घरगोठ मासेर स्वास्थ्य चौकीलाई जग्गा

गलकोट । ‘घाउ चहराएर आएका नागरिकले मेरो जग्गामा आएर मलम लगाउन पाउन्, मलाइ यहाँभन्दा ठूलो सन्तुष्टि केही छैन, यो नै मेरा लागि ठूलो धर्म हो,’ बागलुङ नगरपालिका–७ स्थित मुलपानी स्वास्थ्यचौकीको भवन शिलान्यास समारोहमा मंगलबार जग्गादाता ८२ वर्षीय मेघराज पाण्डेले बोलेको मार्मिक शब्द हो यो । उनले स्वास्थ्य चौकीको जग्गा अभावकै कारण भवन बन्न नसकेपछि आफ्नै घरगोठ भएको जग्गा स्वास्थ्यचौकीका नाममा दिएका छन् । आफ्नो जीवन अध्यापनमै बिताएका पाण्डेयले ऊर्जाशील समय त्यही स्वास्थ्यचौकीको भवन शिलान्यास गरिएको जग्गामा रहेको आफ्नो मूल घरमा बिताए ।


सोही जग्गामा हुर्केर छोराछोरी लालनपालन गर्दै त्यहीँको विद्यालयमा अध्यापन गराएका पाण्डेले ०५४ सालमा अवकासपछि मात्रै बागलुङ बजारमा बसाइँसराइ गरेका थिए । ‘जुन जग्गामा आज स्वास्थ्यचौकीको भवन बन्नका लागि शिला राखियो त्यही जगमा मेरो जन्म घर थियो, घर अलि पहिल्यै भत्कियो तर गोठ स्वास्थ्यचौकीको भवन निर्माणका लागि जग्गा व्यवस्थापन गर्ने क्रममा भत्केछ, मलाई आफ्नो घर गोठभन्दा स्वास्थ्यचौकी ठूलो हो’, जग्गादाता पाण्डेले भने ।


पाण्डेले नौ रोपनी जग्गामा फैलिएको जग्गामध्ये स्वास्थ्यचौकीलाई आवश्यक चार रोपनी जग्गा दिएपछि भवन निर्माण थालिएको हो । उनले स्वास्थ्यचौकीलाई आवश्यक परे अन्य जग्गासमेत प्रयोग गर्न दिने आश्वासन दिए । मूलपानीको कालीमाटीबाट साँघुरो जीर्ण भवनबाट सेवा दिँदै आएको स्वास्थ्यचौकीको नयाँ भवन बनाउनका लागि बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले शिलान्यास गरेका हुन् । शिलान्यासपछि जग्गादाता मेघराज पाण्डेलाई उपप्रमुख खड्काले नगरपालिकाका तर्फबाट सम्मानसमेत गरेका थिए ।


१ करोड ७० लाख रुपैयाँमा जुम्ली निर्माण सेवाले मूलपानी स्वास्थ्यचौकी निर्माणका लागि २०७९ वैशाख २२ गते ठेक्का सम्झौता गरेको थियो । आगामी २०८० वैशाख १९ गतेभित्रै भवन निर्माण सक्ने गरी निर्माण कम्पनीले स्वास्थ्यचौकीको भवनका लागि पिल्लर राख्ने काम गरिरहेको छ । अहिले मूलपानी स्वास्थ्यचौकीले तीनकोठे जीर्ण भवनबाट सेवा दिँदा असहज भएकाले नयाँ भवनसँगै सेवामा वृद्धि गर्न सकिने मूलपानी स्वास्थ्यचौकीका इन्चार्ज महेन्द्र शर्माले जानकारी दिए । नागरिकको स्वास्थ्य सेवाका लागि साँघुरो र अपायक पर्ने जग्गाबाट स्वास्थ्य सेवा दिइरहे पनि हाल कालिमाटी गाउँको सडक छेउमै भवन बन्न थालेकाले नागरिकलाई सहज हुने वडाअध्यक्ष मेघराज शर्माले जानकारी दिए ।

प्रतिक्रिया