लगातारको वर्षाले बाँके प्रभावित

बाँके । लगातारको वर्षाका कारण बाँके जिल्ला प्रभावित भएको छ । चार दिन लगातार परेका वर्षाका कारण जिल्लाका सबै पालिका प्रभावित भएका छन् । वर्षाका कारण बाँकेका नरैनापुर, राप्ती सोनारी, डुडुवा लगायतका पालिका धेरै प्रभावित भए । भने नेपालगञ्ज, कोहलपुरसहितका पालिकामा समेत डुबान परेको छ ।

वर्षाका कारण सबैभन्दा धेरै नरैनापुर गाउँपालिका प्रभावित भएको छ । त्यहाँका ६ वटै वडा वर्षाका कारण प्रभावित भएको गाउँपालिकाले जनाएको छ । समथल भूमि रहेको नरैनापुरमा दुई सयभन्दा बढी घरपरिवार डुबानमा परेका हुन् । ती घरहरूमा पूर्ण रूपमा क्षति पुगेको पनि गाउँपालिकाले जनाएको छ । गाउँपालिका विपत् शाखा प्रमुख तथा सूचना अधिकारी लक्ष्मीकान्त मिश्राका अनुसार गाँउपालिकामा दुई सय घरमा पूर्णरूपमा क्षति पुगेको छ भने हजारभन्दा बढी स्थानीय बासिन्दा प्रत्यक्षरूपमा प्रभावित भएका छन् ।

वर्षाले नरैनापुरको वडा–१, २, ३, ४, ५ र ६ का अधिकांश गाउँमा राप्ती नदीमा आएको बाढी पस्दा स्थानीयवासी प्रभावित भएको उनले बताए । ६ वटै वडाका अधिकांश गाउँ जलमग्न भई केहीको घरमा समेत पानी पसेको उनको भनाइ छ । गाउँपालिकाको वडा–१ बनिया गाउँ, २ को रोशनपुरवा, महतिनिया, ३ को बहावपुरवा, गिगली, रतैया, कोटिया, कोदीपुर र पचपेडवा, वडा–४ को नरैनापुर, घोडदौरिया, पंडितपुरवा, वडा–५ को जमुनहा, ६ को दोँदरा, बिगालगायतका गाउँका अधिकांश घरमा पानी पसेपछि जनजीवन अस्तव्यस्त बनेको र राहत उद्धारको कार्य जारी रहेको उनले बताए ।
यस्तै अविरल वर्षाका कारण राप्ती नदीमा आएको बाढीले बाँके डुडुवा गाउँपालिका–१ को चौफेरी गाउँका ७५ घरपरिवारलाई स्थानान्तरण गरिएको छ । वर्षाले नदीमा आएको बाढीले गाउँ पूरै डुबानमा परेर घरभित्रसमेत पानी पसेपछि गाउँ नजिकै रहेको आश्रयस्थलमा सारिएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए ।

उनका अनुसार बाढीले गाउँ नै डुबानमा परेपछि रेडक्रसकर्मी, प्रहरीसहितको टोलीले स्थानीयवासीलाई उद्धार गरी आश्रयस्थलमा राखेको हो । बाँकेका लल्लो तटीय क्षेत्रका करिब तीन सय घर डुबानमा परेका छन् भने दर्जनौँ घरमा क्षति पुगेको छ । वर्षाले राप्ती नदीमा आएको बाढीले बाँके डुडुवा गाउँपालिका–१ अन्तर्गत पर्ने चौफेरी, कृषि चौफेरी र पाझा गाउँका तीन सय घर डुबानमा परेका छन् ।

बाढीले घरभित्र पानी पसेर राखिएको अन्नपात लत्ताकपडा भिजेर क्षति पु¥याएको स्थानीयवासी गणेश गुप्ताले बताए । राप्ती नदी र खोलाको बीचमा रहेका ती गाउँवासी त्रस्त छन् । घरभित्र पानी पसेपछि गाउँपालिकाले निर्माण गरेको आश्रयस्थलमा राखिएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।

प्रतिक्रिया