दुर्घटनाको जोखिममा मेची राजमार्ग

फिक्कल । मेची राजमार्गको इलामभित्र पर्ने विभिन्न स्थानमा सवारी दुर्घटना बढ्दो छ । अव्यवस्थित सडक संरचनाले सवारी दुर्घटना बढेपछि यात्रु र चालकले कष्टप्रद यात्राको सामना गर्नुपरेको छ । पूर्व–पश्चिम राजमार्गको झापा चारआलीदेखि इलाम, पाँचथर हुँदै ताप्लेजुङ जोड्ने सो राजमार्गअन्तर्गत इलाम खण्डको करिब ९० किलोमिटर सडक ठाउँ–ठाउँमा जीर्ण बन्दा सवारीसाधन दुर्घटना बाक्लिएको हो ।

गत असार १७ मा इलाम नगरपालिका–१, मिलगोलाइमा सवारी दुर्घटना हुँदा १३ यात्रु घाइते भए । ताप्लेजुङको थुम्बेदिनबाट झापातर्फ गुडिरहेको को १ ज ३३२९ नं को जिप त्यहाँ दुर्घटना भयो । जिप अनियन्त्रित भई राजमार्गबाट अन्दाजी तीन सय मिटर तल पुवाखोला नजिकै झर्दा घाइते हुनेमध्ये फालेलुङ गाउँपालिका–१ कि ३२ वर्षीया अप्सरा कोइराला, याङ्बरक गाउँपालिका–५ का ५१ वर्षे प्रेम तामाङ र याङ्बरक गाउँपालिका–६ का २३ वर्षे दीपेन्द्र कोइराला गम्भीर घाइते भए ।

गत मंसिर २८ मा इलामकै हर्कटे–फिक्कल सडक खण्डको कन्याममा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भयो । नौ जना घाइते भए । हर्कटे बजारबाट फिक्कलतर्फ आउँदै गरेको मे १ ज ३३०७ नं को भ्यान अनियन्त्रित भएर सडकबाट करिब एक सय मिटर तल खस्यो । दुर्घटनामा माइजोगमाई गाउँपालिका–३ का भरत घिमिरे र सोही गाउँपालिका–४ का रामप्रसाद तिम्सिनाको मृत्यु भयो । गएको माघ १३ मा रोङ गाउँपालिका–४ पहिरोस्थित मेची राजमार्गमा पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भयो । एक जना गम्भीर घाइते भए । झापाबाट इलामतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ नं को खाली पिकअप सडकबाट करिब पाँच सय मिटर तल खस्दा त्यसमा सवार झापा मेचीनगर नगरपालिका– ४ का ५५ वर्षीय रमेश थापा र त्यहीँका ४० वर्षीय सूर्यबहादुर थापाको घटनास्थलमै मृत्यु भयो । सवारी चालक ३३ वर्षे अर्जुन कोइराला सख्त घाइते भए ।

यी त प्रतिनिधि घटना मात्रै हुन् । आर्थिक वर्ष ०७८÷७९ मा सो राजमार्गअन्तर्गत इलाम खण्डमा साना–ठूला गरी १८ सवारी साधन दुर्घटना भएको तथ्यांक जिल्ला ट्राफिक प्रहरी कार्यालयसँग छ । कार्यालय प्रमुख शैलेन्द्र गच्छदारले यो अवधिमा १० जनाले ज्यान गुमाएको र १८ जना घाइते भएको बताए ।

‘दुर्घटनाको मुख्य कारण भत्किएको कालोपत्र, साँघुरो सडक, प्रतिकूल मौसम, अव्यवस्थित पार्किङलगायत छन्’, उनले भने, ‘चालकको लापरबाही, मादकपदार्थ पिउनु, तीव्र गति र ब्रेक फेलजस्ता कारणले पनि दुर्घटना बढिरहेको छ ।’ झापाको चारआलीदेखि ताप्लेजुङसम्म २ सय ६८ किलोमिटरको मेची राजमार्ग सबैजसो कालोपत्र भएको छ । तर, कालोपत्र भत्किएर सडकका बीचबीचमा ठूूला खाडल पर्दा पनि मर्मतमा पर्याप्त चासो नभएको उपभोक्ताको गुनासो छ । प्रत्येक दिन हजारौँको संख्यामा साना र ठूला सवारीसाधन आउँ–जाउँ गर्ने मेची राजमार्ग जीर्ण बनिरहँदासमेत बेलैमा मर्मत गर्न आनाकानी भइरहेको सवारी चालकको गुनासो छ ।

इलाम–विर्तामोड सडकमा सवारी चलाउने चालक रमेश राई दिनहुँ सयौँ गाडी गुड्ने यो राजमार्गमा कतिबेला दुर्घटना हुन्छ भन्ने टुंगो नभएको उनी बताउँछन् । ‘यात्रुको ज्यान जोखिममा राखेर सरोकारवाला मूकदर्शक बन्नु दुःखद् हो’, उनले भने, ‘सडक अतिक्रमण गरी निर्माण गरिएका संरचनाले पनि सवारी गुडाउन असहज छ । कम्तीमा सम्बन्धित निकायले भएको सडकको क्षेत्राधिकार खाली गराउन र खाल्डाखुल्डी पुर्न त सक्नुपर्ने हो ।’

सदरमुकामस्थित डिभिजन सडक कार्यालयले सूर्योदय नगरपालिकाको समन्वयमा सडकको दायाँ–बायाँ क्षेत्राधिकार रहेको १५ मिटरमा निर्माण भएका संरचना हटाउने प्रयास यसअघि नगरेको होइन । सडक डिभिजन र नापी कार्यालयको सहयोगमा मेची राजमार्गको हर्कटेबाट पाल्टाँगेसम्म चार किलोमिटरमा सडकको दायाँ–बायाँ १ हजार ५ सय मिटर क्षेत्रको नक्सांकन गर्ने काम पनि भयो ।

प्रतिक्रिया