अवैध संरचना हटाउने तयारी गर्दै हेटौँडा उपमहानगर

मकवानपुर । अवैधानिक रुपमा निर्माण भएका भवनहरुलाई हेटौँडा उपमहानगर पालिकाले हटाउने तयारी थालेको छ । सडक मिचेर बिना नक्सा बनाइएका संरचनालाई नगरपालिकाले भत्काउने तयारी थालेको हो ।

सडक पेटी मिचेर निर्माण गरिएको संरचनाको कारण हेटौँडा बजार क्षेत्रमा पार्किङ समस्या बढेको, बाटो हिँड्ने पैदलयात्रुहरुलाई समस्या परेको गुनासो आएपछि नगरपालिकाले हटाउने तयारी थालेको हेटौँडा उपमहानगरपालिकाकी मेयर मिना लामाले बताइन् ।

नगरपालिकाले केही दिनमा नै ३५ दिनको सूचना प्रकाशन गरेर त्यस्ता संरचनालाई आफै हटाउन निर्देशन दिने तयारी थालेको मेयर लामाले बताइन् ।

उता काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)ले नक्सा पास नगरि निर्माण गरिएका र पार्किङका लागि पास भएका स्थानमा पसल व्यवसायलाई भत्काउने कार्यलाई तिव्रता दिएसँगै हेटौँडाकी मेयर लामाले पनि यस कार्यलाई निरन्तरता दिन लागेकी हुन् ।

बागमती प्रदेशको राजधानी समेत रहेको हेटौँडामा लामो समयदेखि सडक विस्तारको विवाद रहँदै आएको भएता पनि अब छिटै नै सडक विस्तारले गति लिने बुझिएको छ । मेयर लामाले भनिन्, ‘अब छिटै नै ३५ दिने सूचना प्रकाशन गर्छौँ, नहटाइएको पाइएमा नगरले मेसिन प्रयोग गरि हटाउँछौँ ।’

पार्किङको लागि पास गरि घर बनाएका घरधनीले पसल व्यवसाय सञ्चालन गरेको पाइएमा कानूनी कारवाही गरिनुका साथै पसललाई हटाउने समेत उनले बताइन् । यस्तै अब २५ मिटर सडक चौडा बनाउन अदालतसँग पनि समन्वय गरिसकेको मेयर लामाले बताइन् ।

हेटौँडामा २०२१ सालमा नै सडकको दायाँ–बायाँ गरी २५ मिटर सडक खाली गर्ने व्यवस्था गरिएको थियो । तर, कार्यान्वयन ५८ वर्ष हुँदा समेत भएको छैन् ।

पटक—पटक प्रयास गर्दा पनि स्थानीयले मुआब्जा नपाएसम्म घर तथा संरचना भत्काउन नदिने बताइरहेका छन् । स्थानीय नेतादेखि ब्यापारी अजय सुमार्गीसम्मका घरहरु सडक क्षेत्र मिचेर बनाइएको छ ।

रूपक कालिराज

मकवानपुर

प्रतिक्रिया