तारकेश्वरद्वारा डेंगु नियन्त्रणमा चार अभियान सञ्चालन

काठमाडौं । तारकेश्वर नगरपालिकाले डेंगु नियन्त्रणको लागि एकै पटक चार अभियान सञ्चालन गरेको छ ।

नगरपालिकाभित्र दिनानुदिन डेंगु संक्रमितको संख्या बढेसँगै तारकेश्वरले वडास्तरमा विभिन्न कार्यक्रम बनाएर स्वास्थ्यकर्मीलाई परिचालन गरेको हो ।

नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले डेंगु नियन्त्रणका लागि नगरपालिकाले जनचेतना, लामखुट्टे नियन्त्रण, डेंगुको परीक्षण र उपचारलाई सँगसँगै अगाडि बढाएको जानकारी दिए । उनका अनुसार तारकेश्वरको फुटुङ, काभ्रेस्थली, नेपालटार, मनमैजुलगायतका क्षेत्रमा डेंगुका बिरामी बढी पाइएको छ ।

यस्तै, तारकेश्वरले डेंगु नियन्त्रणका लागि जनचेतनासहित माईकिङ गर्नुका साथै सार्वजनिकस्थल तथा विद्यालय क्षेत्रमा पर्चा पम्प्लेट र जनचेनतामूलक सामग्री टाँसेको छ ।

सो नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा डेंगु नियन्त्रणका लागि जनचेतनासहित सरसफाइ कार्यक्रम सञ्चालन, सार्वजनिक स्थानमा कीटनाशक औषधि छर्ने व्यवस्थासमेत गरेको छ ।

यसैगरी, उच्च ज्वरो भएका बिरामीको डेंगु परीक्षण गर्न सबै वडाका स्वास्थ्यचौकीमा परीक्षण कीटको व्यवस्था गरेको नगरप्रमुख महर्जनले बताए ।

डेंगुका बिरामीलाई सबै वडाका स्वास्थ्यचौकीमा प्यारासिटामोलको व्यवस्था गर्नुका साथै डेंगुका सिकिस्त बिरामीका लागि अस्पताल लैजान नगरपालिकामा एम्बुलेन्सको व्यवस्था गरिएको सो नगरपालिकाले जनाएको छ । सीमित स्रोत र साधनका बीच डेंगु नियन्त्रणका लागि नगरपालिकाले काम गरिरहेको नगरप्रमुख महर्जनको भनाइ छ ।

प्रतिक्रिया