गायक प्रमोद पाण्डेको निधन

काठमाडौं । गायक प्रमोद पाण्डेको निधन भएको छ । मस्तिष्क क्यान्सरबाट पीडित पाण्डेको उपचारका क्रममा निधन भएको हो । २०२० साल माघ १० गते काठमाडौंको भुरुङखेलमा जन्मिएका पाण्डेका थुप्रै गीत लोकप्रिय छन् । गायक पाण्डेले २०३९ सालदेखि रेडियो नेपालमा गीत गाउन शुरु गरेका थिए । उनका धेरै आधुनिक गीत, युगलगीत र भजनहरु रेकर्ड भएका गायक सूर्य थुलुङले जानकारी दिएका छन् ।

‘जिन्दगीले कहाँ ल्याई पुर्‍यायो’, कुन्ति मोक्तानसँग युगल गीत ‘आँखामै राखेर’, प्रेम खड्कासँग गाएको ‘डालीमा डाली नाचेर हिँड्ने’ बोलको गीत लोकप्रिय छन् । उनले मधुमास बोलको एल्बम पनि निकालेका थिए । उक्त एल्बममा समावेश अन्जु पन्तसँग गाएको ‘त्यो मनमा फूलेको पिरतीको फूल कसको हो ?’ बोलको गीत स्रोताहरुले धेरै रुचाएको गीतमध्येमा पर्दछ ।

चलचित्र निर्देशक दयाराम दाहालको शब्द र संगीतमा उनले ‘बिर्सन खोज्छु तिमीलाई’ बोलको गीत पनि रेकर्ड गराएका थिए । पाण्डेका श्रीमती, एक छोरा र एक छोरी छन् ।

प्रतिक्रिया