काभ्रे । जिल्लाको खानीखोला ७ की शान्ती घिसिङको कुवेतमा निधन भएको छ । नेपालबाट वैदेशिक रोजगारीमा जाने भन्दै ०७९ साउन १७ गते नेपालबाट कुवेत गएकी काभ्रेली चेली शान्ति घिसिङको एक महिनामै मृत्यु भएको छ । उनको मृत्युपछि मात्रै परिवारले उनी श्रम स्वीकृत नै नगरी मानवीर राईले भिजिट भिषामा पठाएको बुझेपछि परिवारले दोषीमाथि कारबाही गर्नुपर्ने भन्दै जिल्ला प्रहरी कार्यालय काभ्रेमा छानविनसहित कारबाही गर्नुपर्ने भन्दै लिखित निवेदन दिएका छन् । घिसिङले भदौ १७ गते कुवेतस्थित १ घरबाट हाम फालेर आत्महत्या गरेको कुवेतको एक अस्पतालले रिपोर्टसमेत पठाएको छ ।
घिसिङको मृत्यु पश्चात तत्कालै सामाजिक अभियन्ता तथा उद्धारकर्ता एवं पत्रकार नगेन्द्र कटुवाल (रोहित)ले आफू घटनास्थलमा घटना भएको सुने लगत्तै घटनास्थल पुग्दा तत्कालै उनको मृत्यु भइसकेको बताए । अभियन्ता कटुवालले नै व्यक्तिगत रूपमा १ लाख २३ हजार नेपाली रुपियाँ सहयोग गरी २१ भदौमा मृतक घिसिङको शव नेपाल पाठाएका थिए । शव परिवार पक्षका श्रीमान हुत्तबहादुर मोक्तानसहित र माइती पक्षको उपस्थितिमा वडाअध्यक्ष राम मोक्तानको रोहबरमा भदौ २१ गते तामाङ धार्मिक रितिरिवाजअनुसार स्वयम्भुमा दाहासंस्कार गरिएको छ । दाहासंस्कारका लागि उपस्थित सयौँ जनाले आर्थिक सहयोगसमेत गरेका छन् । अभियन्ता कटुवाल भन्छन्, ‘नेपालबाट यसरी वैदेशिक रोजगारीमा भन्दै अनधिकृत रूपमा नेपालबाट कुवेतजस्ता अरू थुप्रै देशहरूमा नेपाली चेलीहरूलाई झुक्याएर पठाउने र फसाउने गिरोह नै सक्रिय छन् । यसमा सरकार पक्ष, व्यक्ति स्वंयम र मध्यस्त गर्ने पक्षहरू सबै उत्तिकै जिम्मेवार रहेको बताए ।’ घिसिङलाई भिजिट भिषामा पठाउने मानवीर राई हाल परिवारको सम्पर्कमा पनि नआएको मृतकको श्रीमान हुत्तबहादुर मोक्तानले बताए ।
यता कटुवालले हालसम्म धेरै नेपालीहरूको उद्धार गरिसकेका छन् । कटुवालले अर्काको देशमा आएर दुःख पाउनुभन्दा आफ्नै देशमा रोजगारी दिलाउनु र अनावश्यक अनधिकृत रूपमा प्रवेशमा कडाइ गर्नुपर्ने, वर्क परमिटमा नेपाल पक्षले पहल गर्नुपर्ने र दुईदेशीय सम्झौता गर्नुपर्ने भन्दै आफूहरूले नेपालमा हुँदा पनि क्याम्पियन गरेको बताए । कुवेतमा अझै पाँच दर्जनभन्दा बढी मृतकहरूको शव कुवेतमै छन् । सरकारको कोटा कुरिरहेका शवहरू वर्षमा एक दर्जनको पनि पालो आउँदैन, मैले मृतक घिसिङ परिवारको आर्थिक अवस्थालाई बुझेर यो उद्धार तत्कालै गर्न पहल र सहयोग गरेको हुँ । पत्रकार कटुवाल एक दशकदेखि कुवेतमै छन् । कटुवालको सामाजिक कामप्रति परिवार कृतज्ञ रहेको र उनको हृदयलाई हाल समाजिक सञ्जालमा उच्च प्रशंसासमेत गरिएको छ । मृतक ३४ वर्षीय घिसिङको दुई छोरीहरू सुजिता मोक्तान १० वर्षीय, कुन्ती मोक्तान आठ वर्षीय र एक छोरा ६ वर्षका मनोज मोक्तान छन् । उनीहरूका लागि श्रीमान्को पनि कुनै रोजगारी छैन र उनी न्यून आयस्तर भएका परिवारका व्यक्ति भएकोले तीन सन्तानको लालनपालन र शिक्षादीक्षामा थप समस्या हुने र विचल्ली अवस्थामा रहेको स्थानीयहरूले बताएका छन् । खुसी परिवार र सन्तानको भविष्य निर्माण गर्न गएकी मृतक आमा घिसिङ नहुँदा बालबालिकाको भविष्य जोखिममा रहेको स्थानीयको भनाइ छ ।
मृतक घिसिङका तीन सन्तानहरू छन् । उनीहरूका लागि सहयोग गर्न एउटा फ्रन्ट कोष स्थापना गरिएको छ । बालबालिकाको लागि सहयोग गर्न चाहनु हुनेले यो नेपाल बैंक लि. पनौती शाखाको ०९००१००७३४८७६१०००००१ (09001007348761000001) ब्लक अंग्रेजी लेटरमा सुजिता/सुजता/मनोज मोक्तान (SUJITA/SUJATA/MANOJ MOKTAN) खाता नं र खाता नाममा जम्मा गर्न अपिल गरिएको छ ।
प्रतिक्रिया