पढाइ छोड्नु रहर होइन बाध्यता थियो ‘अहिले खुसी छौँ’

कालिकोट । आर्थिक अभावका कारणले बालबालिकाहरू नियमित विद्यालय जान सक्दैनन् । घरपरिवारमा देखिने अनेकौँ समस्या । समस्यापछिको समाधान खोज्न घरिपरिवारलाई सघाउनुपर्ने । साथीहरू विद्यालय गएको हेर्दै गर्दा घरको कामकाजमा व्यस्त हुनुपर्ने विभिन्न समस्याहरूले विद्यालय बाहिर रहेको नरहरिनाथ गाउँपालिकास्थित किशोरी समूहले बताएको छ । विगतका दिनमा विद्यालय बाहिर रहे पनि हाल नियमित विद्यालय जाने गरेको उनीहरूको भनाइ छ ।


नरहरिनाथ गाउँपालिका–३ कि जुनिता विश्वकर्मा उमेरले १४ वर्षकी भइन् । उनी वडा–३ स्थित रमा माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत छात्रा हुन् । गरिब घरपरिवारमा जन्म लिएकी जुनिताको राम्रो बोर्डिङमा पढ्ने, पढेर जागरि खाने, घरपरिवारलाई सहयोग गर्ने ठुलो सपना भए पनि पूरा गर्न नसकेको उनको भनाइ छ ।

घरको आँगन क्षेत्रमा बसेर उनले पढ्दै गर्दा सिओसी क्लासलाई र विद्यालयका शिक्षकहरूलाई उनले सम्झिन्छन् । आर्थिक अभावका कारण विद्यालय जान नसक्ने अवस्था विगतमा दिनमा थियो भने हाल किशोरी समूह, सिओसी क्लाससँगै बालक्लबमा आवद्ध हँुदा विद्यालय जान इच्छुक भएको उनी बताउँछन् । विद्यालय जान नपाएका बालबालिकाहरू विद्यालय जान पाउँदा हर्षित देखिन्छन् ।
नरहरिनाथ गाउँपालिका–३ कि पविता विक अहिले कक्षा ९ मा अध्ययनरत छिन् । उनी पनि सिओसी क्लासमा आवद्ध छन् । सिओसी क्लासमा अध्ययन गर्दै गर्दा समाजमा रहेका विभिन्न कुरीति कुसंस्कार न्यूनीकरण गर्नतिर लागेको उनी बताउँछन् । बालविवाह, छिटो विवाह तथा जबरजस्ती विवाह न्यूनीकरणमा सिओसी क्लास लागेको बताउँदै सिओसी क्लासबाट धेरै ज्ञान सीप लिएको उनको भनाइ छ । विद्यालय शिक्षाबाट लिएका ज्ञानसीप र सिओसी क्लासबाट लिएका अनुभव तथा सीपहरूले आफूहरूलाई धेरै कुरा सिकाएको उनको भनाइ छ । आफूहरूले क्लास लिँदै गर्दा हाल विद्यालय बाहिर रहेका बालबालिकाहरूको अभिभावकसँग सल्लाह गरेका बालबालिकाहरूलाई विद्यालय जान प्रेरित गर्ने काम आफूहरूले गरिरहेको उनी बताउँछन् ।

नरहरिनाथ गाउँपालिका मात्र हैनन् जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका र रास्कोट नगरपालिकामा विद्यालय बाहिर रहेका बालबालिकाहरू हाल विद्यालय क्षेत्रतिर लर्काे लाग्न थालेका हुन् । रास्कोट नगरपालिकामा रहेका बालबालिकाहरू नियमित विद्यालय जान थालेका छन् । रास्कोट नगरपालिकाका नगरप्रमुख धर्मराज शाहीले सिओसी क्लास सञ्चालनपश्चात बालबालिकामा ठूलो क्षमता विकास भएको बताए । उनले पहिलाको सरकारले के कसरी बालबालिकाको क्षेत्रमा काम गरे त्योतिर नलागेर अब आफ्नो सरकार बालबालिकाको क्षमता वृद्धिका कार्यक्रमदेखि लिएर परम्परागत हानिकारक अभ्यास न्यूनीकरणतिर सिंगो सरकारले बालबालिकालाई सहयोग गर्ने बताएका छन् ।

सिओसी कक्षा सञ्चालनपछि कालिकोट जिल्लाका तीन स्थानीय तह रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका र नरहरिनाथ गाउँपालिकामा विभिन्न हिंसा न्यूनीकरणसहित विद्यालय बाहिर रहेका बालबालिकाहरू विद्यालय जान प्रेरित भएको नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र विष्ट बताउँछन् । आफ्नो सरकारमा रहेका जनप्रतिनिधिहरूबाट बालबालिका, किशोरकिशोरी, स्वाथ्य शिक्षा, खानेपानीजस्ता विषयमा बढी प्राथमिकता दिने उनको भनाइ छ ।


तीन वटा स्थानीय तहमा प्लान इन्टरनेसनल नेपालको आर्थिक सहयोग तथा हुरेन्डेक नेपाल कालिकोटको सहजीकरणमा सञ्चालित बालविवाह, छिटो विवाह तथा जबरजस्ती विवाह न्यूनीकरणका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । बालबालिकाहरूले तीन स्थानीय तहमा हाल वालविाह हुन दिएका छैनन् । यस्तै छाउपडी प्रथा, महिला हिंसा, बालहिंसालगायत समाजमा रहेका कुरीति न्यूनीकरणका लागि सिओसी क्लासमार्फत उनीहरूले विभिन्न जनचेतना फैलाउने काम गरिरहेका छन् । आर्थिक अभावका कारण विद्यालय जान नसकेका बालबालिकाहरू सिओसी कक्षा सञ्चालनपछि विद्यालय जान थालेका हुन् ।

प्लान इन्टरनेसनल नेपालको आर्थिक सहयोग र हुरन्डेक नेपाल कालिकोटको सहजीकरणमा सिओसी कक्षाका सदस्य तथा बिद्यालय बाहिर रहेका बालबालिकाहरूलाई शैक्षिक सामग्री एवं अन्य सीपमूलक तालिमहरू दिएको कार्यक्रम संयोजक शिवशंकर उपाध्याय बताउँछन् । ३ स्थानीय तहका एक हजार बालबालिका सिओसी क्लासमा संलग्न छन् ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया