जिससको समीक्षा बैठक : न छलफल, न समीक्षा !

इलाम । जिल्ला समन्वय समिति इलामको आर्थिक वर्ष २०७८–७९ को वार्षिक समीक्षा बैठकको दोश्रो दिन बिहीबार विषयगत कार्यालय र गैरसरकारी संस्थाहरुको प्रस्तुतीको तालिका थियो । बिहान करिब ११ बजेदेखि नै कार्यालय प्रमुखहरुले हल खचाखच थियो ।

९० जना क्षमताको हलका प्रायः सबै कुर्सी भरिएको थियो । पहिलो दिन अनुपस्थित केही पालिका प्रमुख उपप्रमुख समेत हस्याङफस्याङ गर्दै हल प्रवेश गरिरहेका थिए । अघिल्लो दिनझैं जिसस प्रमुख जयप्रकाश राईको अध्यक्षतामा समीक्षा बैठक प्रारम्भ भयो ।

उद्घोषक जिल्ला समन्वय अधिकारी प्रेमप्रसाद काफ्लेले विषयगत कार्यालयहरुलाई गत आर्थिक वर्षमा सम्पादन गरेका गतिविधि प्रस्तुत गराउन सुरु गरे । सबैभन्दा पहिले कृषि ज्ञान केन्द्र इलामले अवसार पायो ।

कार्यालय प्रमुख टोनी बर्देवाले आफ्नो कार्यालय प्रगति प्रस्तुत गरेर कार्यालयको काम भन्दै बाहिरिए । त्यसपछि मालपोत कार्यालयको पालो आयो । कार्यालय प्रमुख जसबहादुर राईले गत आवमा आफ्नो कार्यालयको प्रगति विवरण प्रस्तुत गरे । उनी पनि कार्यालयको काम रहेको भन्दै बाहिरिए ।

तेश्रो प्रस्तुतीका रुपमा यातायात व्यवस्था सेवा कार्यालयले अवसर पायो । कार्यालय प्रमुख छविलाल खतिवडाले आफ्नो कार्यालयको प्रगति विवरण प्रस्तुत गरे । उनीपनि त्यसैगरी कार्यालयको काम देखाउँदै हलबाट बाहिरिए ।
उनीहरु सबैको प्रस्तुतीमा न छलफल भयो न त समीक्षा नै ।

उद्घोषकले पनि प्रस्तुतीउपर छलफल चलाएनन् । प्रस्तुतकर्ताले आफ्नो प्रस्तुती सकियो भन्नासाथ हलबाट फाट्टफुट्ट तालि बज्द्थ्यो, उद्घोषकले अर्को प्रस्तुतीका लागि बोलाएको देखिन्थ्यो ।

यो श्रङ्खला दिनभर यस्तै रह्यो, आफ्नो प्रस्तुतीको पालो पर्खेर बस्ने, अनि प्रस्तुती सक्नसाथ कार्यालयको कामको वहानामा हलबाट निस्कने । सुरुमा खचाखच भएको हल विस्तारै खाली हुँदै गयो । जबजब प्रस्तुतीको क्रमसंख्या बढ्दै गयो, सहभागीको संख्या पनि त्यतिनै घट्दै गइरहेको थियो ।

साँझ ५ बजेसम्ममा हलका प्राय सबै कुर्सी खाली भईसकेको थियो । दोश्रो दिनमात्र उपस्थित केही पालिका प्रमुख र उपप्रमुख समेत बाहिरिसकेका थिए । हलमा करिब २४ जनामात्र सहभागीहरु थिए । बाँकी कार्यालय प्रमुखले आफ्नो कार्यालयको प्रगति विवरण प्रस्तुत गरिरहेका थिए, २४ जनाले भएपनि सुनिरहेका थिए । तर, छलफलमा भने कोही पनि सहभागी भएनन् ।

फाट्टफुट्ट बाहेक कसैले प्रश्न वा जिज्ञासा पनि राखेनन् । कतिबेला कार्यक्रम सकिन्छ भन्नेमा मात्र सहभागीहरुका ध्यान गएको जस्तो अनुभूत हुन्थ्यो । उसो त कार्यालयको प्रगति विवरण सुन्नुपर्नेमध्येका एक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गाना समेत कार्यक्रमको सुरुआतमा नै आफ्ना मन्तव्य राखेर कार्यालयमा कामको व्यस्थता देखाउँदै हलबाट बाहिरिए ।

