हिउँमा पुरिएर ४५ खच्चड मरे

म्याग्दी । म्याग्दीस्थित धौलागिरि हिमालको आधार शिविरमा हिउँले पुरिएर ४५ घोडाखच्चड मरेका छन् । विश्वको सातौँ (८,१६७) मिटर अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ ।

आरोही र पर्यटकका सामग्री ढुवानी गर्न खच्चड लिएर आधार शिविरमा पुगेका मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फाका नौ जनाको उद्धार भएको छ । थमसेर्कु ट्रेकिङ कम्पनीले सामान ढुवानी गर्न लगेका १७ र सांग्रिला टे«किङ कम्पनीको सामान लिन गएका २८ खच्चड मरेका हुन् ।

मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फाका माइकल परियार, किरन परियार, सन्तोष तामाङ र धनराम तामाङलाई हेलिकोप्टरले मंगलबार ताकममा ल्याएर छाडेको छ । बुद्धि, प्रकाश, कुमार, वीरबहादुर र सुकलाल परियारलाई धवलागिरि आधार शिविरबाट उद्धार गरेर ताकममा ल्याइएको उद्धार गरिएका खच्चड माइकल परियारले बताए ।

‘असोज १७ गते मार्फाबाट हिँडेर आधार शिवरमा पुगेर आरोहीका सामान लिएर फर्कने क्रममा बर्सात र हिमपात भएपछि हिउँमा फसेर सम्पर्कविहीन भयौँ’, उनले भने, ‘हामी पनि चार दिन ठाटीमा भोकै बस्यौँ । खान नपाएर र चिसोले गर्दा खच्चड मरेका हुन् ।’

चार जना पर्यटक पथप्रदर्शकलाई अल्टिच्युड एयरको हेलिकप्टरले उद्धार गरेर पोखरा लगेको छ । उद्धारमा समन्वय गरेका म्याग्दीका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले लगातारको झरी, हिमपात र प्रतिकूल मौसमका कारण उद्धारमा ढिलाइ भएको बताए ।

प्रतिक्रिया