भारतले निर्माण गरेको लडाकु हेलिकोप्टरको नाम ‘प्रचण्ड’

काठमाडौं । भारतले हालै निर्माण गरेको हलुका लडाकु हेलिकोप्टरको नाम ‘प्रचण्ड’ राखेको छ । हिन्दुस्तान एयरोनोटिक्स लिमिटेड (एचएएल)ले निर्माण गरेको हेलिकोप्टरमा ४५ प्रतिशत सामान स्वदेशकै प्रयोग गरिएको बताइएको छ । सोमबार उक्त हेलिकोप्टरको भिडियो ट्विटरमा राख्दै गर्दै भारतीय रक्षामन्त्री राजनाथ सिंहले लेखेका छन्– ‘नाम हो प्रचण्ड।’ यो हेलिकोप्टरले स्थल र वायु सेना दुवैको आवश्यकता पूर्ति गर्ने रक्षामन्त्री सिंहले बताएका छन् ।

दुई इन्जिनयुक्त उक्त हेलिकोप्टरलाई सोमबार नै औपचारिक रुपमा भारतीय वायु सेनामा सामेल गरिएको छ । यस्ता थप ६ वटा हेलिकोप्टर आगामी सन् २०२३ को ३१ मार्चसम्म भारतीय वायु सेनालाई उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

भारतीय वायु सेनाका अध्यक्ष एयर चिफ मार्शल विवेक राम चौधरीले उक्त हेलिकोप्टर अन्तर्राष्ट्रिय स्तरमा उपलब्ध लडाकु हेलिकोप्टर सरह रहेको बताएका छन् । यो हेलिकोप्टरमा प्रयोग गरिएको एलसीएच विश्वकै उत्कृष्ट लडाकु उडान उपकरणमध्येमा गनिने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । यो हेलिकोप्टरले अत्याधुनिक हतियार र इन्धनको भारसहित ५ हजार मिटर (करिब १६ हजार ४०० फिट) को उचाइसम्म उडान भर्न सक्छ ।

हेलिकोप्टर हरेक मौसममा २४सै घण्टा उद्धार वा कारबाहीका लागि प्रयोग गर्न सकिने बताइएको छ। उच्च गर्मी, उच्च जाडो, उच्च स्थान, होचो भाग र अन्धकारमा पनि यो हेलिकोप्टरलाई उपयोग गर्न सकिने बीबीसी हिन्दीले लेखेको छ ।

प्रतिक्रिया