नेपालीलाई विश्वकप फुटबल हेर्न महँगो पर्ने

काठमाडौं । सन् २०१८ को विश्वकप फुटबल हेर्न दर्शकले नेपालकै दुई वटा तथा विदेशका अन्य टेलिभिजनहरुमा पनि सजिलै पाएका थिए, त्यो पनि कुनै अतिरिक्त शुल्क नतिरी । नेपाल टेलिभिजन, कान्तिपुर टेलिभिजनबाहेक स्टार स्पोर्टस् र सोनी च्यालनमा विश्वकप हेरेका दर्शकले यसपटक ती च्यानलबाट विश्वकप हेर्न पाउने छैनन् । त्यसका लागि उनीहरुले अतिरिक्त शुल्क तिरेर छुट्टै च्यानलमा विश्वकप हेर्नुपर्नेछ ।

नेपालमा विश्वकप फुटबल प्रसारणको अनुमति लिएको मिडिया हबले यसपटक विज्ञापन र दर्शकबाट दोहोरो शुल्क उठाएर विश्वकप देखाउन लागेको हो । मिडिया हबले घाटा लाग्न लागेको भन्दै विश्वकप फुटबललाई ‘पे च्यानल’ बनाएर प्रसारण गर्न लागेको मिडिया हबका अध्यक्ष सोम धितालले बताए । उनले भने, ‘विज्ञापनबाट आशातीत रकम नउठेपछि हामीले दर्शकबाट पनि शुल्क उठाउने तयारी गरेका छौँ ।’

के यसपटक सामान्य अवस्थामा विश्वकप हेर्नै नपाउने गर्न खोजिएको हो भन्ने प्रश्नमा धितालले भने, ‘तपाईको घरमा टेलिभिजन हेर्ने जे माध्यम छ, त्यही माध्यमबाट तपाइले टेलिभिजन हेर्न पाउनुहुनेछ । फरक यत्ति हो कि यसपटक विश्वकप हेर्दा केही थोरै रकम तपाईले तिर्नुपर्नेछ ।’

नेपालमा प्रसारणको अधिकार पाएको मिडिया हबले यसपटक नेपालमा विश्वकपको संकेत प्रसारणका लागि टेरिटोरी लकसहितको एक्सक्लुसिभ अनुमति ल्याएको भन्दै त्यसै कारणले लाइसेन्स नै महँगो परेको जनाएको छ । धितालले भने, ‘विश्वकप हामीले धेरैपटक ल्याएका छौँ । पहिले निःशुल्क प्रसारण पनि गरेका थियौँ । तर यसपटक हामीले एक्सक्लुसिभ राइट लियौँ र त्यसको शुल्क अलि महँगो प¥यो । लगानी धेरै भएको कारण विज्ञापनले मात्रै हामीलाई थेग्न सकेन । विज्ञापनले थेगेको भए हामी दर्शकलाई पैसा किन तिराउने भनेर सित्तैमा गथ्र्यौँ, तर विज्ञापनको पैसाले मात्रै नपुगेका कारण दर्शकबाट पनि रकम उठाउने बाध्यतामा पुगेका छौँ ।’

प्रतिक्रिया