कैलाली–४ मा दुई पूर्वमन्त्री ‘आमनेसामने’

धनगढी । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको रौनक कैलालीमा पनि बढ्न थालेको छ । निर्वाचनमा होमिएका उम्मेदवारहरूले आफ्ना निर्वाचन केन्द्रीत गतिविधि अगाडि बढाइरहेका छन् । आ–आफ्ना चुनावी एजेण्डा लिएर मतदातासम्म पुगिरहेका छन् । तिब्र प्रतिस्पर्धाको आँकलन गरिएको कैलाली क्षेत्र नं. ४ मा प्रतिनिधि सभा सदस्यका लागि दुईजना पूर्वमन्त्री चुनावी मैदानमा उत्रिएका छन् ।

सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता पूर्वमन्त्री बीरबहादुर बलायर चुनावी मैदानमा छन् । बलायर नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति पनि हुन् । त्यसैगरी उनका प्रमुख प्रतिस्पर्धी नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री लेखराज भट्ट चुनावी मैदानमा होमिएका छन् । मुख्यतः यी दुबै उम्मेदवारकाबीच कडा प्रतिस्पर्धा हुने अनुमान गर्न थालिएको छ ।

दुबै चर्चित नेताहरु चुनावी प्रतिष्पर्धामा होमिएपछि चर्चा सुरु हुन थालेको छ । यी दुबै नेता डोटी पृष्ठभूमि भएका नेता हुन् । यो निर्वाचन क्षेत्र पनि डोटीको बाहुल्यता भएको क्षेत्र हो । कसले मतदाताको मन जित्न सक्लान भनेर चर्चा परिचर्चा पनि हुन थालेको छ । यसअघि डोटीबाटै निर्वाचन लडिरहेका बलायर यसपटक भने सत्ता गठबन्धनको साथ लिएर कैलाली ४ बाट भट्टसँग चुनाव लड्दैछन् । बलायर तत्कालिन निर्वाचन क्षेत्र डोटी १ बाट २०६४,२०७० को संविधानसभा निर्वाचन र त्यसपछि कायम भएको डोटीको १ मात्र प्रतिनिधि सभाको निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभाको निर्वाचन लडेका थिए । बलायरले २०७० को निर्वाचनमा विजय हासिल गरेका थिए भने २०६४ र ०७४ को निर्वाचनमा पराजय भोगेका थिए । उनी अहिले कैलाली ४ बाट चौथो पटक निर्वाचनमा भिड्दैछन् ।

भट्ट माओवादी पृष्ठभूमिबाट आएका नेता हुन । भट्टले पनि चौथो पटक निर्वाचन लडिसकेका छन् । २०६४,०७० र २०७४ गरी ३ पटक निर्वाचनमा होमिएका उनले २०६४ को संविधान सभा र २०७४ को प्रतिनिधि सभा निर्वाचन जितेका थिए । भट्ट गत निर्वाचनमा बाम गठबन्धनबाट माओवादी केन्द्रबाट सोही क्षेत्रबाट प्रतिनिधि सभामा विजयी भएका थिए । उनले नेकपा विभाजन हुँदा एमाले रोजेका थिए ।


सो निर्वाचन क्षेत्रमा जिल्लाको गोदावरी नगरपालिकाका १२ वडा,गौरीगंगा नगरपालिकाका ११ वडा,चुरे गाउँपालिकाका ६ वडा र मोहन्याल गाउँपालिकाको १ वडा गरी ३० वटा वडा रहेका छन् । जसमा स्थानीय तहको निर्वाचन २०७९ मा नेपाली कांग्रेसले १५,नेकपा एमालले ९,नेकपा (माओवादी केन्द्र)ले ४, नेकपा एकीकृत समाजवादीले १ र स्वतन्त्रले १ वडा जितेका छन् ।

स्थानीय तहको निर्वाचनमा वडाअध्यक्षका उम्मेदवारहरुले प्राप्त गरेको मतपरिणाम हेर्दा सो क्षेत्रमा नेपाली कांग्रेसले २२ हजार ९९७ मत,नेकपा एमालेले २० हजार ८१ मत,नेकपा माओवादी केन्द्रले १० हजार १२३ मत,नेकपा एकीकृत समाजवादीले ४ हजार २९ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ हजार २०८ मत प्राप्त गरेको छ । दुई चर्चित पूर्वमन्त्रीमध्ये कसले बाजी मार्छन त्यो त निर्वाचनपछिको परिणामले बताउला ।

प्रतिक्रिया