चियापसलदेखि पाटीपौवासम्म निर्वाचनकै कुरा

दाङका जनताको निर्वाचनप्रति आकर्षण

तुलसीपुर । तीन निर्वाचन क्षेत्र रहेको दाङमा आगामी संघ र प्रदेशको निर्वाचनको चर्चा हुन थालेको छ । चिया पसल होस् वा पाटीपौवामा हरेक ठाउँमा अहिले निर्वाचनकै चर्चा छ । त्यसमा पनि नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरा र नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एउटै क्षेत्रबाट निर्वाचन लड्ने तयारी गरेकाले पनि थप चर्चा चुलिएको छ । महरा र पोखरेलले दाङ क्षेत्र नं २ बाट निर्वाचन लड्ने तयारी गरेका छन् । यसअघि एमाले र माओवादी केन्द्रबीचको गठबन्धनबाट महराले सोही क्षेत्रबाट विजयी हासिल गरेका थिए ।

पोखरेल क्षेत्र नं २ को प्रदेशसभा (क)बाट निर्वाचित भएका थिए । एउटै मोर्चाबाट चुनावी मैदानमा होमिएका उनीहरूबीच अहिले भने कडा टक्कर हुने देखिएको छ । अहिलेको सत्तापक्ष गठबन्धनले पनि महराका लागि दाङ क्षेत्र नं २ माओवादी केन्द्रलाई दिने आँकलन गरिएको छ । त्यस्तै शंकर पोखरेलले पनि दाङ क्षेत्र नं २ लाई रोजेका छन् । कांग्रेसबाट पार्टीका लुम्बिनी प्रदेश समितिका उपसभापति राजु खनाल, कमलकिशोर घिमिरे, खगराज पाण्डे, गोपालराज शर्मा, कमानसिंह भारती, भरत न्यौपानेलगायतले आकांक्षा व्यक्त गरेका छन् । एमालेबाट पनि लक्ष्मण आचार्य, बलिभद्र राणा, टोपेन्द्र केसी, गिरिराज केसीले पनि आकांक्षा देखाएका छन् ।

गठबन्धनबाट दाङ क्षेत्र नं २ मा माओवादीले पाएमा दाङ क्षेत्र नं १ मा नेकपा (एकीकृत समाजवादी) र दाङ क्षेत्र नं ३ मा कांग्रेसले दाबी गरेका छन् । क्षेत्र नं १ र ३ दुवैमा एकीकृत समाजवादीका सांसद छन् । तीमध्ये क्षेत्र नं १ बाट निर्वाचित एकीकृत समाजवादीका केन्द्रीय सदस्य मेटमणी चौधरी सहरी विकासमन्त्री हुनुहुन्छ भने क्षेत्र नं ३ बाट निर्वाचिन एकीकृत समाजवादीकै केन्द्रीय सदस्य हिराचन्द्र केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री छन् । यी दुई क्षेत्रमध्ये चौधरीका लागि क्षेत्र नंं १ दिने गरी सहमति हुने र क्षेत्र नं ३ कांग्रेसलाई दिने गरी सहमति हुनसक्ने छलफल अघि बढेको छ ।

यदि क्षेत्र नं १ एकीकृत समाजवादीले पाएमा चौधरी मात्रै दाबेदार रहेका छन् । त्यहाँ एकीकृत समाजवादीले पाएमा चौधरी पुनः सांसदको उम्मेवार बन्न सक्ने अवस्था रहेको छ । सोही क्षेत्रमा एमालेबाट केन्द्रीय सदस्य तथा सांसद शान्ता चौधरी, गंगा चौधरी र रेवतीरमण शर्माको दाबी रहेको छ ।
त्यो क्षेत्रबाट माओवादी केन्द्रबाट हालका लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याणमन्त्री एवं पार्टीका केन्द्रीय सदस्य इन्द्रजित चौधरीको पनि दाबी छ भने कांग्रेसबाट पूर्वसांसद योगेन्द्र चौधरी, सुशीला चौधरी, दिवंगत नेता खुमबहादुर खड्काका छोरा अनुरागले पनि दाबी गरेका छन् ।

त्यस्तै दाङ क्षेत्र नं ३ कांग्रेसले पाएको सन्दर्भमा दीपक गिरी बलियो दावेदार देखिन्छन् । पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्रीसमेत रहेका गिरी यसअघिको निर्वाचनमा तत्कालीन एमालेका हिराचन्द्र केसीसँग पराजित भएका थिए । एमाले फुटेर एकीकृत समाजवादी भएपछि केसी सोही पार्टीबाट अहिले मन्त्रीसमेत बनिसकेका छन् । यदि पाँचदलीय गठबन्धनबाट कांग्रेसले यो क्षेत्रमा टिकट पाए गिरीले पाउने सम्भावना देखिएको कांग्रेसका महाधिवेशन प्रतिनिधि अरुण लहरेले बताए । हालका लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी विकासमन्त्री डिल्ली चौधरी र पार्टीका केन्द्रीय सदस्य गेहेन्द्र गिरीले पनि आकांक्षा देखाएका छन् ।

एकीकृत समाजवादीले पहिले आफूले जितेको क्षेत्र भएकाले पनि दाबी गरेको छ । पार्टीका केन्द्रीय सदस्यसमेत रहेका सांसद केसीले पार्टीले जहाँ भन्यो, त्यही गर्न तयार रहेपछि आफ्नो क्षेत्रमा दाबी रहने बताए । ‘मेरो दाबी रहन्छ, किनकि यो क्षेत्र यसअघि पनि म निर्वाचित क्षेत्र हो’, उनले भने, ‘तर पार्टीले के भन्छ, त्यसमा म तयार छु ।’

एमालेबाट तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान नगरप्रमुख घनश्याम पाण्डे र निवर्तमान राष्ट्रिय सभा सदस्य कोमल वलीले दाबी गरेका छन् । एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काका अनुसार उनीहरू दुवै जनाको आकांक्षा रहेको छ ।

प्रतिक्रिया