भूमिसम्बन्धी अभिमुखीकरण सम्पन्न

पर्सा । पर्साको जगरनाथपुर गाउँपालिकामा भूमिसम्बन्धी एक दिने अभिमुखीकरण सम्पन्न भएको छ । राष्ट्रिय भूमि आयोग पर्साका अध्यक्ष तबरेज अहमदको अध्यक्षतामा गाउँपालिकाका जनप्रतिनिधीहरुलाई अभिमुखीकरण दिइएको हो ।

‘हाम्रो अभियान भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान हाम्रै पालामा’ भन्ने नारालाई साकार पार्न राष्ट्रिय भूमि आयोग पर्साले अभिमुखीकरणको आयोजना गरेको आयोगका अध्यक्ष अहमदले बताए ।

भूमिहिन, सुकुम्बासी, दलित एवम् अव्यवस्थित बसोबासीहरुको पहिचान कसरी गर्ने, कसलाई भूमि उपलब्ध गराउने, सूचना कसरी संकलन गर्ने लगायतका बारेमा राष्ट्रिय भूमि आयोग पर्साका अध्यक्ष तबरेज अहमद र आयोगका सदस्य सुरेन्द्र सिंहले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।

सोही अवसरमा भूमिसम्बन्धी कामको सहजताका लागि पालिकास्तरीय र वडास्तरीय सहजीकरण समिति गठन गर्ने निर्णय पनि गरिएको छ । आयोगका अध्यक्ष अहमदका अनुसार पालिकामा राष्ट्रिय भूमिहिन सेवा केन्द्र सञ्चालन गर्ने निर्णय पनि भएको छ ।

वडामा सहजीकरण समिति र पालिकामा सेवा केन्द्र स्थापना गर्न गाउँपालिका अध्यक्ष श्रीकान्त यादव पनि सकरात्मक रहेको देखिन्छन् । भूमिहिन र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि पालिकाबाट सक्दो पहल गर्ने प्रतिबद्धता जनाउँदै अध्यक्षले भूमि आयोगका कामलाई सहयोग गर्ने बताए ।

अभिमुखीकरणमा गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादव, प्रमुख प्रशासकीय अधिकृत कृष्ण नन्दन राय, उपाध्यक्ष बबिता सिंह क्षेत्री, सम्पूर्ण वडाका वडाध्यक्षहरु र कार्यपालिका सदस्यहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया