गाईने पेसा संकटमा

अर्घाखाँची । घरघरमा गीतसंगीतमार्फत सूचना सन्देश प्रबाह गर्दे हिँड्ने गाईने दाइको सारङ्गीको मिठो संगीत पछिल्लोसमय सुन्न हराउँदै गएको छ । गाउँबस्तीमा पहिलेको समयमा सञ्चारकै माध्यम बनेका गाईने दाइको पुख्र्यौली पेसा अहिले संकटमा परेको छ । एक ठाउँको घटनालाई अर्को ठाउँमा लगेर संगीतको माध्यमबाट सुनाउँदै आएका उनीहरू सोही काम गरी आफ्नो परिवारको गुजारा चलाउँदै आएको थिए । सूचना प्रविधिको विकाससँगै उक्त पेसा पनि लोप हुन लागेको बताइन्छ । मौलिक कला सांस्कृतिको जगेर्ना गर्दै पेसाकै रूपमा गरिँदै आएको गाईने पेसा आफैँमा ऐतिहासिक तथा सांस्कृतिक महत्व रहेको छ ।

अहिले पछिल्लो समय पेसा नै बचाउन मुस्किल परेको सन्धिखर्क–९ अर्घाका बेगमान गन्धर्वले बताए । उनले भने, ‘जेनतन पेसा बचाउनका लागि, समयअनुकूलका आधुनिक गाउँगाउँमा विभिन्न परिवेश अनुसारका गीत संगीतका धुनहरू बजाउँदै गाउँँदै हिँडेका छौँ, पहिलाजस्तो निरन्तर हिँडदैनौँ ।’

पहिलाजस्तो पेसाकै रूपमा भन्दा पनि फरक खालको सांस्कृतिक मनोरञ्जन दिनका लागि मात्र पनि विभिन्न खालका गीत संगीत गाउने बजाउने गरेको सोही ठाउँका सुरेश गन्धर्वले बताए ।
सारङ्गीको धुनमा गीतमा रमाउँदै जिल्लाभर र जिल्ला बाहिर हिँडेपछि एक÷दुई महिनामा घर फर्कने चलन रहेको गन्धर्व समुदायका अगुवा ठाकुर गन्धर्वले बताए । उनले भने, ‘हाम्रो समुदायको कला, संस्कृतिलाई बचाउन जिल्लामा नभई जिल्लाबाहिर गुल्मी प्युठान, पाल्पा स्याङ्जा, कास्की नेपालगञ्ज नवलपरासी लगायतका जिल्लामा जाने गथ्यौँ, अन्नपात र पैसा पनि राम्रो कमाइ हुन्थ्यो अहिले त्यस्तो छैन, अहिलेको पुस्ताले यो पेसालाई अँगाल्न पनि चाहँदैनन् ।’

१४ वर्षको उमेरदेखि नै गाईने पेसा गर्दै आएका शशि गन्धर्वले बताए । उनले भने, ‘गाउँमा गएर अन्नबाली नगद लिएर महिले नै सात जनाको परिवार पालेको हुँ, अहिले गाउँमा गए पनि गीत सुन्ने तेती रुची नै राख्दैनन्, पहिला घरमै बोलाएर गीत सुन्न खोज्नेहरूले समेत अहिले कुनै चासो दिँदैनन् । अर्घाखाँची जिल्लाको साबिक अर्घा गाबिस हाल सन्धिखर्क नगरपालिका–९ र १० मा गन्धर्व समुदायको बाक्लो बस्ती छ ।

आर्थिक हिसाब विपन्न उक्त गाउँमा अहिले धेरैजसोको घर सरकारले जनता आवास कार्यक्रममार्फत निर्माण गरिदिएपछि उनीहरूलाई केही राहत मिलेको विक्रम गन्धर्वले बताए । विगतका वर्षहरूमा गन्धर्व समुदायकोे संस्कृति संरक्षणका लागि बजेट विनियोजन आयआर्जनको लागि बाख्रा वितरण तथा खोर निर्माण, गन्धर्व समुदायका लागि स्वास्थ्य बिमा निःशुल्क गरिएको महिला विकास शाखाका प्रमुख बेलकुमारी परियारले बताइन् । १ सय ६५ घरपरिवार रहेको दलित बस्ती अर्घामा एकतिहाई जति गन्धर्व जातिको बसोवास रहँदै आएको छ ।

प्रतिक्रिया