पाथीभरा क्षेत्रमा सरसफाइ अभियान

फुङ्लिङ । ताप्लेजुङ जिल्लामा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा क्षेत्रमा सरसफाइ अभियान थालिएको छ । नेपाली सेनाको भीमकाली गुल्म ताप्लेजुङले पाथीभरा क्षेत्रमा सरसफाइ अभियान सुरु गरेको हो ।

पाथीभरा जाने बाटो दाँयाबाँया रहेको फोहोर सफा गरिएको गुल्मका गुल्मपति अदित श्रेष्ठले बताए । बुधबार ठूलो फेदीबाट मन्दिरसम्मको सफाइका क्रममा झण्डै चार सय बोरा फोहोर संकलन गरिएको नेपाली सेनाले जनाएको छ । संकलन भएको फोहोर फुङ्लिङ नगरपालिकाको फोहोर व्यवस्थापन केन्द्रसम्म पु¥याउने योजना रहेको गुल्मपति श्रेष्ठले बताए ।

सफाइ अभियान, फोहोर ढुवानी र वृक्षरोपणसहितका कार्यको स्थलगत समन्वयका लागि गुल्मले उपसेनानी निरञ्जन चौहानको नेतृत्वमा एउटा टोली पाथीभरा मन्दिर क्षेत्रमा खटाएको छ । टोलीले सफाइ अभियानसँगै तत्काल बोक्न मिल्ने संकलित फोहोर काफ्लेपाटीसम्म ल्याउने छ ।

उपसेनानी चौहानका अनुसार संकलित फोहोरमध्ये करिब एक सय ५० बोरा फोहोर तत्कालै काफ्लेपाटीसम्म झार्न सकिन्छ । यसपछि बाँकी रहेको फोहोर र काफ्लेपाटीसम्म आइपुगेको फोहोर व्यवस्थापनको कार्य सुरु हुने गुल्मले जनाएको छ ।

प्रतिक्रिया