बहुउद्देश्यीय कर्भडहल सञ्चालनको तयारीमा

बागलुङ । जननेता मदन भण्डारीका नाममा यहाँ उद्यान, पदमार्ग र कर्भडहल निर्माण गरिएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमीले बागलुङ नगरपालिका–३ चिप्लेटीमा निर्माण गरेको बहुउद्देश्यीय कर्भडहल सञ्चालनको तयारीमा छ ।

निर्माण समितिका अध्यक्ष लोकेन्द्र केसीले भुइँमा प्लाइ बिछ्याउने र रङरोगनको काम भइरहेको बताए । ‘मुख्य संरचना त गत वर्ष नै तयार भएको हो, छिटपुट कामले गर्दा सञ्चालनमा केही ढिलाइ भयो’, उनले भने । युवा तथा खेलकुद मन्त्रालयको रु ३० लाख र बागलुङ नगरपालिकाको रु पाँच लाख बजेटबाट कर्भडहल बनेको हो । कर्भडहलका लागि जग्गा पनि नगरपालिकाले नै उपलब्ध गराएको थियो । कर्भडहल मुख्यरुपमा ब्याडमिन्टन खेललाई लक्ष्य गरी निर्माण गरिएको एकेडेमीका अध्यक्ष कृष्ण कार्कीले बताए ।

आवश्यकता पर्दा तेक्वान्दो, करातेजस्ता खेलका लागि पनि कर्भडहलको प्रयोग गर्न सकिने उनको भनाइ छ । खेलकुद गतिविधिसहित अन्य सामाजिक कार्यमासमेत उपयोग हुने गरी कर्भडहल निर्माण गरिएको एकेडेमीले जनाएको छ । फलामको ट्रस प्रविधिबाट कर्भडहल बनाइएको हो । नयाँ खेलाडी उत्पादनसँगै खेल गतिविधिको प्रवद्र्धनका लागि कभर्डहलले टेवा पुग्ने विश्वास लिइएको छ ।

सामाजिक हितका काममासमेत प्रयोग गर्न सकिने गरी बहुउद्देश्यीय कर्भडहल बनेपछि स्थानीयवासी पनि खुसी छन् । खेल पूर्वाधारमा राज्यले गरेको लगानी खेर नजाने गरी कर्भडहलको सही सदुपयोग हुनुपर्ने उनीहरुको भनाइ छ ।

काठेखोला गाउँपालिका–७ रेशमा पनि जननेता भण्डारीको स्मृतिमा उद्यान र पदमार्ग निर्माण गरिएको छ । ती संरचनाले वडामा पर्यटकीय आकर्षण थपेका छन् । वडाको आफ्नै लगानीमा रेशको डोटादेउरालीमा ‘मदन स्मृति उद्यान’ निर्माण गरिएको वडाध्यक्ष प्रेम लामिछानेले बताए ।

उद्यानमा वडाको रु छ लाख लगानी परेको उहाँको भनाइ छ । उद्यानमा पानीको फोहोरा, बगैँचा, पिङ, प्रतीक्षालय, प्रवेशद्वारलगायतका संरचना बनेका छन् । “उद्यान क्षेत्रलाई अझै विस्तार गर्ने योजना छ, अरु पर्यटकीय पूर्वाधार पनि थप्दैछौँ”, वडाध्यक्ष लामिछानेले भन्नुभयो, ‘उद्यान बनेपछि वडामा नयाँ गन्तव्यस्थल थपिएको छ, मानिस घुमफिरका लागि आउन थालेका छन्, गाउँको सौन्दर्य पनि बढेको छ ।’

सङ्घ र प्रदेश सरकारको लगानीमा रेशको नुन्थलादेखि पर्यटकीय लेक गाजासम्म जोड्ने पदमार्गलाई पनि ‘मदन पदमार्ग’ को नाम दिइएको छ । झण्डै २५ लाखको बजेटमा चार किमी दूरीको उक्त पदमार्ग बनेको वडाध्यक्ष लामिछानेले जानकारी दिए ।

पदमार्ग बनेपछि रेश हुँदै गाजाको लेक र दह पुग्ने पर्यटकको आउजाउ सहज भएको छ । सो पदमार्गबाट ओहोरदोहोर गर्ने स्थानीयलाई पनि सुविधा पुगेको छ । जननेता भण्डारीकै नाममा काठेखोला–९ कादेशको भित्रीवनमा पनि उद्यान निर्माण भइरहेको छ । पौडीपोखरीसहितको उद्यानका लागि प्रदेश सरकारसँग मिलेर वडाले काम गरिरहेको छ । नेकपा (एमाले)का तत्कालीन महासचिवसमेत रहेका जननेता भण्डारीको स्मृतिमा अन्यत्र पनि पर्यटकीय पूर्वाधार बनेका छन् ।

झण्डै दुई दशकअघि बागलुङ– १ रामरेखामा ‘मदन–आश्रित स्मृति उद्यान’ निर्माण गरिएको थियो । संरक्षण र रेखदेख नहुँदा सो उद्यान केही समय अलपत्र परेको थियो । सञ्चारमाध्यम र स्थानीयले आवाज उठाएपछि उद्यान पुनःनिर्माण र संरक्षणको काम अघि बढेको छ ।

उद्यानमा पूर्वाधार थप्न र सौन्दर्यीकरण गर्नसके आकर्षक गन्तव्यस्थलका रुपमा विकास गर्न सकिने सम्भावना छ । रामरेखा सामुदायिक वनको झण्डै तीन रोपनी जग्गामा उद्यान फैलिएको छ । उद्यान सदरमुकाम छिर्ने मुख्य सडक छेउ अवस्थित छ ।

पहिले पहिले बागलुङ एमालेले सोही उद्यानमा जननेता भण्डारीको जन्मजयन्ती र स्मृति दिवस मनाउने गथ्र्यो । पछिल्ला वर्षमा भने त्यसले निरन्तरता पाउन सकेन । जननेतासँगै अरु लोकप्रिय नेताकासमेत स्मृतिमा यहाँ विभिन्न पर्यटकीय संरचना निर्माण गरिएका छन् । रासस

प्रतिक्रिया