काभ्रे । बिमा समितिले तोकेअनुसार बिमा गरेको पशु तथा बालीहरूको क्षति भएमा ३५ दिनभित्रै दाबी भुक्तानी दिइसक्नुपर्ने प्रावधान राखेको छ । यदि सो अवधी नाघ्यो भने कम्पनीले लिखित कारण खुलाई जवाफ पठाउनुपर्ने प्रावधान छ । तर, बनेपामा रहेको एक बिमा कम्पनीले बिमा दाबी गरेको दुई वर्ष बित्दासमेत न त दाबी भुक्तानी किसानलाई दिन्छ न त केही लिखित जवाफ नै दिन्छ । काभ्रे जिल्लाको पशु र किसानको बाली बिमा गर्दै आएको हिमालयन एभरेस्ट इन्सुरेन्सले किसानहरूको बिमा बापत्को दाबी भुक्तानी नदिएको प्राविधिक र किसानहरूले गुनासो गर्न थालेका छन् । पशु बिमा कम्पनीले समयमै बिमित पशुको क्षति पछि दिनुपर्ने दाबी रकम र प्राविधिकको सेवाबापत आउने कमिसन भुक्तानी नगर्दा अभिकर्ता, पशुप्राविधिक र किसानहरू आन्दोलित हुनुपरेको किसान बनेपा नगरपालिकाका पशु सेवा शाखामा कार्यरत कान्ता तोलाङ्गेले बताइन् ।
काभ्रे जिल्लाको विकट खानीखोला गाउँपालिका–६ का किसान सजन भोलनले पनि आफूले पालेको बाख्राको बिमा रकम दाबी गर्न धेरै लामो समय धाए । तर आफूले पाउनेभन्दा धेरै रकम खर्च भइसक्दा पनि विभिन्न प्रक्रिया नपुगेको भन्दै फर्काउँदै गर्दै आएको कम्पनीले प्रक्रिया पुगेको दाबी रकमसमेत कम्पनीले नदिएको गुनासो गरेका छन् ।
जिल्लामा तीन वर्ष अघिदेखिको पशु तथा बालीहरूको बिमाको दाबी गरिएको रकम कम्पनीले दिन नसक्दा फिल्डमा काम गर्ने प्राविधिक र कृषि तथा पशुपालक किसानहरू समस्यामा परेको किसान राजेन्द्र उप्रेतीले बताए । जिल्लाको बनेपामा उपशाखा रहेको हिमालयन एभरेन्ट इन्सुरेन्स लिमिटेडमार्फत दर्जनभन्दा बढी अभिकर्ताहरूले गरेको १ सय ६८ जना किसानका बिमा रकम भुक्तानी हुन बाँकी रहेको जनाएको छ । उक्त इन्सुरेन्स कम्पनीले काभ्रे जिल्लाको मात्रै किसानको बिमा बापतको क्षतिपूर्ति रकम कुल जोड्दा गर्दा नौ लाखभन्दा बढी रकम भुक्तानी गर्न बाँकी रहेको शाखाका प्रमुख उमेश प्रधानले बताए ।
सो रकमहरू नआएपछि प्राविधिकहरूले कम्पनीलाई एक महिनाअघि नै चेतावनीयुक्त ध्यानाकर्षण पत्र लेखेको भए पनि हालसम्म जिल्लामा रहेको शाखाले सुनुवाइ नगरेको प्राविधिकहरूले बताएका छन् । आफूले ६ महिना अगाडीदेखि पशु बिमा गर्दै आएकोमा आफूले पाउने १० प्रतिशत कमिसन र दुई दर्जनभन्दा बढी किसानले दाबी गरेको क्षति बिमा रकम पनि नदिएको कान्ता तोलाङगेले बताइन् ।
पनौती नगरपालिका–१० खोपासीमा रहेको जय हारती माँ च्याउ उद्योगले करिब ७/८ महिना अगाडी बिमा रकम दावी गरेका तर अहिलेसम्म भुक्तानी नदिएको उद्योगका सञ्चालक अरुण उलकले बताए । च्याउ खेती रोगले सखाप भएपछि बिमा दावी गरेको तर ७/८ महिनासम्म भुक्तानी नहँुदा मारमा परेको उलकले बताएका छन् । ‘मैले कम्पनी दर्ता गरी च्याउ खेती गरेका थियो । खेतीको बिमा बनेपामा रहेको हिमालयन एभरेस्ट इन्सुरेन्स लिमिटेडमा गरेको थिएँ खेती बिग्रियो तर बिमा रकम पाउन सकिनँ’ उलकले भने, ‘लिमिटेडको बनेपा उपशाखामा धेरैपटक आएँ तर हुन्छ, हुन्छ मात्र भन्छ कहिल्यै रकम आएन । नआउने भए आउँदैन भन्दे हुन्थ्यो हामी गरीबलाई आश हुन्छ आश गर्दा गर्दा बनीबास हुने बेला भइसक्यो ।’
