सत्ता गठबन्धनबीचको छलफल सोमबार पनि निष्कर्षबिहीन


काठमाडौं। झण्डै दुई महिनादेखि जारी सत्ता गठबन्धनको बैठक सोमबार पनि निष्कर्षबिहीन भएको छ। प्रधामन्त्री निवास बालुटारमा सोमबार बिहान देखि सांझ अबेर सम्म भएको सो छलफल कुनै निष्कर्ष न निस्केको माओवादी नेता देव गुरुङले बताए। उनले दशैंको टीकाको दिन सम्ममा छलफल गरेर तालमेलका लागि सहमतिको प्रयास गर्ने उनले बताए।
तालमेलका लागि धेरै कुरा मिलिसकेको बताइएपनि अहिले सम्म त्यसको औपचारिक खाका आउन सकेको छैन।

सिट बाँडफाँटको टुङ्गो लगाउन आइतबार पनि पाँच दलीय गठबन्धनको बैठक बसेको थियो। तर सहमति हुन सकेको छैन। यस बिषमा सोमबार टुंगो लाग्न सक्ने अनुमान गरिएको थियो। तर तालमेलका लागि केही सिटमा सहमति हुन नसकेकोले सहमति हुन नसकेको एक नेताले बताए।

बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूले सिट बाँडफाँटकै विषयमा छलफल गरेका थिए। । छलफलमा कार्यदलका सदस्य कृष्णप्रसाद सिटौला लगायतका केही सदस्य पनि सहभागि थिए।
दशै बिदा सकिए लगतै कात्तिक २३ गते प्रत्यक्ष तर्फका उम्मेदवारका मनोनयनको मिति तय भएकोले दलहरुको दशै ‘ चुनावी छलफल र चर्चाको गफमा’ बित्ने भएको छ।

यस अघि गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा)ले अन्य राजनीतिक दलहरूसँग पनि चुनावी तालमेल खुला गर्ने निर्णय यसअघि नै गरिसकेको छ। जसपाले सिट बाँडफाँटमा असन्तुष्टि जनाउदै अन्य दलहरु संग छलफल अगाडि बढाउन थालेपछि पांचदलीय गठबन्धन भित्रका दलहरु थप दबाबमा परेका छन् ।

प्रतिक्रिया