महिला दश हजार मिटर दौडमा सन्तोषीको स्वर्ण

पोखरा । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्तगत महिला दश हजार मिटर दौड प्रतियोगितामा वागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छन् ।

पोखरा रङ्गशालामा आज भएको खेलमा सन्तोषीले नेपाल पुलिस क्लबकी राजपुरा पछाइलाई पाखा लगाउँदै स्वर्ण जितेकी हुन् । सन्तोषीले निर्धारित दूरी ३६ मिनेट १२ दशमलव ३६ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितिन् ।

राजपुराले उक्त दूरी ३६ मिनेट २९ दशमलव ४५ सेकेन्ड समय खर्चदै दोस्रो स्थानमा रहिन् । सोही प्रतिस्पर्धामा सशस्त्र प्रहरी बल (एपिएफ) की पुस्पा भण्डारी तेस्रो भइन् । पुस्पाले ३७ मिनेट ०४ दशमलव २ सेकेन्ड समय खर्चदै तेस्रो स्थानमा रहिन् ।

सन्तोषीले यसअघि सन् २०१९ मा नेपालमा नै भएको तेह्रौँ दक्षिण एशियाली खेलकुद प्रतियोगितामा पनि स्वर्ण पदक जितेकी थिइन् । त्यतिबेला उनले भारतकी खेलाडीलाई पराजित गर्दै नेपाललाई स्वर्ण पदक दिलाएकी थिइन् ।

सन्तोषी सागको एथलेटिक्स खेलमा स्वर्ण पदक दिलाउने पहिलो महिला खेलाडीसमेत हुन् ।
खेलपछि सन्तोषीले राष्टिय किर्तिमान कायम गर्नुभन्दा पनि मेडलको लागि मात्र खेलेको बताइन् ।

उनले आर्मी म्याराथनबाट घाइते भएदेखि राम्रो खेल प्रर्दशन गर्न नसकेको र किर्तिमान तोड्न गाह्रो भएकोसमेत बताइन् । शारीरिक भन्दा पनि मानसिक रुपमा दृढ भएर स्वर्ण जित्न सफल भएकोमा आफू सन्तुष्ट रहेको उल्लेख गरिन् ।

प्रतिक्रिया