उपत्यकाबाट २२ लाख यात्रु बाहिरिने अनुमान

विगत दुई वर्षका दसैँको तुलनामा यस वर्षको दसैँमा दोब्बरभन्दा बढी यात्रुहरू राजधानी काठमाडौंबाट बाहिरिने अनुमान गरिएको छ । विगत पाँच वर्षको अवधिलाई हेर्ने हो भने आमनिर्वाचनका कारण ०७४ सालको दसैँमा करिब २८ लाख यात्रु बाहिरिएका थिए । ०७५ र ०७६ सालको दसैँमा करिब २० लाख यात्रु बाहिरिएका थिए । कोभिड महामारीका कारण ०७७ र ०७८ को दसैँमा करिब १० लाख यात्रु बाहिरिएका थिए ।

यसपटक कोभिड महामारीको जोखिम कम भएको र मंसिर ४ गतेका लागि आमनिर्वाचनको मिति तोकिएका कारण दसैँ मनाउन राजधानी काठमाडौं उपत्यकाबाट २२ लाख यात्रु बाहिरने अनुमान गरिएको छ । गत सोमबारसम्ममा तीन लाख यात्रु बाहिरिसकेका र १८ लाखले टिकट काटिसकेको नेपाल यातायात व्यवसायी महासंघले जनाएको छ । दसैँमा घर जान अग्रिम टिकट बुकिङ गर्नु नपर्ने छोटो दुरीका यात्रुहरूको संख्या काठमाडौं उपत्यकामा निकै ठूलो छ । बाग्मती प्रदेशका तथा गण्डकी प्रदेशका जिल्लाहरूबाट काठमाडौं उपत्यकामा बसोबास गर्नेहरूको संख्या सबैभन्दा धेरै छ । त्यसैले यस वर्षको दसैँमा कम्तिमा ३० लाखले उपत्यका छाड्ने अनुमान गर्न सकिन्छ ।

एक साताको अवधिमा एकै ठाउँबाट २२ लाख यात्रु बाहिरने भनेको निकै ठूलो संख्या हो । यसको व्यवस्थापन गर्न सहज छैन । पहिलो कुरा त यी यात्रुमध्ये करिब ८० प्रतिशत बाहिरिने भनेको पृथ्वीराजमार्गबाट हो । यति धेरै यात्रुको चाप थेग्नका लागि राजमार्गको व्यवस्थापनमा निकै ध्यान दिनुपर्नेछ । सडकका खाल्डाखुल्डी र पहिरोको समस्या यथावत छ । मर्मत तथा विस्तारका नाममा पनि कुनै कुनै ठाउँमा सडक भत्काइएको छ । पा“च मिनेट मात्रै सडक अवरुद्ध भयो भने पाँच घण्टासम्म सवारी जाम हुने गरेको विगतका दसैँमा देखिएकै छ ।

यसैगरी गत वर्ष तीन हजार बसको व्यवस्था गरिएकोमा यसपटक आठ हजार बसको व्यवस्था गरिएको यातायात व्यवसायी महासंघले जनाएको छ । तर, विगत दुई वर्षदेखि नयाँ बस खासै आयात गरिएको छैन । पुराना र थोत्रा भइसकेका बसका कारण यसपटक पनि दुर्घटना निम्तिने हो कि ? भन्ने डर त्रास जीवितै छ । त्यसैले सवारी साधनको चेक जाँचमा सरकारले विशेष ध्यान दिनुपर्छ । राजमार्ग आसपासमा बासी सडेगलेका खाने कुरा बेच्ने, मूल्य अत्यधिक चर्को लिने समस्या अघिपछि पनि देखिएकै हो । दसैँका बेला यात्रुको चाप अघिपछिभन्दा २० गुणा बढ्ने भएकोले खाजा नास्ता तथा खानामा यात्रुहरूलाई पर्ने मारका सन्दर्भमा विशेष ध्यान दिनु जरुरी छ । यात्रुहरूले पनि सकेसम्म आफ्नो घरबाटै खाना बनाएर लैजाने विषयमा सरकारले सुसूचित गराउनु जरुरी छ ।

हाम्रो मुलुकको सडक यातायात व्यवसाय पुरै निजी क्षेत्रको जिम्मामा छ । निजी क्षेत्रले सेवाका लागि नभएर नाफाका लागि व्यवसाय सञ्चालन गरेको हो । दसैँमा हुने यात्रुको चाप यातायात व्यवसायका लागि निकै ठूलो अवसर हो । बढी नाफा कमाउने नाममा बढी भाडा लिने विकृति हरेक दसैँमा देखिने गरेको छ । यसै पनि गत वर्षको दसैँको बेलामा भन्दा यस वर्षको दसैँका बेला करिब ६० प्रतिशत भाडा वृद्धि भइसकेको छ । यात्रुको चाप अत्यधिक भएका कारण टिकटमा कालोबजारी पनि त्यतिकै देखिएको छ । टिकट नकाट्ने यात्रुहरूलाई त खुलेआम बार्गेनिङ गरेर दोब्बर तेब्बर भाडा असुली गर्ने चलन नयाँ होइन । व्यापारीहरूले जसरी पनि मुनाफा खाएरै छाड्छन् ।

पेट्रोलियम पदार्थको मूल्यले आकाश छोएका बेला वृद्धि गरिएको भाडादर हो यो । पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्य यतिबेला एक वर्ष अघिकै हाराहारीमा आइसकेको छ । यो बेला सरकारले पेट्रोलियम पदार्थको मूल्य पनि एक वर्ष अघिकै कायम गरिदिने हो भने यातायात व्यवसायीहरूले यात्रु ठग्ने, यात्रु कोच्ने विकृति केही हदसम्म घट्न सक्छ । तर, अनुगमन भने जरुरी छ । राष्ट्रिय राजमार्गमा भन्दा पनि शाखा मार्ग तथा ग्रामीण क्षेत्रका कच्ची सडकहरूमा कहालीलाग्दो रूपमा भाडा असुल्ने गरिएको छ ।

प्रतिक्रिया