धनगढी । अछाममा शुक्रबार राती आएको अविरल वर्षाका कारण ठूलो धनजनको क्षति भएको छ । जिल्लाको कमलबजार नगरपालिका, ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकाका १७ जनाको पहिरोमा पुरिएर मृत्यु भएको छ । मृतक जिल्लाको कमलबजार नगरपालिका–६ की ३६ वर्षीया मैनकला कामी, १५ वर्षीया गीता कामी,८ वर्षीया सिरु कामी वडा नं. ६ की २० वर्षीया अम्बिका कामी,१७ वर्षीया सरिता कामी,२१ वर्षीया अर्धना कामी ९ वर्षीय निखिल कामी,वडा नं. ८ का एकै परिवारका २६ वर्षीया गम्भी दमाई,२३ वर्षीया भाना दमाई,६ वर्षीया डिग्रा दमाई र ४ वर्षीया कल्पना दमाई रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी नारायण डाँगीले जानकारी दिए ।
त्यसैगरी ढकारी गाउँपालिका–६ का २ वर्षीय नवीन बुढा, तुर्माखाँद गाउँपालिका– ५ की १७ वर्षीया जानकी शाही, १७ वर्षीया बिमला शाही, ४५ वर्षीय नेत्रबहादुर शाही र ३६ वर्षीया मनिसा शाही रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । त्यसैगरी पहिरोमा पुरिएर ५ र खोलाले बगाएर १ जना बेपत्ता भएको जनाइएको छ । बेपत्ता हुनेमा तुर्माखाँद गाउँपालिका ५ का ५ जना पहिरोमा परी र ढकारी गाउँपालिका १ का १ जना खोलाले बगाएर बेपत्ता रहेको प्रहरीले जनाएको छ । बेपत्ताको खोजी कार्य जारी रहेको जनाइएको छ ।
साथै पहिरोमा परी ११ जना घाइते भएका छन् । घाइते हुनेमा कमलबजार नगरपालिका ६ का ७ जना,वडा नं. ८ का १ जना र ढकारी ६ का ३ जना रहेका छन् । घाइते ८ जनालाई उद्धार गरी जिल्ला अस्पताल लगिएकोमा ५ जना उपचार पछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते ३ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी प्रादेशिक अस्पताल सुर्खेत लगिएको जनाइएको छ ।
कैलाली
प्रतिक्रिया