सुध्रिँदै रुकुमपूर्वका व्यापारीहरू

रुकुमपूर्व । विगत एक हप्तादेखि जिल्लामा बजार अनुगमनलाई तीव्र पारिएको छ । दसैं, तिहारलाई लक्षित गरी जिल्ला प्रशासन, घरेलु कार्यालय र उद्योग वाणिज्य संघले संयुक्त बजार अनुगमनलाई तीव्र पारेका छन् । अहिलेसम्म जिल्ला सदरमुकाम रुकुमकोटसहित भूमे गाउँपालिकाको केन्द्र खाबाङबगर, महत, गुनाम र काक्रीमा बजार अनुगमन गरिएको छ ।

करिब एक हप्ताको अवधिमा विभिन्न प्रकृतिका ६२ पसल अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी एवं अनुगमन समितिका संयोजक हिरालाल आचार्यले जानकारी दिए । उनका अनुसार सदरमुकाम रुकुमकोटका ३२ र भूमे गाउँपालिकाका ३० वटा पसल अनुगमन गरिएको छ । भौगोलिक विकटताको कारण देखाउँदै पुथाउत्तरगंगा गाउँपालिकामा भने बजार अनुगमन गरिएको छैन ।
खाद्यान्न, मासु, किराना पसल, होटेल, तरकारी पसल, डेरी र मिठाइ पसलमा अनुगमन गरिएको छ । सिस्ने र भूमेमा गरिएको ६२ पसल अनुगमनबाट ३ हजार २ सय ८५ रुपैयाँ बराबरका म्याद गुज्रेका सामानहरू नष्ट गरिएको छ ।

यसले के देखाउँछ भन्ने जिल्लामा व्यापार व्यवसाय गर्दै आइरहेका व्यापारीहरू विगतको तुलनमा सुध्रिँदै गएका छन् । यही समयमा गएका वर्षमा बजार अनुगमन हुँदा लाखाँै रुपैयाँ सम्मका म्याद गुज्रेका सामग्रीहरू बरामत हुने गरेका थिए । तर यस वर्ष त्यस्तो पाइएन ।

अहिले जिल्लाका व्यवसायीहरू व्यवस्थित बन्दै गएको देखिएको छ । भर्खर सुरु गरेका केही व्यवसायीबाहेक अधिकांश व्यापारीहरूले व्यवसाय दर्ता तथा नवीकरण गरेर मात्र सञ्चालन गरेको, म्याद भएका सामान, मूल्य सूची राखेको र सरसफाइको अवस्था पनि सन्तोषजक रहेको आचार्यले बताए । ‘केही व्यवसायीले मापदण्ड नपु¥याएको हुँदा पु¥याउन अनुरोध गरेका छौँ’, आचार्यले भने, ‘उहाँहरूले भने बमोजिम गरे नगरेको पुनः अनुगमन गर्छौं ।’
बजार अनुगमन गर्दै जाँदा जिल्लामा घुम्ती गाडीले म्याद गुज्रिन लागेका सामान बिक्री वितरण गर्ने गरेको पनि भेटिएको छ । यहाँका उपभोक्ताले सामान खरिद गर्दा उत्पादन र उपभोग मिति नहेर्ने र व्यवसायीहरूले पनि यी कुराहरूको ख्याल नगर्दा घुम्ती गाडीहरूले यसको फाइदा उठाइरहेका अनुगमन टोलीले जनाएको छ । म्याद गुज्रिन थालेका सामान बिक्री वितरण गर्ने गाडीहरूलाई पनि कारबाहीको दायरामा ल्याएका छाँ ।

आचार्यले भने विगतका बजार अनुगमनमा म्याद गुज्रेका सामग्री धेरै मात्रामा फेला पर्ने गरेकोमा अहिले त्यस्तो देखिएन । बेलाबेलामा हुने बजार अनुगमनले व्यवसायीमा चेतनाको विकास भएको छ । चाडपर्वका बेला हुने मूल्यवृद्धि र कालो बजारीलाई नियन्त्रण गर्न बजार अनुगमनलाई थप सक्रिय बनाउने आचार्यको भनाइ छ ।

प्रतिक्रिया