झापा । जिल्लाका दक्षिण क्षेत्रका सामुदायिक वनले व्यावसायिकरूपमा बेसार खेती सुरुआत गरेका छन् । कचनकवल र हल्दिबारी गाउँपालिकाभित्र रहेका १४ सामुदायिक वनमध्ये पाँच वटाले बेसार खेती गरेका हुन् । वनभित्र रहेको माइकेनियाँ झार फाँडेर बेसार खेती गरिएको सामुदायिक वन महासंघ कचनकवल गाउँपालिकाका अध्यक्ष भीम लुइँटेलले बताए । कचनकवलभित्र रहेका तीनवटा सामुदायिक वन उपभोक्ता समितिले छ हेक्टर जमिनमा बेसार खेती गरिरहेको उनले जानकारी दिए ।
गत वर्ष फरेस्ट एक्सन नेपालको सहयोग र सहकार्यमा उनले माइकेनियाँ झारको नियन्त्रण हुने र हात्तीले समेत नबिगार्ने हुँदा बेसार खेती थालिएको बताए । ‘आम्दानीको स्रोत पनि भयो,’ उनले भने, ‘बेसार आफैँ पनि मलिलो बिरुवा हुँदोरहेछ । यसको खेती सुरु भएपछि वर्षौँदेखि माइकेनियाँ झारले उम्रिन नदिएका नयाँ बिरुवासमेत आफैँ उम्रन थाले ।’
सामुदायिक वनकै अतिविपन्न परिवारका उपभोक्तालाई छानेर वनमा बेसार खेतीका लागि प्रोत्साहन गर्ने गरेको उनले बताए । हाल वनमा बेसार खेती राम्रोसँग फस्टाएको उनले सुनाए । उनका अनुसार कचनकवल गाउँपालिकाभित्र रहेका दुर्गाभिट्टा, अभिमुक्तेश्वर, त्रिवेणी सामुदायिक वन उपभोक्ता समितिले क्रमशः चार हेक्टर र एक–एक हेक्टर जमिनमा बेसारको व्यावसायिक खेती गर्दै आएका छन् ।
यसैगरी हल्दिबारी क्षेत्रका रातमाटे र पाथीभरा सामुदायिक वनले समेत बेसार खेती गर्दै आएको सामुदायिक वन उपभोक्ता महासंघ हल्दिबारीका अध्यक्ष हेमराज काफ्लेले बताए । उनका अनुसार वन क्षेत्रमा परीक्षणका लागि चार–चार कठ्ठामा बेसार खेती गरिएको छ । ‘थोरै लगानीमा धेरै आम्दानी हुने, मल र पानीसमेत चाहिने हुँदा बेसार खेती उपयुक्त भएको महसुस गरेका छौँ,’ उनले भने, ‘उपभोक्ताले उत्पादन गरेको बेसार उनीहरूलाई दिने र सो क्षेत्रमा उम्रिएका नयाँ बिरुवा भने खाली रहेको वन क्षेत्रमा सारिने गरिएको छ । वन क्षेत्रमा नयाँ बिरुवा उमार्ने उपयोगी खेती पो भयो बेसार ।’
बिरुवा लगाएको एक वर्षमै उत्पादन दिन थालेको उनले सुनाए । ‘अन्य वन क्षेत्रमा पनि लगाउने तयारी गरिरहेका छौँ ।’ हात्ती र माइकेनियाँ झारका कारण आजित भएका सामुदायिक वनहरू बेसार खेतीका लागि प्रेरणा दिने फरेस्ट एक्सनसँग यतिबेला खुसी छन् । आगामी दिनमा पालिकाभित्र रहेको सात वटै सामुदायिक वनमा व्यावसायिकरूपमा बेसार खेती गर्ने योजना रहेको उनले सुनाए ।
डिभिजन वन कार्यालय झापाले अन्य सामुदायिक वनहरूले पनि खाली रहेको अर्थात् साना बिरुवा भएको क्षेत्रमा बेसार खेती गर्दा उपयुक्त हुने जनाएको छ । कार्यालयका निमित्त प्रमुख जीवनकुमार पाठकले बेसार खेतीका लागि जमिन खनजोत गर्दा सो क्षेत्रमा वर्षौँदेखि उम्रिन नसकेका साल, हर्रो, बर्रो, कदमलगायतका बिरुवासमेत उम्रिएको बताए । जिल्लामा कृषि सहकारी, निजी क्षेत्रका संघसंस्थाले विगतदेखि नै व्यावसायिक बेसार खेती गर्दै आए पनि सामुदायिक वनहरूले भने पहिलोपटक खेतीको अभ्यास गरेको उनले जानकारी दिए ।
जिल्लामा बेसारको व्यावसायिक खेती गर्ने पहिलो दमक नगरपालिकास्थित मानसरोवर कृषि सहकारी संस्था रहेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । सो सहकारीले आर्थिक वर्ष ०७६÷७७ बाट बेसार खेतीको सुरुआत गरेको हो । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी गणेश शिवाकोटीले जिल्लामा गत आर्थिक वर्ष ०७८÷७९ मा २ सय २० हेक्टर क्षेत्रमा बेसारको व्यावसायिक खेती भएको बताए । केन्द्रले बेसार खेतीको प्रवद्र्धन गर्ने उद्देश्यले यस वर्षदेखि किसानलाई प्रोत्साहनस्वरुव अनुदान दिने उनले बताए ।
बलौटे दोमट, कालो, रातो र चिम्ट्याइलो माटोमा बेसारको खेती हुने गरेको उनले बताए । पानी नजम्ने जग्गामा चैत र वैशाख महिना बिरुवा लगाउन उपयुक्त हुने उनले सुनाए । बेसार हाम्रो दैनिक भान्सामा मसलाका रूपमा प्रयोग हुने एकप्रकारको धुलो हो । बेसारलाई चिकित्सा विज्ञानले भिटामिन तथा खनिज लवणको उत्तम स्रोतको रूपमा लिने गरेको छ ।
प्रतिक्रिया