जित्लान् त पश्चिमका ओलीले चुनाव ?

धनगढी । डोटी प्रदेशसभा (ख) मा सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टका प्रमुख स्वकीय सचिव शिवसिंह ओली चुनावी मैदानमा छन् । नेकपा (माओवादी) केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका ओली टिकट लिने बेलादेखि नै चर्चामा छन् ।

एक मात्रै संघीय निर्वाचन क्षेत्र भएको डोटीमा सत्तारुढ गठबन्धनको भागबण्डामा माओवादी केन्द्रले नपाउने भएपछि मुख्यमन्त्री भट्ट प्रदेश सभा (ख) बाट चुनाव लड्ने तयारीमा थिए । तर, नेतृत्वलाई रिझाउन नसकेका भट्टले टिकट पाएनन् ।

सो क्षेत्रमा मुख्यमन्त्री भट्टका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले टिकट पाए । पार्टी नेतृत्वलाई रिझाउन सफल भएका ओलीले मतदातासँगै जिल्ला पार्टीलाई समेत रिझाउने चुनौती थपिएको छ । टिकट वितरणताका मुख्यमन्त्री भट्टसहित टिकटका अन्य प्रत्यासी असन्तुष्ट छन् ।

दुई जना प्रत्यासीले त विज्ञप्तिनै जारी गरेर असन्तुष्टि व्यक्त गरेका थिए । यद्यपि बागी उम्मेदवारी भने कसैले दिएका छैनन् । उनीहरुलाई रिझाउने प्रमुख चुनौति ओलीसँग छ । ओली छोटो समयमै राजनीतिमा छलाङ मार्ने नेताकारुपमा पनि चिनिन्छन् । ओली सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।

जिल्ला पार्टीको निर्णय अनुसार र प्रदेश पार्टीको सिफारिस अनुसार नै टिकटको कुरा अगाडि बढेकाले यसमा कोही असन्तुष्ट नभएको डोटी प्रदेशसभा (ख) का सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य शिवसिंह ओलीले बताए ।

‘केही साथीहरुले असहमति राख्नुकोभएको थियो सिफारिस भएका सबै साथीहरुको आकांक्षा हुनु स्वभाविक हो’, उनले भने, ‘पार्टीले सबै कुरा हेरेर उम्मेदवार छनोट गरेको छ ।’ ‘टिकट वितरणका बेला असन्तुष्ट भएका साथीहरुले सहयोग गर्नुहुन्छ, पार्टीमा आफ्ना विचार भनाइ पनि हुन्छन्, त्यसको हामीले सम्मान गर्नुपर्छ’, उनले भने, ‘मुख्यमन्त्री ज्यूसँग मेरो पटक–पटक छलफल भइरहेको छ उहाँले चुनावमा सहयोग गर्ने कुरा भएको छ, यो पार्टीको निर्णय हो, मुख्यमन्त्री ज्यूले पार्टीको निर्णय मान्छु भन्नुभएको छ, अरु साथीहरुले पनि पार्टीको निर्णय मान्छौँ भन्नुभएको छ ।’

ओलीले थपे, ‘त्यतिबेला टिकट नपाउँदा साथीहरुमा एकप्रकारको आक्रोस थिया,े तर पछिल्लो समयमा छलफल संवाद भइरहेको र पार्टीबाट पूर्ण सहयोग हुनेछ ।’ योसँगै सत्तारुढ दलबाट पनि पूर्णरुपमा सहयोग हुनेमा ओली विश्वस्त छन् ।

‘हामी अहिले संयुक्त कार्यक्रम बनाएर अगाडि बढिरहेका छौँ’, उनले भने, ‘गठबन्धनमा सम्बद्ध दलहरुमा नेपाली कांग्रेसको नेतृत्वमा अगाडि बढिरहेका छौँ ।’ सबै क्षेत्रमा गठबन्धन दलहरु सँगसँगै हिँडिरहेको र एक अर्कामा धोका नहुने तथा आफ्नो जित सुनिश्चित रहेको उनको दाबी छ ।

