जनमत–संग्रहमा जीतपछि युक्रेनी भूमि रुसमा गाँभिदै

मस्को । रुसले आफूले कब्जामा लिएको युक्रेनी भूमिमा ‘जनमत संग्रह’ चुनाव सम्पन्न गराएको छ । चुनावले थप युक्रेनी भूमिलाई रुसमा विलय गराउने बाटो खुलाउने अपेक्षा छ । क्रेमलिन यी क्षेत्रलाई छिटोमा यही साताभित्र आफूमा गाभ्ने चेतावनी दिएको छ । मस्कोले यी भूमिलाई देखाएर युक्रेनले चलाइरहेको सफल प्रत्याक्रमण रोक्न ब्ल्याकमेलको प्रयास गर्ने विज्ञहरुले बताएका छन् ।

रुसले युक्रेनका चार क्षेत्रहरु डोनेट्स्क, लुहान्स्क, खेर्सन र जापोरिझियाका पूर्ण भाग वा आंशिक क्षेत्र कब्जामा लिएको थियो । तिनै भेगमा उसले ‘जनमत संग्रह’ सम्पन्न गरेको हो । मतदाताहरूलाई रूसी संघमा प्रवेश गर्ने वा नगर्ने दुईमध्ये एक विकल्प छान्न भनिएको थियो । युक्रेन पछिल्लो जनमतसंग्रहलाई बन्दुकको नाल देखाएर गरिएको मतदानको संज्ञा दिएको छ ।
पहिले अपेक्षा गरे अनुरुप नै मस्कोले जनमत संग्रह आफ्नो पक्षमा आएको बताएको छ । अब रूसी सरकारले यी चार क्षेत्रलाई सम्पूर्णतः आफूमा गाभ्ने तयारी सुरु गर्नेछ । यसमा ती क्षेत्रका हाल रूसी नियन्त्रणमा नभएको भूमि पनि समावेश छ ।

यक्रुेनले प्रत्याक्रमण सुरु गरेपछि पछिल्लो समय रुसले युद्ध–मैदानमा जमिन गुमाउन थालेको छ । यसबाट मस्कोले अपमानित महसुस गर्यो । पश्चिमी विश्लेषकहरूले रुसले थप जमिन गुमाउनबाट रोक्न विलयको प्रयास सुरु गरेको बताएको छ । रुसले यी भूमिलाई आफूमा विलय गराएपछि त्यस भेगको रक्षाको लागि ट्याक्टिकल आणविक आक्रमणसम्मको कदम उठाउन सक्ने प्रक्षेपण गर्न थालिएको छ ।

प्रतिक्रिया