बझाङ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारहरूले मनोनयन फिर्ता लिएका छन् ।
प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ उम्मेदवारी दिएका उम्मेदवारहरुले मुख्य निर्वाचनको कार्यालयमा गएर उम्मेदवारी फिर्ता लिएका हुन् ।
प्रतिनिधिसभातर्फ उम्मेदवारी दिएका नेपाली कांग्रेसका पूर्व पार्टी सभापति हर्कजङ बहादुर सिंह र नेकपा माओवादी केन्द्रका लोकेन्द्र सिंह धामी (निर्मल) ले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
यस्तै, प्रदेशसभा निर्वाचन क्षेत्र नं. (क) का लागि स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका जगतप्रशाद जोशी, नेकपा माओवादी केन्द्रका जयभक्त जोशी र अर्का उम्मेदवार भीमबहादुर खड्काले पनि उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बझाङले जनाएको छ ।
प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारहरुले पार्टीको अनुशासन पार्टीका नेताले गरेको अनुरोध र पार्टीको निर्णयलाई सम्मान गर्दै आफूले उम्मेदवारी फिर्ता लिएको बताए ।
बझाङ
प्रतिक्रिया