उनीहरूले बिमा कम्पनीमा बुधबार ध्यानाकर्षण पत्र बुझाएका छन् । पत्रमा भनिएको छ, गत वर्षदेखि सो कम्पनीमार्फत बिमा गर्दै आएका छौँ कम्पनीले हामीले बिमा गरे बापत दिनुपर्ने अभिकर्ताको १० प्रतिशत र प्राविधिकको पाँच प्रतिशत रकम दिनुपर्नेमा पनि बारम्बार ताकेता गर्दा कुनै जानकारी समेत नदिई प्राविधिक चार्जसमेत नदिएकोले अबका दिनमा पत्रकार सम्मेलन गरी ताला लगाउने सम्मको आन्दोलन गर्न बाध्य भएको पत्रमा उल्लेख छ ।
पत्रमा पासाङ तामाङ, शुबदेव दाहाल, अनिल तामाङ, कान्ता शार्की, सहदेव श्रेष्ठ, साकार मैनाली , गोकुल मैनाली, टंक चौलागाँई, बिजय कुमार थापा, राज बहादुर लामा, संगिता श्रेष्ठ, कमल नारायण श्रेष्ठ, सागर दाहालले पत्रमा हस्ताक्षर गरेका छन् । उनीहरूले लिनुपर्नै करिब ४ लाख बराबरको अभिकर्ता र प्राविधिक सेवा बापतको कमिसन रकमसमेत नआएको प्राविधिकहरूले जनाएका छन् ।
यस विषयमा इन्सुरेन्सका बनेपा उपशाखाका प्रमुख उमेश प्रधानले थापाथलीमा रहेको केन्द्रीय कार्यालयलाई यस विषयमा बारम्बार जानकारी गरेको तर भुक्तानी बापतको रकम नपठाएको बताए । केन्द्रीय कार्यालयमा पनि नेपाल सरकारले दिने अनुदान समयमा नै नआउँदा ढिला भएको केन्द्रले जानकारी पठाएको बनेपा उपशाखा प्रधानले बताए । हिमालयन एभरेस्ट इन्सुरेन्स कम्पनीमा काभ्रेबाट वार्षिक चार हजारको संख्यामा किसानहरूले पशु तथा बाली बिमा गर्दै आएको र १ सय ६८ किसानको बिमित रकम भुक्तानी गर्न बाँकी रहेको उपशाखा प्रमुख प्रधानले जानकारी दिए ।
काभ्रे जिल्लामा पछिल्लो समय पशुहरूको बिमा गराउने कार्यक्रम तीव्र रूपमा भए पनि क्षतिपछि बिमा रकम दाबी गर्दा समयमा नै कम्पनीले रकम भुक्तानी नगर्दा प्राविधिक र किसाहरूको समेत दुरी बढ्न थालेको प्राविधिक अनिल तामाङले बताए । यता बनेपा नगरपालिकाका पशु स्वास्थ्य प्राविधिक उमेश घिमिरे भन्छन्, ‘यो समस्या केबल यो इन्सुरेन्स कम्पनीको मात्रै होइन, अन्य केही इन्सुरेन्स कम्पनीमा पनि यस्तै अवस्था छ । हामीले किसानलाई दिने जवाफ र उनीहरूबीचको दुरीसमेत यही कारणले बढ्दै छ । कम्पनीको बहानाबाजी र लापरबाही र झुलाउने परिपाटीले गर्दा पशुपालक किसानमा पनि ऊर्जा घट्दो छ । कम्पनी र बिमा समितिले बेलैमा नीतिअनुसार व्यवहारमा पनि कार्यान्वयन गर्न आवश्यक छ । यदि यही परिपाटी बसे दूधमा आत्मनिर्भर निर्यातमा अग्रस्थान रहेको काभ्रे पछि पर्न सक्छ । हिमालयन एभरेस्ट बनेपा उपशाखाले काभ्रे र सिन्धुपाल्चोक हेर्दै आएको छ ।
प्रतिक्रिया