यसरी समीक्षा बैठकमा जो सरोकारावाला उपस्थित रहनुपर्ने हो, उनीहरु नै उपस्थित नभएको कार्यक्रम औपचारिकतामा मात्र सीमित भएको देखिन्छ । सरोकारवालाको उपस्थितीमा न वृहत छलफल नै भयो, न त समीक्षा नै । उसो त छलफल नै नभएपछि समीक्षा हुने कुरै भएन । समीक्षा बैठक औपचारिकताका लागि मात्र आयोजना गरिएको अधिकांशको टिप्पणी छ ।

अर्थात् समीक्षा नै नगरी समीक्षा बैठक सम्पन्न भएको छ । बिहीबारको बैठकमा भने बुधबार अनुपस्थित केही पालिका प्रमुख र उपप्रमुख पनि उपस्थित भए । सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ, उपाध्यक्ष हरिबहादुर लुङ्गेली, फाकफोकथुम गाउँपालिका अध्यक्ष दिपेन्द्र खनाल, माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राई र रोङ गाउँपालिका उपाध्यक्ष विष्णुमाया खवास उपस्थित भएका थिए ।

बुधबार भने १० पालिका मध्ये एक अध्यक्ष, एक उपप्रुमख र एक उपाध्यक्षको मात्र उपस्थिती थियो । पालिकाकै समीक्षामा पालिका प्रमुख र उपप्रमुखकै अनुपस्थितीले व्यापक चर्चा पाएको थियो । पालिका प्रमुख र उपप्रमुखले समीक्षा बैठकलाई महत्व नदिएको भन्दै टिप्पणी समेत सुरु भएको छ ।

रोङ गाउँपालिका उपाध्यक्ष खवासले आफूहरुले समीक्षा बैठकलाई महत्व नदिएका नभई कार्यव्यवस्थताका कारण पहिलो दिन उपस्थित हुन नसकेको जिकिर गरिन् । ‘हिजोमात्र हाम्रो तीनवटा बैठक पालिकामा नै थियो । राती ९ बजेसम्म बैठकमा नै थियौं’ उपाध्यक्ष खवासले भनिन्, ‘तसर्थ हामीले महत्व नदिएको पटक्कै होइन, आज बल्ल फुर्सद भएर उपस्थित भएकी छु । अब सभा सकेर मात्र फर्कन्छु ।’

जिल्ला समन्वय प्रमुख जयप्रकाश राईले स्थानीय तहहरुले जिल्ला समीक्षा बैठकलाई महत्व नदिएको बताउँछन् । ‘बैठकमा जानैपर्दैन भन्ने मनसायले स्थानीय तहहरुले जिससको महत्व घटाएछ । यस्तो महत्वपूणर् कार्यक्रममा उहाँहरुको अनुपस्थितीले गम्भीर समीक्षा गर्ने पाठ सिकाएको छ’ प्रमुख राईले भने, ‘यस विषयमा हामी पनि समिक्षा गर्छौँ ।’

बिहीबार डिभिजन वन कार्यालय, शिक्षा समन्वय इकाई, इलाम अस्पताल, स्वास्थ्य कार्यालय, सडक डिभिजन कार्यालय, जलश्रोत तथा सिचाई विकास डिभिजन कार्यालय, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, कृषि अनुसन्धान कार्यालय, अलैँची विकास केन्द्र, आयुर्बेदिक स्वास्थ्य केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालगायत विषयगत कार्यालयले गत वर्षको प्रगति विवरण प्रस्तुत गरका थिए ।

त्यस्तै सुनगाभा विकास संस्था, महिला जागरण संघ, इलाम उद्योग वाणिज्य संघ, नेपाल परिवार नियोजन संघ, हरित नगरी महिला समूह, मानव अधिकार मञ्च नेपाल इलामलगायत गैरसरकारी संस्थाहरुले गत वर्षको प्रगति विवरण प्रस्तुत गरका थिए ।
जिल्लासभा शुक्रबार हुनेछ ।

प्रतिक्रिया