कागती खेतीमा भविष्य खोज्दै युवा

ढोरपाटन । ‘विदेश गएर हन्डर खाइयो, अहिले आफ्नै गाउँ प्यारो लाग्छ, यही माटो प्यारो लाग्छ, कागती खेतीले मलाई सन्तुष्टि दिएको छ, परिवार पाल्न सकिएको छ’ बागलुङ निसीखोला गाउँपालिका–६ का धर्मराज पोखरेल भने । उनले पाँच वर्षदेखि व्यावसायिक कागती खेती गर्दै आएका छन् । करिब २४ वर्ष विदेशमा संघर्र्ष गरेका उनले कागतीसँगै अन्य फलफूल पनि खेती गर्दै आएका छन् ।

पाँच वर्ष अगाडि स्थानीय जातका डेढ सय कागतीका बिरुवा लगाए उनले । ती बिरुवाले अघिल्लो वर्षदेखिनै फल दिन थालेका छन् । दुई वर्ष अगाडि लगाएका उन्नत जातको कागतीले पनि यस वर्षदेखि फल दिन थालेपछि पोखरेलको अनुहारमा खुसी छाएको छ । उनले भने, ‘कागती बहुउपयोगी रैछ भन्ने विदेश गएर चिनियो, पहिले यहाँ हुँदा खास्सै वास्ता गरिएन, विदेशबाट आएर मैले डेढ सय कागती लगाए अहिले फल दिन थालेका छन्, नयाँ जातका चार सय पचास बिरुवा दुई वर्ष अगाडि रोपेको तिनीहरू पनि फल्न थाले, अब आम्दानीको मेसो सुरु भयो ।’

२३ वर्ष भारत र २२ महिना कतारमा बिताएका ४८ वर्षीय किसान पोखरेलले १५ रोपनी बारीमा कागती खती गरेका छन् । कागतीसँगै सुन्तला, हलुवाबेद, टिमुरलगायतका फलफूल छन् उनको बारीमा । अघिल्लो वर्ष एक लाखको कागती बिक्री गरेका पोखरेलले यस वर्ष दुई लाख बढी आम्दानी गर्ने बताए । ‘अघिल्लो वर्ष कागतीको सिजन रैनछ, कम बोटले मात्रै फल दिएको हुँदा आम्दानी पनि कम भयो, यसपालि कागती निकै राम्रो फलेको छ, दुई बढीको बिक्री गर्ने अनुमान गरेको छु ।’

कागतीसँगै यस वर्ष सुन्तला पनि राम्रो उत्पादन भएको उनले सुनाए । फल दिने सुन्तलाका बोट कम भएको हुँदा एक लाखसम्मको बिक्री गर्नसक्ने पोखरेले सुनाए । गत वर्षको तुलनामा यस वर्ष कागती, सुन्तलासँगै टिमुर पनि बढी उत्पादन भएकाले ५० हजार रुपैयाँ बराबरको टिमुर बिक्री गर्ने उनले सुनाए । कागतीले राम्रो उत्पादन दिन थालेपछि पोखरेलाई बजारको समस्या भएको छ ।

‘गत वर्षसम्म बजारको कत्ति पनि समस्या थिएन, यस वर्ष कागती सुन्तला लटरम्म फलेका छन्, साँघुरो बजार छ, कहाँ लगेर बच्ने भन्ने पिर छ, बजार अभाव छ, थोक व्यापारी आउँदैनन्, खुद्रा व्यापारले उत्पादन खेर जाने देख्छु,’ उनले भने, ‘कागती मात्रै भए पनि हुन्थ्यो, अहिले त सुन्तला र टिमुर पनि थपिएको छ, कहाँ लगेर बेच्ने हो ?, गाह्रो पर्ला जस्तो लागेको छ ।’ कागतीसँगै यसबाट बनेको काँचो तथा पकाएको चुक समेत बजारमा पठाउने गर्दै आएका छन् उनले । चुक (कागती)को रस खासगरी तराईमा बढी बिक्री हुने गरेको उनले सुनाए ।

निसीखोला गाउँपालिका–६ का ३७ वर्षीय लोकबहादुर कुँवरले पनि कागती खेतीबाट राम्रो आम्दानी गर्दै आएका छन् । सात वर्षदेखि निरन्तर कागती खेती गर्दै आएका उनी यस वर्ष चार लाख बढीको कागती बेच्ने सोचमा छन् । आठ सय कागतीका बोटमध्ये झण्डै पाँच सय बोटले फल दिन थालेको उनले सुनाए ।

