । कर्णाली प्रदेशमा प्रतिनिधिसभा सदस्यको संख्या १२ र प्रदेशसभा सदस्यको संख्या २४ रहेको छ । उक्त प्रदेशमा पुरुष मतदाताको संख्या ५ लाख १० हजार ४ सय २० र महिला मतदाताको संख्या ४ लाख ९७ हजार ९ सय ८० रहेको छ । कर्णाली प्रदेशमा मतदान स्थल संख्या ९ सय ३३ र मतदान केन्द्र संख्या १ हजार ४ सय ३ रहेको छ ।

यसैगरी सुदूरपश्चिम प्रदेशमा कुल मतदाता संख्या १६ लाख ५८ हजार ४ जना मतदाता रहेका छन् । सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभा सदस्यको संख्या १६ र प्रदेशसभा सदस्यको संख्या ३२ रहेको छ । उक्त प्रदेशमा पुरुष मतदाताको संख्या ८ लाख १५ हजार २ सय १२ र महिला मतदाताको संख्या ८ लाख ४२ हजार ७ सय ७४ रहेको छ । सुदूरपश्चिम प्रदेशमा मतदान स्थल संख्या १ सय १ सय ६१ र मतदान केन्द्र संख्या २ हजार १ सय ४६ रहेको छ ।

देशभर अन्य मतदाताको संख्या १ सय ८५ रहेको छ । अन्य मतदाताको संख्या प्रदेश–१ मा २२, मधेस प्रदेशमा ७०, बागमती प्रदेशमा २७, गण्डकी प्रदेशमा ११, लुम्बिनी प्रदेशमा ३४, कर्णाली प्रदेशमा तीन र सुदूरपश्चिम प्रदेशमा १८ रहेको छ ।

देशभर कुल १० हजार ८ सय ९२ मतदानस्थलमा र २२ हजार २ सय २७ वटा मतदान केन्द्रहरू निर्धारण गरिएको आयोगले जनाएको छ । देशभर पुरुषको तुलनामा महिला मतदाताको संख्या बढी भए पनि उम्मेदवारको संख्या भने निकै कम छ ।

प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ देशभर ५७ वटा राजनीतिक दलले आफ्नो उम्मेद्वार उठाएका छन् । निर्वाचन आयोगका अनुसार, विभिन्न राजनीतिक दलको तर्फबाट १ हजार ५ सय ८३ जना उम्मेद्वार चुनावी दौडमा छन् । विभिन्न राजनीतिक दलको तर्फबाट देशभर १ सय ५० जना महिलाले मात्र उम्मेद्वारी दिएका छन् । मनोनयन दर्ता गराएका उम्मेद्वारमध्ये १० प्रतिशत पनि महिला छैनन् ।

यसैगरी प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ ९ सय ४३ जनाले स्वतन्त्र रूपमा उम्मेद्वारी दर्ता गराएका छन् । ठूलो संख्यामा विभिन्न राजनीतिक दलका असन्तुष्ट नेता÷कार्यकर्ताले पनि स्वतन्त्र रूपमा उम्मेद्वारी दर्ता गराएका छन् ।

स्वतन्त्र उम्मेद्वारमा पनि महिलाको संख्या निकै कम देखिन्छ । देशभर कुल ८ सय ५८ जना पुरुषले स्वतन्त्र रूपमा उम्मेद्वारी दिएका छन् । स्वतन्त्र रूपमा उम्मेद्वारी दिने महिलाको संख्या भने देशभर ८५ मात्र रहेको छ ।

राजनीतिक दल र स्वतन्त्र गरी कुल २ हजार ५ सय २६ जना उम्मेद्वार पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष)तर्फ चुनावी मैदानमा होमिएका छन् । त्यसमध्ये पुरुषको संख्या २ हजार २ सय ९१ र महिला उम्मेद्वारको संख्या २ सय ३५ रहेको छ ।

