‘छलाङ’ लोकार्पण

काठमाडौं । लेखक दिलीप ढकालले लेखेको उपन्यास ‘छलाङ’ सार्वजनिक भएको छ । उक्त कृतिको गीतकार प्रा.डा.कृष्णहरि बराल, जातीय विभेदविरुद्धका अभियन्ता हिरा विश्वकर्मा, कथाकार डा. अशोक थापा, समीक्षक अनुपमा रेग्मी, शिखा बुक्स पब्लिकेसनका अध्यक्ष पुष्पराज पौडेलले संयुक्त रुपमा विमोचन गरे । कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रममा प्रा.डा. बरालले यसअघिका विभिन्न समयका कृतिको प्रसंग कोट्याउँदै ‘छिलाङ’ ले समाजमा देखिएका सबै समस्यालाई उठान गरेको बताए । उनले भने, ‘कुनै कृतिले नारीवाद, कुनैले जातीय विभेद आदि एक–एक विषयको मात्र उठान गरेका छन् । तर, ढकालको ‘छलाङ’ ले जातीय, वर्गीय, लैंगिक आदि विभेद, सामाजिक तथा राजनीतिक सबै समस्याको उठान गरेको छ ।’ उनले समाजका सबै कमजोरीलाई समस्याका रूपमा उठाएर लेखकले सुन्दर र शान्त नेपालको परिकल्पना गरेको जिकिर गरे ।

समीक्षक थापाले उपन्यासकार ढकालको उपन्यासमा रहेका पात्र आफूले पनि चिनेका र ती पात्रको नालीबेली उतारेको बताए । उनले कृतिलाई त्रिपक्षीय छलाङका रूपमा लिएको विश्लेषण गर्दै भने, ‘यो कृति जातीय समानताको छलाङ, देश विकासको छलाङ र राजनीतिक छलाङको त्रिवेणी पनि हो ।’

यस्तै, समीक्षक रेग्मीले उपन्यासमा मातृत्व बोलेको बताउँदै स्वैरकाल्पनिक दृष्टिले कृति महत्वपूर्ण रहेको बताइन् । उनले सामाजिक न्यायको विषयलाई समेत कृतिमा केलाउने प्रयत्न गरिएको सुनाइन् । कार्यक्रममा उपन्यासकार ढकालले अहिलेसम्म जातीय तथा वर्गीय विभेदविरुद्ध जति पनि राजनीतिक तथा साहित्यिक आन्दोलनहरू भएको सुनाए । उनले ती आन्दोलनका क्रममा कैयौंले ज्यान पनि गुमाए, तर तिनले समस्याको समाधान गर्न नसकेको भन्दै यी सबै समस्याको समाधान अथवा छलाङका लागि उपन्यास लेखेको जिकिर गरे । उनले भने, ‘उपन्यासमा मुख्य जातीय विभेदविरुद्धको आवाज उठाइएको छ । अन्त्यमा अन्तरजातीय विवाह देखाएर समाज तथा देशले छलाङ मार्ने अपेक्षा उपन्यासमार्फत रादिएको छ ।’

सैंतिस परिच्छेद र २७९ पेजमा रहेको सो उपन्यास शिखा बुक्स पब्लिकेसनले प्रकाशनमा ल्याएको हो । लेखक ढकालका यसअघि ‘एक्लै सन्ध्याको मझेरीमा’ गजल संग्रह, ‘समालोचकीय आलोकमा यदुनाथ खनाल’ समालोचनात्मक कृतिलगायतका पुस्तक प्रकाशित छन् ।

प्रतिक्रिया