तारकिणीले ल्याए ‘बिगन रामको मादल’

काठमाडौं । युवाकवि राजेन्द्र तारकिणीले लेखेको कविताकृति ‘बिगन रामको मादल’ बजारमा आएको छ । संविधान दिवसको अवसर पारेर सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानमा साहित्यकार श्यामल, चलचित्र निर्देशक राजेन्द्र शलभ, समीक्षक गीता त्रिपाठी र सञ्चारकर्मी राजकुमार बानियाँ लगायतले उक्त कृतिको संयुक्त रुपमा विमोचन गरे ।

समीक्षात्मक अन्तक्र्रियासहित गरिएको उक्त कार्यक्रममा प्रस्तोता राजकुमार बानियाँले श्यामल, शलभ र त्रिपाठीसँग उक्त कृतिमा केन्द्रित रहेर सवालजवाफ गरेका थिए । उनले कवि तारकिणीका कविताको भावभूमि, सबल पक्ष, समकालीन कवितामा उनको स्थान र सीमाबारे प्रश्न गरेका थिए ।

सो कार्यक्रममा श्यामलले तारकिणीका कविता शक्तिशाली रहेको जनाउँदै कवितामा समयको आवाजलाई प्रभावकारी ढंगले उठान गरिएको बताए । उनले भने, ‘झारपात कुरा उठाएर राजेन्द्रले समय खर्च गरेका छैनन् । कवितामा राजेन्द्रको चिन्ता शासकप्रतिको हैन, आम सामान्य मान्छेको चिन्ता छ । त्यसैले उनका कविता भूपि, रिमालका कविताकै चिन्तासँग मिल्दोजुल्दो छ ।’

श्यामलले कवि राजेन्द्रले आफ्नै भूमिकामा ‘कविता आफ्नो हतियार’ भनेको प्रसंग कोट्याउँदै भने, ‘त्यसैले तारकिणी मेरो छेउछाउ र मेरै स्कुलका कवि हुन् कि जस्तो लाग्यो । राजेन्द्रका कविता आफ्नै शैलीका छन् । कवितामा आफ्नो निजत्व छ ।’

यस्तै, राजेन्द्र शलभले कविताको किताब पढिसकेपछि त्यसभित्रका कविता सम्झिइयो भने त्यस्तो कृतिलाई सफल कृति ठान्नुपर्ने जिकिर गरे । उनले भने, ‘तारकिणीको यो किताब पढिसक्दा मैले १०—१२ वटा कविता सम्झिएँ । त्यसैले यो कृति सफल छ ।’ उनले तारकिणीका कविता कुनै वादसँग जोड्नु आवश्यक नरहेको बताउँदै कविता उनको मनकै अभिव्यक्ति भएको सुनाए ।

यसैगरी, समीक्षक गीता त्रिपाठीले यो युगलाई पढ्न चाहनेहरूका लागि कुनै समय तारकिणीका कविता पनि एउटा इतिहास बन्ने बताइन् । उनले तारकिणीका कविता विम्बै विम्बले भरिएको बताउँदै दोहोरिएका विम्ब नभएको जिकिर गरिन् । छैनन् ।’ सो कार्यक्रममा माधव पन्तले कवि तारकिणीका बारेमा संक्षिप्त टिप्पणी राख्दै गाउँदेखि सहरसम्म आइपुग्दाका उतारचढाव, श्रवणशक्ति गुमाउँदाको पीडा र पछिल्लो समयको संघर्षका बारे बताए । यसैगरी नेपाली सांकेतिक भाषामा पहिलो शोध (थेसिस) गरेकी शिलु शर्माले सांकेतिक भाषाका माध्यमबाट कवि तारकिणीलाई सञ्चारमा सहजीकरण गरेकी थिइन् । कार्यक्रमको सञ्चालन साहित्यकार भरत साउदले गरेका थिए ।

कवि तारकिणीले ‘बिगन रामको मादल’ कृतिगत हिसाबले चौथो कृति रहेको बताए । उनले यस कृतिमा पछिल्लो एक दशकको अवधिमा लेखिएका कविता संकलित रहेको जनाए । उनले भने, ‘हाम्रो पुस्ताले पछिल्ला कालखण्डमा ठुला त्रासदी र उथलपुथल भोगेको छ । दशवर्षे सशस्त्र द्वन्द्व, नयाँ संविधान निर्माणका क्रममा भएका राजनीतिक रस्साकस्सी, विनाशकारी भुइँचालो, भारतीय नाकाबन्दी, कोरोना महामारी आदि ! मैले कवितामा आममान्छेका आवाजलाई उनेको छु, मेरो कविताको आवाज राज्यले सुनोस् भन्ने चाहन्छु ।’ शिखा बुक्सले प्रकाशन गरेको यो कृति ६ खण्डमा विभाजित छ । ५४ कविता रहेको यस कृतिको मूल्य ३०० रहेको छ ।

प्रतिक्रिया