प्रदेशगत रूपमा प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ प्रदेश–१ मा ५ सय ४८ जनाले उम्मेद्वारी दिएका छन् । त्यसमध्ये ४ सय ९३ जना पुरुष र ५५ जना महिला रहेको आयोगले जनाएको छ । प्रदेश–१ मा ३० वटा राजनीतिक दल र स्वतन्त्र उम्मेद्वारले मनोनयनपत्र दर्ता गराएका छन् । मधेस प्रदेशमा प्रत्यक्षतर्फ १ हजार ५५ जनाको उम्मेद्वारी परेको छ । त्यसमध्ये ९ सय ७८ जना पुरुष, ७६ जना महिला र अन्यमा एक जनाले उम्मेद्वारी दिएका छन् । मधेस प्रदेशमा ३७ वटा राजनीतिक दल र स्वतन्त्र उम्मेद्वारले उम्मेद्वारी दिएका छन् ।

यसैगरी बागमती प्रदेशमा ३२ वटा राजनीतिक दल र स्वतन्त्रले गरी प्रत्यक्षतर्फ ७ सय १ जनाको उम्मेद्वारी परेको छ । त्यसमध्ये पुरुष ६ सय १९ जना र महिला ८२ जना रहेका छन् । गण्डकी प्रदेशमा २३ राजनीतिक दल र स्वतन्त्र गरी प्रत्यक्षतर्फ २ सय ७१ जनाको उम्मेद्वारी परेको छ । त्यसमध्ये पुरुष २ सय ३७ जना र महिला ३४ जना छन् ।

लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ २५ वटा राजनीतिक दल र स्वतन्त्र गरी ५ सय ३२ जनाको उम्मेद्वारी परेको छ । उम्मेद्वारी दिनेमा पाँच सय जना पुरुष र ३२ जना महिला रहेका छन् । कर्णाली प्रदेशमा प्रत्यक्षतर्फ १६ वटा राजनीतिक दल र स्वतन्त्र गरी १ सय ४३ जनाको उम्मेद्वारी परेको छ । त्यसमध्ये १ सय ३९ जना पुरुष र चार जना महिलाको उम्मेद्वारी रहेको आयोगले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ २० वटा राजनीतिक दल र स्वतन्त्र गरी २ सय २६ जनाको उम्मेद्वारी परेको छ । त्यसमध्ये २ सय १२ जना पुरुष र १४ जना महिलाको उम्मेद्वारी परेको आयोगले जनाएको छ ।

समानुपातिकतर्फ महिलाको संख्या ५५ प्रतिशत

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ महिला उम्मेदवारको संख्या ५५ प्रतिशतभन्दा बढी रहेको देखिएको छ । प्रतिनिसभातर्फ समानुपातिक उम्मेदवारको कुल संख्या २ हजार ४ सय २ रहेको छ ।

यसमा महिला उम्मेदवारको संख्या १ हजार ३ सय १३ रहेको छ भने पुरुष उम्मेदवारको संख्या १ हजार ८९ छ । निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार, प्रदेशसभातर्फ महिला समानुपातिक उम्मेद्वारको संख्या २ हजार ४ सय २६ छ ।

प्रदेशसभाको समानुपातिकतर्फ पुरुष उम्मेद्वारको संख्या १ हजार ६ सय २९ छ । प्रदेशसभाको समानुपातिकतर्फ कुल ४ हजार ५५ जनाको उम्मेद्वारी कायम भएको छ । प्रदेश–१ मा ४ सय ६ महिला र २ सय ५५ पुरुष रहेका छन् ।

यसैगरी मधेस प्रदेशमा ५ सय ७० महिला र ३ सय ७७ पुरुष, बागमती प्रदेशमा ४ सय ७१ महिला र ३ सय ५४ पुरुष, गण्डकी प्रदेशमा २ सय २१ महिला र १ सय ४५ पुरुष, लुम्बिनी प्रदेशमा ४ सय ३ महिला र २ सय ५४ पुरुष, कर्णाली प्रदेशमा १ सय ३१ महिला र ९१ पुरुष तथा सुदूरपश्चिम प्रदेशमा २ सय २४ महिला र १ सय ५३ पुरुष उम्मेदवार रहेका आयोगले जनाएको छ । आगामी मंसिर ४ गते देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ ।

प्रतिक्रिया