‘यस वर्ष सबै बिरुवाले फल दिन सकेनन्, अर्को वर्ष करिब छ सय बिरुवाले फल दिने अनुमान गरेको छु, यो वर्ष चार लाख आम्दानी हुने अनुमान गरेको छु, अर्को साल सिजन राम्रो भयो भने छ लाख त न्यूनतम पनि आम्दानी हुन्छ,’ उनले भने, ‘मेरो बारीमा दुई जातका कागती छन्, एउटा जातको कागतीले बाह्रै महिना फल दिन्छ, अर्कोले वर्षमा दुई पटकसम्म फल दिन्छ, यसले गर्दा वर्षभरि थोरै भए पनि आम्दानी हुने अपेक्षा गरेको छु ।’
कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले बागलुङमा पछिल्लो समय कागती खेतीमा लाग्ने कृषक बढेको बताए । उनका अनुसार अहिले जिल्लामा दुई सय १० जना कृषकले व्यावसायिकरुपमा कागती खेती गरिरहेको छन् । बागलुङको माथिल्लो भेगबाहेक धेरै ठाउँमा कागती खेती गर्नका उपयुक्त हुने उनले सुनाए ।

काठमाडौं । युवा नेता, उद्यमी तथा सामाजिक अभियन्ताको परिचय बनाएका दिवंगत उज्वल थापाको किताब ‘ह्वाइ नेपाल’ प्रकाशन हुने भएको छ । थापाले आफ्नै जीवनकालमा तयार पारेको किताब सम्पादनपछि प्रकाशन गर्न लागिएको प्रकाशन संस्था यात्रा पब्लिसिङ हाउसले जानकारी गराएको हो ।

‘राजनीति, उद्यम र समृद्ध नेपालको परिकल्पनामाथि थापाले जीवनको पछिल्लो कालखण्डमा गरेको श्रृंखलाबद्ध लेखनलाई किताबको स्वरूपमा प्रकाशन गर्न लागिएको हो,’ यात्रा पब्लिसिङ हाउसका अध्यक्ष ऋषिराम अधिकारीले भने, ‘किताबलाई उनले नै अन्तिम स्वरूप दिएका थिए । तर, सम्पादन जारी रहँदै उनको कोभिड संक्रमण भएर निधन भयो । हामीले सम्पादन प्रक्रिया सकेर किताब प्रकाशन गर्न लागेका हौं ।’

नेपालको उज्वल भविष्यप्रति विश्वस्त थापाले त्यसलाई विभिन्न आयामबाट गरेको विश्लेषण किताबमा पढ्न पाइने अधिकारीले बताए । उनका अनुसार किताबमा नेपाली राजनीति, उद्यम र भविष्यको सपनाबारे सरल भाषामा पढ्न पाइनेछ । किताबमा थापाको विचार र अनुभवका साथै उनकै जीवन कथासमेत समेटिएको छ । ‘यो किताब उज्वलको सपनाको लेख्य रूपान्तरण हो । त्यसैले उनी आफैंले यो किताबको प्रस्तुतिकरण र भाषामाथि प्रशस्तै काम गरेका थिए’, उज्वल थापा फाउन्डेसनकी अध्यक्ष तथा थापापत्नी एरिका अधिकारीले भनिन्, ‘यो किताब उज्वललाई व्यक्तिगत रूपमा चिन्नमात्रै होइन, उनको विचार र उनले परिकल्पना गरेको नेपाललाई समेत गहिरोगरी चिन्न मद्दत पुग्नेछ ।’

पुस्तकमा थापाले गरेका स्केचहरूसमेत समेटिएको छ । जसमा नेपाली राजनीति र समाजबारे कलात्मक र व्यंग्यात्मक अभिव्यक्ति रहेको यात्रा पब्लिसिङ हाउसका प्रमुख कार्यकारी अधिकृत सुवास अर्यालले बताए ।

उनका अनुसार किताबमा थापाले आफ्नै जीवनको सफलता र असफलताका कथासमेत रोचक रूपमा प्रस्तुत गरेका छन् । जसमा उनले आफूले गरेका यात्राका कथा र त्यस आधारमा गरिएको नेपाली समाजको विश्लेषणसमेत समेटिएको छ । किताबमा नेपालको राजनीति र नेतृत्वको चरित्र, उद्यमशिलताको वर्तमान अवस्था र भविष्यको सम्भावना, नेपाललाई रूपान्तरण गर्नका लागि हरेक नागरिकले सुरु गर्नुपर्ने परिवर्तनको अभियान आदिबारे विभिन्न उपशीर्षकमा व्याख्या गरिएको छ ।

प्रतिक्रिया