नेपाली नारीहरूको महान चाड हरितालिका तिज नजिकिँदै छ । आधिकारिक तिथिमितिको दिन आउनु अगावैदेखि तिजको रौनक सुरु भइसकेको छ । तिजका गीत बनाउँदै रमाइलो चलिरहेको छ । हुन त अहिले मात्र होइन पहिले पनि तिज आउनुभन्दा महिना दिन अगाडिदेखि तिजका कार्यक्रम हुने गरेका थिए त्यो क्रम यो वर्ष पनि जारी नै छ । तिज सकिएको अर्को एक महिनासम्म तिजका कार्यक्रम चले भने सायद नौलो मान्नुपर्ने अवस्था छैन हामीले परम्परालाई विनासतर्फ लाँदैछौँ ।
कोरोना भाइरस कोभिड–१९ को संक्रमण नेपालमा पनि फैलिएपछि पछिल्ला वर्षहरूमा भने त्यति खुलेर नमनाएको तिज यो वर्ष भने चहलपहल बढेको छ । महिलाहरूको जमघट बढ्दै गइरहेको छ । विगतका वर्षमा तिजका गीतसँगै सहरका हरेक पार्टी प्यालेस तिज कार्यक्रमले भरिभराउ हुने गर्थे । दर खाने र व्रत बसी मनोकामना पूरा गर्ने धार्मिक विश्वासका साथ सामान्य रूपमा मनाउने यो पर्व अहिले त पर्वको बहाना गर्दै भड्किलो र खर्चिलो बन्दै गइरहेको छ । यसबाट हाम्रो संस्कृति मासिँदै जाने बाटोतर्फ हामी आफैँ लागिरहेका छौँ भन्न गाह्रो पर्दैन । हामी त्यो तर्फको बाटो बनाउँदै जाँदा भावी पुस्ताले हामीबाट के सिक्छन् यतातर्फ पनि ध्यान दिन जरुरी छ । हामीले आउने भावी सन्ततीलाई कतै गलत शिक्षा दिइरहेका त छैनौँ भन्ने विषयमा आज आमनेपालीले सोच्नपर्ने भएको छ ।
सामान्यतया दुई या तीन दिनसम्म मनाइने हरितालिका तिज आजभोलि संगीले पार्टी गर्ने पालो नआएसम्म मनाइन्छ । दर खाने, व्रत बस्ने र ऋषि पूजा गर्ने प्रचलन मासिँदै छ तर त्यसको सट्टामा तिजका दिन लम्बिँदै गएको छ र संस्कृति विपरीत हँुदै गएको मानिन्छ । नेपाली नारीको मौलिक पर्वका रूपमा पर्ने यो पर्व वर्षौंदेखि मनाइने गरिएको छ । यो पर्वमा दर खाने, गीत गाई रमाइलो गर्ने, निराहार व्रत बस्ने र पूजा लगाउने प्रचलन भएता पनि मुख्य कुरा लोप हुँदै जान सक्ने परिवेशले देखिन्छ । पहिलेपहिले विवाहित महिलाले एउटा दुःख बिसाउने माध्यमका रूपमा मनाउने यस पर्व अहिले रुपरंग नै फेरिएको छ । पहिले गाउँमा विवाह गरेर टाढाटाढा दिने प्रचलन थियो, आफ्ना पारिवारिक सदस्यसँग पनि भेटघाट गर्न पनि कठिन हुने गर्दथ्यो, सँगै हुर्केबढेका साथीसंगीहरूलाई भेट्न मुस्किल थियो । एकआपसमा नजिकिन संचारका साधन थिएन । घरधन्दा चुल्लोचम्कोमै समय बिताउनु पर्दथ्यो । माइती पक्षले छोरीचेलीलाई तिजको निम्तो गरेपछि टाढाका आफन्तसँग भेटिने माध्यम बनेको थियो । वर्षौंपछि तिजमा छोरीचेली माइत आउने घरका सारा काम छोडी माइतमा रमाउने आमा दिदीसँग भेटघाट गर्ने साथीसँगीसँग धुलमिल गर्ने आफ्ना दुःख पीडालाई बिर्सेर गीतको माध्यमबाट पोखी रमाउने, आफ्ना भावना गीतकै माध्यमबाट पोख्ने÷व्यक्त गर्ने परिवारसँग बसेर दर खाने, पतिको दीर्घायुको कामना गर्दै निराहार महादेवको आराधना गर्ने प्रचलन अहिले ठ्याक्कै उल्टो बनेको छ । तिज आउनु महिना दिन अगाडीदेखि के गर्ने, कस्कोमा बस्ने, के खाने, कुन गीत बजाउने भन्दै झुम्ने प्रवृत्तिको विकास हुँदै गइरहेको छ ।
