काठमाडौं । बजारमा झोल दूधको अभाव हुँदा डेरी उद्योग नै बन्द गर्नु पर्ने स्थिति आएको ठूला डेरी उद्योगहरूको छाता संगठन डेरी उद्योग संघले जनाएको छ । एशोसिएसनले विज्ञप्ती जारी गर्दै मुख्य व्यापार हुने चाडपर्व दशै तिहारमा औधोगिक कच्चा पदार्थको अभावमा डेरी उद्योग नै बन्द गर्नुपर्ने स्थिति आइपुगेकाले केही समयको लागि तत्काल झोल दूध आयात अनुमति दिन आग्रह गरेको छ । ‘कच्चा दूधको अभाव अझ १–२ वर्षसम्म कायम रहने देखिएकाले दीर्घकालिन रुपमा दूधको उत्पादन बढाउने कार्यक्रम ल्याउन कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र पशु सेवा विभाग समक्ष आग्रह गर्दछौं,’ विज्ञप्तीमा उल्लेख छ ।
दूध उत्पादन बढी हुने समयमा केही वर्ष अघिसम्म मिल्क होली डेको अवस्था आउने गरेको भएपनि पछिल्ला वर्षहरूमा त्यो समस्या हटेको नेपाल डेरी एशोसिएसनका अध्यक्ष राजकुमार दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘यो वर्ष वैशाखबाटै दूधको अभाव सुरु भएको थियो, जेठसम्म स्टक रहेको धुलो दूधले धानेपनि तीन महिना बढी समय झोल दूधको चरम अभाव खेप्यौँ, उत्पादन कटौती गरेर कसरी उद्योग चलाउने ?’ दाहालले प्रश्न गरेका छन् ।
‘दुई वर्ष लामो कोभिड महामारीले दाना, चोकर र पशु आहार आदिको अभावका कारण दूधको उत्पादन आवश्यकताअनुसार बढ्न सकेको छैन् ।
लिन सिजनमा आन्तरिक वजार धान्न भारतबाट औधोगिक कच्चा पदार्थको रुपमा झोल दूध आयात गरी यहाँका डेरी उद्योग संचालन गर्न पाउँ भनी कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, पशु सेवा विभाग र राष्ट्रिय दुग्ध विकास बोर्डमा गत वर्षको कार्तिक देखि पटक पटक ध्यानाकर्षण गराएका थियौं,’ दाहालद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
मन्त्रालयबाट गठित समितिले पनि दैनिक एक लाख २० हजार लिटरसम्म दैनिक कच्चा दूध अभाव भएको बजारमा नियमित आपूर्ति गर्न भारतबाट केही समयका लागि झोल दूध ल्याउन उपयुक्त हुने सुझाव दिएको छ । मन्त्रालयबाट गठित समितीको सुझावमा केन्द्रीय दुग्ध सहकारी संघ लि., नेपाल डेरी एशोसिएसन, दुग्ध विकास संस्थान लगायतले ऐक्यवद्धता प्रकट गरेका थिए ।
लामो समय वितिसक्दा पनि यस विषयमा कुनै ठोस निर्णय हुन नसक्दा दुग्ध विकास संस्थान लगायतका कर भ्याट तिर्ने संगठित निजी डेरी उद्योगहररूले लगभग ४० प्रतिशत सम्म बिक्री वितरण कटौती गर्नु परेको र पनीर, घिउ, आइसक्रिम जस्ता बढी राजस्व संकलन हुने दुग्धजन्य पदार्थको उत्पादन नै ठप्प गर्नु पर्ने स्थिति सृजना भएको उद्योगीको गुनासो छ ।
प्रतिक्रिया