कृषकलाई दिने मोबाइल कार्यालयबाटै गायब !

सुर्खेत । डोल्पाको पशु अस्पताल तथा पशु सेवा कार्यालयले पशुपालक कृषकलाई दिने अनुदानका मोबाइलसमेत गायब बनाएको छ । जिल्लामा ५० भन्दा धेरै भेडा÷बाख्रा पालन गरेका कृषकलाई प्रोत्साहनबापत प्रदान गरिने २५ थान साधारण मोबाइल फोन कार्यालयकै कर्मचारीले लुकाएर राखेको आरोप लागेको छ । पशुपालन गर्ने कृषकहरूलाई सहजै कार्यालयसँग सञ्चारको पहुचमा जोड्नका लागि प्रोत्साहन स्वरूप प्रदान गर्ने मोबाइलसमेत खरिद गरी कृषकलाई नदिएर कार्यालय प्रमुखको मिलोमतोमा लुकाएर राखिएको आरोप लगाइएको छ ।

आर्थिक वर्ष ०७८/७९ को कार्यक्रमअनुसार ५० भन्दा बढी भेडाबाख्रापालन गरेका कृषकहरूलाई प्रोत्साहन स्वरूप वितरण गर्ने उद्देश्यले पशु अस्पताल तथा पशु सेवा कार्यालय डोल्पाले नेपालगञ्जको निशान कम्प्युटर ट्रेडर्सबाट २७ थान साधारण मोबाइल फोन खरिद गरी कार्यालयमा ल्याएको थियो ।

उक्त मोबाइल हालसम्म कुनै पनि कृषकलाई नदिइएको तथ्य सार्वजानिक भएको छ । प्रशिक्षण लिँदा पशुपालक कृषकलाई पाल, गमबुट र मोबाइल दिने भनेर जानकारी गराइएको तर, आपूmले हालसम्म नपाएको गुनासो कृषक अर्जुन भण्डारीले गरे ।
कार्यालय प्रमुख परिवर्तन भएकाले भुलचुक भएको भन्दै हालका निमित्त कार्यालय प्रमुख नवराज न्यौपानेले कृषकहरूलाई अलमल्याउने काम गरेको दाबी पनि भण्डारीले गरे । जिल्लाभरका पशुपालक कृषकसँग अनुदानका लागि आवेदन माग्ने र उत्कृष्ट पशुपालक कृषकलाई प्रोत्साहन स्वरूप सहज हुने सामग्री प्रदान गर्ने कार्यालयको नियमित कार्यक्रम हो ।

सोहीअनुसार खरिद भएको साधारण मोबाइल जम्मा १५ थान मात्रै भेटिएका छन् । बाँकी १० थान मोबाइल कुन कृषकले लिए भन्ने कुनै कागजी प्रमाण छैन । १० थान मोबाइल बाँडिएको र अन्य १५ थान पनि वितरण गर्ने योजना रहेको बताइए पनि त्यसको कुनै लिखित प्रमाण राखिएको छैन ।

पशुपालन गर्ने कृषकका लागि मोबाइल तथा अन्य सामग्री खरिद गर्ने समयमा भने चन्द्रलाल धराला कार्यालय प्रमुख थिए । धरालाले गत वैशाख ३० गते राजीनामा दिएर त्रिपूरासुन्दरी नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट नगरप्रमुखको उम्मेदवारी दिएका थिए ।
हालका निमित्त कार्यालय प्रमुख र अन्य कर्मचारीले भने धरालाकै पालामा मोबाइल खरिद गरेर ल्याई कोठामै राखेको आरोप लगाएका छन् । चन्द्रलाल धरालाले भने आफूले राजीनामा दिएको समयमा सबै सामग्री कार्यालयमा बुझाएर निर्वाचनमा उम्मेद्वार भएको बताउदै आफ्नो नाममा केही पनि नभएको दाबी गरे ।

कार्यालयमा बारम्बार मोबाइल बितरण गरेको भरपाइ तथा अन्य कागजातहरू र पाउने कृषकको विवरण माग्दा भने कार्यालयले दिन सकेको छैन । कहिले कम्प्युटर बिग्रेको र कहिले पेनड्राइभ नखुलेको भन्दै उक्त विवरण दिन आनाकानी हुँदै आएको छ ।
कुल ६२ हजार ५ सय रुपैयाँमा खरिद भएका मोबाइलको आन्तरिक लेखा परीक्षण र महालेखा परीक्षणसमेत सम्पन्न्न भएको छ । विनाभरपाइ र कृषकलाई वितरण गरेको तस्बिर तथा अन्य पुष्टि हुने कागजातविनै अडिट भएको छ । मोबाइलको कुरा गर्दा कार्यालय प्रमुखले व्यवस्थापन गरौँला भन्दै ठगिरहेको कृषक प्रेम थापाले गुनासो गरे । (न्युज कारखाना)

प्रतिक्रिया