महिला महिला जम्मा हुँदै दरका नाममा माछामासुको स्वादमा, मदिराले लठ्ठिँदै गर्दा तिजको मौलिकता मासिँदै गइरहेको आभास हुन्छ । यतिबेला महिलाको झुण्ड नै बनेको छ पार्टी प्यालेसमा रमाउने घरघरैमै जम्मा हुने चर्को स्वरको स्पिकरमा पश्चिमा गीतमा झुम्ने प्रचलन् हावी हुँदै गइरहेको छ । यसले सिंगो नेपालीलाई गिज्याइरहेको छ । विकृतिको बाटो निर्माण गरिरहेको छ यसलाई नियन्त्रण गर्नुपर्नेे जरुरी छ ।
कुनै समय थियो नेपाली चलचित्र कन्यादानको ‘तिजको रहर आयो बरि लै’ तिज गीत बज्दैमा सिंगो नेपाली हिन्दू नारीलाई तिज आएको आभास हुन्थ्यो । जति नै आधुनिक प्रविधिका नयाँ नयाँ गीतसंगीत आए पनि हरेक वर्षको तिजमा यो गीत न घन्किएसम्म तिज आए झैँ लाग्दैन थियो । त्यसपछि कति गीत बने कति चले कति चलेनन् त्यो तिनकै ठाउँमा छ तर आजका दिनसम्म आइपुग्दा पनि तिजमा सायदै यो गीत नबझी तिज नै जाँदैन । निकै पुरानो गीत भए पनि आजसम्म पनि उत्तिकै चर्चित बनेको छ कालझैँ बनेको छ । बर्सेनि स्रष्ट्राले तिजको अवसरमा निकै गीत बजारमा ल्याउने गर्दछन् । आजभोलि बन्ने तिज गीतमा निकै अश्लील शब्द र उत्ताउलो भिडियोले गर्दा एउटा विशेष चाड फरकशैलीमा मनाउँदै गर्दा संस्कृति नै मासिँदै गइरहेको छ । यस वर्ष सार्वजनिक भएको एक तिज गीतले पनि विवाद सिर्जना गरेको थियो । ‘पापाकी परी’ नामक एल्बमको गीतमा समाजलाई भड्काउने र अपाच्य शब्दको प्रयोग भएको भन्दै श्रोताले आपत्ति जनाएका थिए । श्रोतालाई अपाच्य लाग्दा सर्जकले ती तुरुतै क्षमा माग्दै दृश्य र शब्द हटाएका थिए ।
तिजका नाममा अर्को खराब पक्ष भनेको एक अर्काको देखावटी र देखासेखीको प्रयोग आजभोलि उच्चतम हुने गरेको छ । यस्तै देखावटी गर्दै जाँदा समाजमा अराजकता फैलिन स्पष्ट छ । पल्लाघरे साइलीले हिजो बोलाकी थिई, आज माख्लो घरको काइँलीकोमा जानु छ अनि भोलि त मेरोमा पालो भन्दै दरका नाममा भोजमै विकृति मौलाउँदै गएको छ । यसले एउटा मौलिक तिजलाई भट्किलो त बनाएको छ अर्कोतर्फ खर्चिलो पनि बनाउँदै गइरहेको छ । झन् अर्को प्रमुख देखावटी भने गरगहना र लत्ताकपडा नै हो फलानो र तिलानो त त्यस्तो छ भन्दै आफूलाई पनि त्यस्तै बनाउन खोज्दा देखासेकीले पर्वलाई भड्किलो बनाउँदै गइरहेको छ । यो समाजका लागि नकरात्मक पक्ष हो यसले उन्नति गर्दै उल्टै संस्कृति नासतर्फ जाने निश्चितता छ । ‘घाँटी हेरी हाड निल्नुपर्छ’ भने झैँ यो पर्वलाई पनि यसको मौलिकता के हो कतिमा सीमितता राख्नुपर्छ भन्ने विषयमा ख्याल राख्न जरुरी छ । तथापि त्यस्तो हुन सकेन भने हाम्रो मौलिकतालाई बिर्सिंदै भड्किलो संस्कृतितर्फ लाग्ने निश्चित छ ।
प्रतिक्रिया