विचौलियाको बिगबिगी : रोपेको कागती, फल्यो बिमिरो !

पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका २ इम्बुङका भुपेन्द्र नेम्बाङले ४ वर्ष अघि ९ रोपनी क्षेत्रफलमा कागती खेती लगाए । उब्जनीयोग्य बारी मासेर पाँच लाख रुपैयाँको लगानीमा उन्नत जातको सुन कागती लगाए ।

इलाम नगरपालिका वडा नं. ४ मा रहेको नोराङ खोला नर्सरीका प्रबन्धक पारषमणी काफ्लेबाट तीन सय ५० वटा विरुवा खरिद गरेर रोपेका थिए । एक जना हेरालु नै राखेर नियमित मलजल गर्न र कागतीको स्याहार सुसार गर्न लगाए ।

४ वर्षको निरन्तर परिश्रमपछि विरुवा फुल्न थाल्यो । लाखौं लगानी भइसकेको विरुवा फुल्न थालेपछि आफ्नो लगानीको प्रतिफल पाउने आसामा नेम्बाङ उत्साहित थिए । तर, उनको उत्साह अन्तत्व निराशामा परिणत भएको छ ।

कागती भनेर रोपेको बोटबाट जङ्गली बिमिरो फल्न थालेपछि नेम्बाङको लाखौं रुपैयाँ खेर गएको छ । उब्जनीयोग्य बारी मासेर रोपेको विरुवाबाट फल नपाएपछि नेम्बाङ चिन्तित बनेका छन् ।

तर, कागतीको विरुवाबाट अचानक अर्को फल फलेको भने होइन, विरुवा नै अर्कै रोपिएको रहेछ । नेम्बाङले रोपेको ४ वर्षपछि प्रतिफल दिने अवस्थामा मात्र आफू विरुवा विक्रेताबाट ठगिएको थापा पाएका छन् । फल्न थालेपछि मात्र काफ्लेले कागती विरुवा भनेर जङ्गली बिमिरोको विरुवा बिक्री गरेको खुलासा भएको हो ।

‘मैले ४ वर्षअघि राष्ट्रिय फलफूल विकास केन्द्र कीर्तिपुर काठमाडौंको सिफारिसमा नोराङ खोला नर्सरीका प्रबन्धक पारसमणी काफ्लेबाट तीन सय ५० वटा उन्नत जातको सुन कागतीको विजु विरुवा खरिद गरेर रोपेको थिए’ नेम्बाङले भने, ‘तर कागतीको विरुवा भनेर जङ्गली बिमिरोको विरुवा दिएछ । यतिका समयसम्म मेहनत गरियो । अहिले सबै लगानी खेर गयो ।’

अहिलेसम्मको सबै लगानी हिसाब गर्दा १२ लाख भन्दा बढीको भइसकेको नेम्बाङको दावी छ । प्रतिफलको त कुनै हिसाब नै नभएको नेम्बाङ बताउँछन् । नेम्बाङले आफ्नो लगानीमात्र १२ लाख रुपैयाँ क्षतिपूर्ति काफ्लेसँग माग पनि गरे । तर काफ्लेले आफूबाट गल्ती भएको स्वीकार गरेपनि क्षतिपूर्ति दिन आनाकानी गरेपछि काफ्लेविरुद्ध अदालतमा मुद्धा दर्ता भएको छ । कृषि ज्ञान केन्द्रको सिफारिस बमोजिम १२ लाख रुपैयाँको क्षतिपूर्तिसहितको मुद्धा जिल्ला अदालत इलाममा दर्ता भएको हो ।

यसरी कृषि सम्बन्धी आधारभूत ज्ञान समेत नभएका विचौलियाहरुले विरुवा बिक्री गर्ने नर्सरी भन्दै बिचौलीया बनेर विरुवा बिक्रि वितरण गर्दैआएका छन् । त्यस्ता विचौलियालाई कारवाही गर्न किसानहरुको माग छ ।

प्रतिक्रिया