संविधानको रक्षा, लोकतन्त्रको संरक्षण, विकास र समृद्धि गठबन्धनका उम्मेदवारले जिते मात्रै हुने भएकाले आफ्नो पक्षमा जनताले मत दिनेमा ढुक्क रहेको ओलीले बताए ।

डोटीमा सत्ता गठबन्धनको भागबण्डामा प्रदेशसभा (ख) माओवादी केन्द्रको भाग परेको छ । ओलीलाई सो क्षेत्रमा सत्तारुढ गठबन्धनको साथ रहेको छ । ओली गठबन्धन दलसँगै चुनावी मोर्चामा होमिएका छन् । ओलीले नेकपा (एमाले) का उम्मेदवार टेकबहादुर बमसँग प्रतिष्पर्धा गर्दै छन् ।

ओलीका मुख्य प्रतिष्पर्धी रहेका नेकपा एमालेका उम्मेदवार बमले नेकपा एमालेले जनताको पक्षमा र राष्ट्रियताको पक्षमा काम गरिरहेको तथा यसपटकको निर्वाचनमा जनताको विकासको चाहाना, आवश्यकता परिपुर्ति गर्ने एजेण्डासहित आफू चुनावी मैदानमा भएकोले आफ्नो जित हुने दाबी गरे ।

‘स्थानीय तहको निर्वाचनमा आफ्नो दलले पाएको मत संख्यात्मक रुपमा कम होला उनले भने त्यतिखेर प्राविधिकरुपमा कँही कतै चुकेपनि जनता हामीसँग नै छन्, त्यसकारण मैले चुनाव जित्नेमा ढुक्क छु’, बमले भने ।

यस्तो छ स्थानीय तह चुनावको मतको हिसाव

डोटीको प्रदेश सभा (ख) मा जोरायल गाउँपालिकाका ६ वडा, बडीकेदार गाउँपालिकाका ५ वडा,बोगटान फुड्सिल गाउँपालिकाका ७ वडा,के.आई. सिं. गाउँपालिकाका ७ वडा र शिखर नगरपालिकाका ६ वटा वडा गरि ३१ वटा वडाहरु रहेका छन् ।

२०७९ को स्थानीय तहको निर्वाचनमा सो वडाहरुमध्ये नेपाली कांग्रेसले १५ वडा, नेकपा एमालेले १० वडा, माओवादी केन्द्रले ४ वडा तथा नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले १–१ वडा जितेका छन् ।

स्थानीय तहमा वडाध्यक्षहरुले पाएको मतको आधारमा नेपाली कांग्रेसले १५ हजार १३४, नेकपा एमालेले ११ हजार १२४, नेकपा (माओवादी केन्द्र) ले ५ हजार ४१३, एकीकृत समाजवादीले १ हजार ६६० र राष्ट्रिय जनमोर्चाले ५८४ मत प्राप्त गरेको छ ।

यो आँकडालाई हेर्नेको भने सत्तारुढ गठबन्धन नेकपा एमालेभन्दा झण्डै दोब्बरले अगाडि देखिन्छ । तर, कसले मतदातालाई रिझाउन सक्छन र जित हात पार्न सक्छन् त्यो त निर्वाचनपछिको मतपरिणामले बताउने छ ।

२०७४ को निर्वाचनमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सो क्षेत्रबाट प्रदेशसभा सदस्यमा विजयी भएका थिए । वाम गठबन्धनका साझा उम्मेदवार रहेका भट्टले आफ्ना प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेदवार योगेन्द्रबहादुर शाहीलाई पराजित गरेका थिए । भट्टले १६ हजार ९१ मत प्राप्त गरेका थिए भने कांग्रेसका शाहीले १३ हजार ५९५ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया