कर्णालीका बालबालिकाको प्रश्न : शिक्षामा किन विभेद सरकार ?

सुर्खेत । विकासको गतिमा निकै पछाडि परेको प्रदेश हो, कर्णाली । अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेश शिक्षा, स्वास्थ्य, यातायातजस्ता आधारभूत कुरामा पनि निकै पछाडि छ । भोक, रोग र अशिक्षासँग लड्न ठुलै संघर्ष गर्नुपर्ने बाध्यमा रहेको कर्णाली प्रदेशलाई विकासको गतिमा समाहित गराउने प्रयास भइरहेको सरकारी दाबी रहे पनि अवस्थामा भने खासै परिवर्तन आएको देखिँदैन ।

यसै परिप्रेक्षमा कर्णालीका बालबालीकाले प्रदेशका मुख्यमन्त्रीसँग गम्भीर र मर्मस्पर्शी प्रश्नहरू तेस्र्याएका छन् । प्रदेशको समाजिक विकास मन्त्रालयले राष्ट्रिय बालअधिकार दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको कार्यक्रममा बालबालिकाले मुख्यमन्त्रीसँग शिक्षा, स्वास्थ्य, बालअधिकार, गरिबी, प्रदेशमा ब्याप्त कुसंस्कारजस्ता विषयमा गम्भीर प्रश्न गरेका हुन् ।

राष्ट्रिय बालअधिकार दिवसकै अवसरमा बालबालिकाले मुख्यमन्त्रीसँग टेलिफोनमार्फत पनि प्रश्न गरेका थिए । यसरी प्रश्न गर्नेहरूमा राउटे समुदायका बालबालिका पनि थिए । लोपोन्मुख राउटे समुदायका बालबालीकाले पनि कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीसँग फोनमार्फत आफ्ना विभिन्न समस्याको विषयमा प्रश्न गरे ।


दैलेखको भगवतीमाइ गाउँपालिकाबाट फोनमार्फत राउटे बालक सुविन शाहीले प्रश्न गरे, ‘अन्य बालबालिकाजस्तै हामीले पढ्न किन पाउँदैनौँ ? सरकार हाम्रो पनि होइन र ? सरकारले हाम्रा लागि पनि योजना किन ल्याउँदैन ?’

शाहीको प्रश्नमा मुख्यमन्त्री शाहीले राउटे बालबालिकाले पढ्न चाहेको खण्डमा आफूहरू विद्यालय खोलिदिनसमेत तयार रहेको बताए । ‘राउटे समुदायका बालबालिका पढ्न नै चाहँदैनन्,’ मुख्यमन्त्री शाहीले भने, ‘तपाईंहरू पढ्न तयार भएको खण्डमा हामी विद्यालय र घर पनि बनाइदिन तयार छौँ तर, मान्नुहुन्न ।’

सुर्खेतकी कृति काफ्लेले कर्णालीमा बालविवाहको अवस्था गम्भीर रहेको भन्दै बालविवाहविरुद्ध बनेका कानुनहरू कार्यान्वयन हुन नसक्नुको कारणबारे जिज्ञासा राखिन् । मुख्यमन्त्रीलाई उनको प्रश्न थियो, ‘हाम्रो ठाउँमा धेरै बालविवाह भइरहेका छन् । त्यो मुख्यमन्त्रीलाई पनि थाहा छ, बालविवाहविरुद्ध कानुन पनि बनेका छन् । मुख्यमन्त्रीले ती कानुन सक्रियतापूर्वक किन कार्यान्वयन गर्न सक्नुभएको छैन ?’

त्यसको जवाफमा मुख्यमन्त्री शाहीले समाजमा जनचेतनाको अभावका कारण यस्तो समस्या देखिएको बताए । ‘बालविवाह मात्र होइन, समाजमा थुप्रै किसिमका कुरीतिहरू छन् । जनचेतनाको अभावले यस्तो भएको हो । हामी सबैको प्रयासबाट यस्ता समस्या विस्तारै समाधान हुँदै जानेमा म विश्वस्त छु,’ जवाफमा उनले भनेका थिए ।
यसैगरी मुख्यमन्त्री शाहीकै गृहजिल्ला हुम्लाका एक बालकले आफ्नो विद्यालयमा पुस्तक नपुग्दा पढ्न असहज भएको बताए । जवाफमा मुख्यमन्त्री शाहीले केही जिल्लामा पुस्तक उपलब्ध गराउन नसकेको स्वीकार गर्दै चाँडै नै पुस्तक उपलब्ध गराउने प्रतिबद्धता जनाए ।
कार्यक्रममा सुर्खेतका सारिका प्रधान र दर्पण शाहीले शिक्षामा भइरहेको विभेदको विषयमा प्रश्न गरेका थिए । उनीहरूले मुख्यमन्त्रीसँग निजी र सरकारी विद्यालयबीच सरकारले किन विभेद गरिरहेको भन्दै प्रश्न गरे । उनीहरूको प्रश्नमा मुख्यमन्त्री शाहीले निजी विद्यालयलहरू निजीस्तरबाट विभिन्न सुविधासहित नाफामूलक ढंगले खोलिएका कारण त्यहाँ सामुदायिक विद्यालयभन्दा बढी सुविधा भएको बताए ।

यसैगरी बालबालिकाले बालश्रम, बालविवाह, प्रदेशमा स्वास्थ्य सेवाको उपलब्धतालगायतका विषयमा पनि मुख्यमन्त्रीसँग प्रश्न गरेका थिए । उनीहरूले राखेको जिज्ञासाबारे जवाफ दिँदै मुख्यमन्त्री शाहीले जनचेतनाको अभावका कारण कर्णालीमा बालविवाह न्यूनीकरण हुन नसकेको स्वीकारे गरे ।

प्रतिक्रिया