पशु अस्पताल बनाउँदै बैजनाथ

बाँके । बैजनाथ गाउँपालिकामा सुविधा सम्पन्न पशु अस्पताल निर्माण हुने भएको छ । जिल्लाका आठ स्थानीय तहमध्ये बैजनाथले पहिलोपटक पशु अस्पताल निर्माण गर्ने भएको हो । अस्पताल भवनको एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही र उपाध्यक्ष निर्मला रोकायले संयुक्त रूपमा शिलान्यास गरेका थिए ।

अध्यक्ष शाहीका अनुसार ‘किसानसँग पालिका प्रमुख कार्यक्रम’ कार्यान्वयन गर्न पशु अस्पताल निर्माण गर्न लागिएको बताए । अस्पताल निर्माणका लागि गाउँपालिकाको ११औँ गाउँसभाबाट चालु आर्थिक वर्ष ०७९/८० को बजेटमार्फत उक्त कार्यक्रम गर्ने निर्णय गरेको उनले बताए । अध्यक्ष शाहीले तोकिएको समयभित्र भवन सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् । ‘समयमै भवन बनेपछि यहाँबाट सेवा प्रवाह गर्नसमेत सहज हुन्छ’ अध्यक्ष शाही भन्छन्, ‘तोकिएको समयमा यो भवन निर्माण हुनुपर्छ ।’ पशु अस्पताल भवन निर्माण भएलगत्तै गाउँपालिकाले सेवा सञ्चालनमा ल्याउनेछ ।

गाउँपालिका उपाध्यक्ष रोकायले पशु अस्पताल सञ्चालनमा आएपछि पशुपालन किसानहरूलाई सहज हुने बताइन् । उनले भनिन्, ‘बैजनाथ पशुपालनमा राम्रो सम्भावना बोकेको स्थान हो । निर्धारित समयमै अस्पताल सञ्चालनमा आएपछि यहाँका किसानलाई पक्कै पनि सजिलो हुन्छ ।’ अस्पताल निर्माणको कुल लागत ४८ लाख ४६ हजार रुपैयाँ रहेको छ । पशु अस्पताल सञ्चालनमा आएपछि पशुपालन गर्दै आएका किसानहरूलाई एकै स्थानबाट सबै सेवाहरू लिन सजिलो हुने बताइएको छ ।

प्रतिक्रिया